५ वैशाख २०८१ बुधबार
अर्थ

उद्यमशीलता सम्मेलन फागुन २ मा

काठमाडौं – नेपाल उद्यमशीलता सम्मेलन आगामी फागुन २ गते काठमाडौंमा हुने भएको छ। नेपाल उद्योग परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो।

परिसंघले बुधबार पत्रकार सम्मेलन गर्दै फागुन २ मा सम्मेलन गर्ने तय भएको जानकारी गराएको छ। अहिले उद्योग वा उद्यमशीलताको विकासभन्दा अन्य क्षेत्रमा काम गर्ने प्रवृत्ति बढ्दै गएकोले युवा समुदायलाई उद्यमशीलतातर्फ आकर्षित गराउन आवश्यक रहेको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए।

उनले समृद्ध नेपालको लक्ष्य सहित सरकारले आफ्नो कार्ययोजना तर्जुमा गरेको र सरकारबाट थालनी भएको यस प्रकारको नीति र कार्यक्रमको उद्देश्य पूरा हुन उद्यमशीलताको विकास अर्को महत्वपूर्ण पाटो भएको बताए। अध्यक्ष शर्माले युवा उद्यमशीलताको विकास कार्यक्रम सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्न यस प्रकारका सम्मेलनले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उद्यमशीलतालाई आर्थिक समृद्धिको सम्बाहकको रुपमा पहिचान गर्ने, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवम् देशभरका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तारको प्रक्रिया र नेटवर्किङको पहिचान गर्ने, नयाँ प्रतिभा, प्रविधि, सिर्जनशीलतासँगै उद्यमशीलतालाई प्रवद्र्धन र संरक्षणको आवश्यकतासहित मैत्रीपूर्ण वातावरणको पहिचान गर्ने, विदेशमा रहेका युवालाई स्वदेश मै उद्योग तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने उद्देश्य सहित सम्मेलन आयोजना हुँदैछ। 

यस सम्मेलनमा साना, मझौला तथा ठूला उद्योग–व्यवसायमा संलग्न वा संलग्न हुन चाहने उद्यमी व्यवसायी एवम् विदेशी उद्यमी, सातै प्रदेशबाट १५–१५ जना युवा उद्यमीको सहभागिता रहनेछ। साथै, नयाँ प्रविधि र कार्ययोजना सहित उद्यमशीलताको प्रवद्र्धनमा संलग्न युवा उद्यमी, नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारी योजना विद्, अर्थविद्, राजनीतिज्ञ समेत गरी चार सयभन्दा बढीको सहभागिता रहने परिसंघले जनाएको छ।

यस सम्मेलनमा स्टार्टअपको प्रदर्शन गर्ने नेटवर्किङ गतिविधि, उद्यमशीलता, लगानीसहित छिमेकी मुलुकबाट आएका विशिष्ट व्यक्तिसँग अन्तक्र्रिया र सम्बोधन हुने कार्यक्रम रहेको आयोजकले बताएको छ। यस किसिमको सम्मेलन मुलुकमा पहिलोपटक हुन लागेको बताइएको छ।

संघीय नेपाल : लगानी र प्रगतिको अवसर (फेडेरल नेपाल : अपरच्युनिटिज फर इन्भेस्टमेन्ट एन्ड ग्रोथ) शीर्षकमा हुने लागेको सम्मेलनको आयोजक परिसंघ, नेपाल सरकार र विशाल मिडिया ग्रुप हो।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने सम्मेलनमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्षबाट समापन सम्बोधन हुने कार्यक्रम तय भएको छ। सम्मेलनमा सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट सम्बन्धित प्रदेशको उद्यमशीलता र रोजगारीका अवसरबारे सम्बन्धित प्रदेशका कार्ययोजना समेत प्रस्तुत हुने परिसंघले जनाएको छ।

प्रकाशित: १० माघ २०७५ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App