८ वैशाख २०८१ शनिबार
खेल

विघटित जिम्न्यास्टिक संघलाई तदर्थ समितिको नेतृत्व

काठमाडौं – विवादित संघलाई एकै बनाउने उद्देश्यले गठन भएको छानबिन समितिले यसअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विघटन गरिसकेको जिम्न्यास्टिक संघलाई तदर्थ कमिटीको नेतृत्व प्रदान गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाको नेतृत्वमा गठन गरेको छानबिन समितिले यसअघि विघटन गरिसकेको ध्रुबहादुर प्रधान अध्यक्ष रहेको जिम्न्यास्टिक संघ तदर्थ कमिटीमार्फत ब्युँत्याएको हो। तत्कालीन राखेपका सदस्यसचिव हरिबाबु चौधरीको पालामा विघटन भइसकेको जिम्न्यास्टिक संघलाई वैधानिक प्रदान गर्दै छानबिन समितिका संयोजक तिम्सिनाले सोही संघका अध्यक्ष प्रधानलाई तदर्थ समितिको अध्यक्ष तोकेका छन्।

तत्कालीन समयमा प्रधान अध्यक्ष रहेको जिम्न्यास्टिक संघ विघटन गर्दा छानबिन समितिका संयोजक तिम्सिना पनि राखेपकै उपाध्यक्ष थिए। हाल पनि राखेपका उपाध्यक्ष रहेका तिम्सिनाले विवादित संघलाई टुंगो लगाउने प्रक्रियाअनुरूप  जिम्न्यास्टिक पहिलो कदम भएको बताएका छन्।

जिम्न्यास्टिक विवाद समाधानका लागि राखेपको मान्यतामा रहेको जिम्न्यास्टिक संघका अध्यक्ष किशोरबहादुर सिंहलाई तदर्थ समितिको सहअध्यक्ष तोकिएको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा गरिएको थियो। पुनगर्ठित संघको उपाध्यक्षत्रयमा गीता राणा, बाबुराम थापा र राजेश खड्का, महासचिवमा मुकुन्द शर्मा तथा सचिवमा मुकुन्दलाल नकर्मी र बचन देउजा रहेका छन्।

सदस्यमा जनक भट्टराई, सैलेन्द्र श्रेष्ठ, पुरन गिरी, इन्दिरा दाहाल, सुशिलप्रकाश प्रधान, कुश्मिला आचार्य, शंकर पौडेल, रामेश्वर जोशी, सूर्यबहादुर अधिकारी, प्रमिला सिंह, रामप्रसाद बराल, अरुण राठ्ठी, मोहन भट्ट, दीपक प्रजापति, पूर्णमान वज्राचार्य, प्रवीण उप्रेती, सन्देश मानन्धर, सुनिलमान सिंह, विष्णुनारायण बाछा र रुपेश बस्नेत छन्।

तदर्थ समिति गठन गरिएपनि विवाद टुंग्याउन भने निकै कठिन हुनेछ। यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले राखेपका उपाध्यक्षको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरे पनि सोही समितिको वैधानिकता प्रश्न उठिसकेको छ।
छानबिन समितिमा राखेपका विवादित कर्मचारीलाई सदस्य तोकिएको भन्दै अर्का सदस्य नारायणप्रसाद अर्यालले राजीनामा दिएपछि छानबिन समितिको वैधानिकतामा आैंला उठेको थियो। अर्याल राखेपको कानुन शाखाका प्रमुख हुन्।
यता, बुधबार सिंहदरबारमा भएको बैठकमार्फत तेक्वान्दो, कराते, उसु, कुस्ती र टेबलटेनिस संघको विवाद पनि समाधानतर्पmअगाडि बढेको छानबिन समितिका संयोजक तिम्सिनाले दाबी गरे। संयोजक तिम्सिनाले विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) बाट मान्यता प्राप्त नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले माघ १६ गतेसम्म समय मागेकाले केही ढिलाइ हुने बताएका छन्।

बुधबार नै राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइरालालाई पनि छलफलका लागि बोलाइएको  थियो। तर, एकताका लागि टुंगो भने लाग्न सकेको थिएन। छानबिन समितिका संयोजक तिम्सिनाले समयसीमाभित्र सहमति नगरेको खण्डमा दुवै संघले विघटन गर्न बाध्य हुने चेतावनी दिएका छन्। यद्यपि, ती संघलाई मिल्नका लागि समय पनि थपिने तिम्सिनाले उल्लेख गरे।

यता, तदर्थमा रहेको जिम्न्यास्टिकलाई विधान संशोधन गर्दै राखेपबाट स्वीकृत गरी ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले जिम्मेवारी बोधका साथ दुई संघका पदाधिकारी एकीकृत हुन राजी भएकोमा दुवै पक्षलाई धन्यवाद दिदै एकिकरणका लागि समितिले गरेको मेहनत र भूमिका सकारात्मक र प्रंशसनीय रहेको बताए।

मन्त्री विश्वकर्माले जिम्न्यास्टिक संघको एकीकरणको सन्देशले अन्य संघमा रहेको विवाद पनि क्रमै संग मिल्दै जाने विश्वास व्यक्त गरे। तदर्थ समिति गठनपछि प्रधान र सिंह दुवैले विवाद समाधान गर्ने विश्वास दिलाइसकेका छन्। प्रधानले खेलकुद मन्त्रालय, राखेप र समितिले दिएको जिम्मेवारीलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राम्रो समझदारीबाट संघलाई अगाडि बढाउनुका साथै जिम्न्यास्टिकको स्तरबृद्धिमा एकजुट भइ काम गर्ने बताए। सह–अध्यक्ष सिंहले दुवै पक्षको सुझबुझले एकता सम्भव भएको बताउँदै विगतका कुरालाई बिर्सेर जिम्न्याष्टिकको विकासमा सक्रिए हुनुपर्ने आवश्यकता आैंल्याए।
 

प्रकाशित: १० माघ २०७५ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App