coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रहरीद्वारा खाली गर्न अटेर

काठमाडौं - नेपाल आयल निगमको टेकुमा रहेको भवन तथा जमिन खाली गर्न नेपाल प्रहरीले अटेर गर्दै आएको छ। आफ्नो व्यावसायिक प्रयोजनका लागि सवा तीन अर्ब रुपैयाँको लागतमा गत वर्ष नेसनल ट्रेडिङबाट खरिद गरेको जमिन छाड्न अटेर गरेपछि समस्या परेको निगमले जनाएको छ।

जग्गा खाली गर्न यसअघि गरेको आग्रहलाई अटेर गरेपछि निगमले दोस्रो पटक पत्राचार गरेको छ। टेकुमा रहेका भवन तथा जमिन खाली गर्न प्रहरीलाई दोस्रो पटक पत्राचार गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘निगमले आफ्नो कार्यालय प्रयोजनका लागि भवन र जग्गा खरिद गरेको हो,’ प्रवक्ता गोइतले भने। प्रहरीले टेकुमा रहेका भवन तथा जग्गा खाली नगर्दा कर्पोरेट टावर निर्माण गर्ने योजना कार्यान्वनयमा ढिलाइ भएको निगमले जनाएको छ। निगमको केन्द्रीय कार्यालय रहेको सिंहदरबार अगाडिको भवन भत्काएर करिब दुई अर्ब रुपैयाँ लागतमा साततले अत्याधुनिक टावर निर्माण गर्ने निगमको योजना छ।

प्रहरीले भवन तथा जमिन खाली गरेपछि निगमको केन्द्रीय कार्यालयलाई टेकु स्थानान्तरण गरेर अहिलेको केन्द्रीय कार्यालयका संरचना भत्काएर नयाँ बनाउने निगमको तयारी छ। प्रहरीले टेकुको भवन नछाड्दा नयाँ भवनको टेन्डर गर्न ढिलाइ भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए। ‘प्रहरीले भवन खाली नगर्दा हामी टेकु सर्न पाएका छैनौं,’ पौडेलले भने, ‘टेकु सर्न नपाएपछि कर्पोरेट टावरको टेन्डर रोकिएको छ।’ भूकम्प गएपछि तत्कालीन नेसनल ट्रेडिङको जग्गा तथा भवनमा महानगरीय प्रहरी परिसरको कार्यालय त्यहाँ सरेको थियो। सरकारले प्रहरीलाई भवनको व्यवस्था गरेमात्र स्थानान्तरण हुने प्रहरीले जनाएको छ। सुरक्षा निकाय पनि सरकारकै निकाय भएकाले अन्य स्थानमा व्यवस्था नहुँदासम्म भवन र जमिन खाली गर्न नसक्ने महानगरीय प्रहरी परिसरका एसएसपी बसन्त लामाले बताए। ‘निगम जस्तै हामी पनि सरकार कै अंग हो,’ लामाले भने ,‘सरकारले अन्यत्र भवनको व्यवस्था गरे सर्न तयार छौं।’ निगमले पठाएको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको लामाले बताए।  प्रहरीले विकल्प खोजे पनि सर्ने ठाउँ नपाएको जनाएको छ। ‘भवन छाडेर जनतालाई कहाँबाट सेवा दिने,’ लामाले भने।

उक्त जमिनमा नेसनल ट्रेडिङ लिमिटेडले पेट्रोल पम्प पनि सञ्चालन गर्दै आएको थियो। निगमले जग्गा खरिद गरेपनि उक्त पम्प अहिले बन्द रहेको छ। लिमिटेड निरन्तर घाटामा गएपछि कर्मचारीलाई स्वेच्छिक अवकास दिन भवन र जमिन बिक्री गरेको थियो। ४९ रोपनी १० आना जग्गा प्रतिआना ४२ लाख रुपैयाँका दरले तीन अर्ब २५ करोड रुपैयाँमा निगमलाई बिक्री गरेको थियो। जग्गा बेचेर लिमिटेडले दुई सय ६४ जना कर्मचारीलाई स्वेच्छिक अवकास दिएको छ।

प्रकाशित: १० माघ २०७५ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App