coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुख तटस्थ र सरकार जिम्मेवार भएन भने भोलि संसदमा मुठभेड हुनसक्छ : गगन थापा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिएका छन्। 

बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको गुनासो पोखे। उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे। 

थापाले भने, ‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछि मात्रै त्यो अगाडि बढेको छ। त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो।’ सभामुख महराको भूमिका अस्वीकार्य रहेको थापाको भनाई छ। 

नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिरबाट घोषणा गरिरहेको भन्दै उनले भने, ‘यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरी बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ। त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सभामुखले भोलि यसो यसो गर्नुहुन्छ? मैले आदेश दिइसकें। सभामुखले पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त? भन्ने प्रश्न उठ्छ।’

भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको रहेको पनि थापाले सुनाए। उनले थपे, ‘अस्तिको घट्ना जुन संसदभित्र भएको छ, त्यो भएको घट्नाप्रति उहाँले सदनभित्रका अमर्यादित घट्नालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ। सरकारले पनि हामीसँग छलफल गर्छ। एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझै पनि अपेक्षा छ।’ 

यद्यपी थापाले यी केही पनि कुराहरु नगर्ने अनि म पेलेर देखाइदिन्छु र मुठभेड गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने स्पष्ट पारे। ‘त्यो दुर्भाग्यपूर्ण स्थिति नआओस भन्ने हामी अहिलेपनि चाहन्छौं’, उनले थपे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले डाभोसको मञ्चमा म जनताको नोकर भएर बस्ने हो भनेर भनेको कुरा सकारात्मक भएको उल्लेख गर्दै थापाले भने, ‘फर्केर आइसकेपछि हामी प्रधानमन्त्रीको त्यो बोलि व्यवहारमा अनुवाद भएको हेर्न चाहन्छौं। किनकी प्रधानमन्त्री गैसकेपछि देशभित्र सदनमा मुठभेड छ, गोविन्द केसीको अनशन जारी छ। यी सबैका बीचमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा यत्रो धेरै संघर्षको स्थिति बनेको बेलामा यसलाई मिलाउने काम प्रधानमन्त्रीको हो।’ प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता लागु गर्नुपर्ने थापाको भनाई छ। 

उनले प्रधानमन्त्री ओलीलाई विदेशबाट स्वदेश फर्केर आईसकेपछि संसदमा मुठभेड नमित्याउन पनि आग्रह गरे। अस्पतालको कुरा, चिकित्सा शिक्षा विधेयकको सन्दर्भमा सम्झौता भएअनुसारको सदनबाट पारित गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे। 

विधेयक बनिसकेपछि यसले बनाएको आयोगको आधारमा नेपालको चिकित्सा शिक्षालाई थितिमा लैजाउ भनेर आफूहरुले भन्ने पनि उनले सुनाए। 

भोलि विद्येयक अघि बढाइयो भने तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको एक प्रश्नमा उनले भने, ‘भोलि हाम्रो भूमिका के हुन्छ भन्ने कुरामा सरकारको भूमिकामा निर्भर हुन्छ। सरकारले हामीलाई छलफल गर्छ। हामीलाई बोलाउँछ भनेर हामी अझैपनि अपेक्षा गर्छौं। सभामुखले छलफलको लागि बोलाउनुहुन्छ भन्ने अपेक्षा छ। हामी मुठभेड गर्न चाहँदैनौं। यत्रो धेरै कानुन सरकारलाई बनाउनु छ। सरकारलाई कानुन चाहिएको छ।’

संसदको नियम ११ ले भोलि शुक्रबारको बैठकमा प्रश्नोत्तर गर्नुपर्छ र प्रश्नोत्तर गरिसकेपछि गैरसरकारी विषयमा छलफल गर्नुपर्छ भनेर स्पष्ट रुपमा भनेको कुरा पनि उनले सुनाए। थापाले भने, ‘त्यसपछि मात्रै सदनमा सरकारी विषयमा छलफल हुन्छ भनेर नियमले भन्छ। भोलि सभामुखको सबैसँग बराबरी व्यवहार छ भन्ने कुरा, यस्तो नियमहरुलाई उहाँले पालना गर्नुहुन्छ कि हुन्न भन्ने कुराले पनि देखाउँछ। त्यसैले यो सभामुखको भूमिका र सरकारको भूमिकामा भर पर्छ।’

प्रकाशित: १० माघ २०७५ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App