८ वैशाख २०८१ शनिबार
अर्थ

‘वैध व्यापारलाई सहजीकरण गर्न तयार छौं’

काठमाडौं - भन्सार विभागका महानिर्देशक तोयम रायाले भन्सारलाई राम्रो बनाउन सरकार र व्यवसायी दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। दुई पक्षबीचको अविश्वासका कारण भन्सारमा समस्या आउने गरेको उनले बताए।

‘भन्सार हाम्रो होइन, तपाइँहरुकै हो,’ ६७औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रियामा महानिर्देशक तोयम रायाले भने, ‘त्यसैले कसरी राम्रो बनाउने तपाईंहरुमा नै भर पर्छ।’ उनले अवैध व्यापारलाई निरन्तरता दिदाँसम्म व्यवसायीमाथि पूर्ण विश्वास गर्न नसकिएको बताए। वैध व्यापारलाई सहजीकरण गर्न विभाग तयार रहेको उनले प्रस्ट पारे। ‘भन्सार यहाँहरुले नै तिर्ने हो, हामीले वैध व्यापारलाई सहजीकरण गर्ने मात्र हो,’ उनले भने, ‘व्यवसायीले इमान्दार भएर कानुनसम्मत गर्ने व्यापारलाई सहजीकरण गर्न हामी तयार छौं।’

भन्सारबाट न्यून विजकीकरण गरेर सामान ल्याउने कार्यमा व्यवसायीकै हात हुने रायाले बताए। ‘खुद्रा व्यापारीलाई बिल माग्दा आयातकर्ताले बिल दिएको छैन भन्छन्,’ उनले भने, ‘आयातकर्ता र खुद्रा व्यापारीको तर्क नै फरक हुन्छ, कसको कुरा मान्ने ?’ न्यून विजकीकरण गरेर ल्याउने सामान व्यवसायीले बजारमा कति मूल्यमा बिक्री गर्छ भन्ने अनुगमन गर्ने संयन्त्र नहुँदा समस्या भइरहेको उनले बताए।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले भन्सारले कारोबार मूल्यलाई मान्यता दिने सहमति गरे पनि पछि सन्दर्भ पुस्तिका लागू गरी व्यवसायीलाई अप्ठ्यारोमा पारेको बताए। जवाफमा महानिर्देशक रायाले अहिले सन्दर्भ मूल्य भन्ने शब्द नै नरहेको बताए। उनले भन्सारमा व्यवसायीले घोषणा गर्ने कारोबार मूल्यलाई मान्यता दिइँदै आएको प्रस्ट पारे। तर, व्यवसायीबाट यथार्थ मूल्य घोषणा नगर्ने समस्या रहेको उनको भनाइ थियो। ‘हामीले मान्ने कारोबार मूल्य नै हो। व्यवसायीले जुन मूल्य तिरेको हो, तिर्नुपर्ने हो त्यसलाई नै मान्ने हो,’ उनले भने।

महानिर्देशक रायाले आगामी आर्थिक वर्षबाट लागू हुने नयाँ भन्सार ऐनको मस्यौदा तयार पारिएको बताए। उक्त ऐन कार्यान्वयनमा आएपछि भन्सारका धेरै समस्या समाधान हुने उनले बताए। काठमाडौंको चोभारमा हालै प्रधानमन्त्रीबाट उद्घाटन भएको सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएपछि काठमाडौं आउने सामानको जाँचपास यहीँबाट हुने महानिर्देशक रायाले जानकारी दिए। उनले दक्ष जनशक्ति र प्रविधिको व्यवस्थापन गरी भन्सार व्यवस्थापनमा देखिएका चुनौती समाधान र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभागका निर्देशक मुक्तराम आचार्यले भन्सार जाँचपासमा जोखिम व्यवस्थापन गर्नका लागि भइरहेका प्रयासबारे प्रस्तुति राखेका थिए।

महासंघका उपाध्यक्ष प्रधानले मुलुकभित्र व्यापार सहजीकरण र लगानीमैत्री वातावरण बन्नुपर्नेमा जोड दिए। सरकार र व्यवसायीबीच वास्तविक सहकार्य नभएसम्म दुवैलाई काम गर्न गाह्रो हुने उनको भनाइ थियो। अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको अन्तर्राष्ट्रिय लगानी आकर्षण गर्ने प्रयासको सराहना गर्दै आन्तरिक लगानी परिचालन हुने वातावरण बनाउनेतर्फ चनाखो हुनुपर्ने सुझाव दिए। भन्सार परिसरमै प्रयोगशाला, क्वारेन्टाइन, बैंक लगायतका अन्य पूर्वाधारको विकास गर्दै लैजानुपर्ने सुझाव व्यवसायीले दिए।

प्रकाशित: १० माघ २०७५ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App