८ वैशाख २०८१ शनिबार
समाज

थन्किए राष्ट्रिय परिचयपत्र

सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र पाएकी पाँचथरकी १०१ वर्षीया भगवती भण्डारी। तस्बिरः नागरिक

पाँचथर - पाँचथरको सदरमुकाम फिदिमबाट गत मंसिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण प्रारम्भ गरियो। गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा निकै तामाझामका साथ परिचयपत्र वितरण सुरु गरिएको थियो। र, यसअघि जसरी विवरण संकलन गरिएको थियो त्यसरी नै परिचयपत्र (कार्ड) पनि वडावडामा पुगेर वितरण गर्ने भनिएको थियो। तर बनेका कार्डहरू अहिलेसम्म फिल्ड अफिसमै थन्किएर बसेका छन्।

केही कार्डहरू जिल्ला प्रशासन कार्यालय(पाँचथर)मा रहेको फिल्ड अफिसमै लिन आउनेलाई दिइए पनि बनेका विवरण भरेका सबैले पाउन सकेका छैनन्। अहिलेसम्म ३० हजार कार्ड बनेर आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। यी कार्डहरू गाँउगाउँमा पुगेर वितरण गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए। उनका अनुसार राष्ट्रिय परिचयपत्र निर्माणका लागि जिल्लामा अहिलेसम्म ७६ हजार विवरण संकलन भएको छ। अहिले तुम्बेवा र मिक्लाजुङ गाँउपालिकामा विवरण संकलन भइरहेको उनले जानकारी दिए।

फारम भरेकाहरूको कार्ड चाँडै बनेर आउने बताइए पनि त्यस्तो भएको पाइँदैन। एउटै वडाको कार्ड पूरा नआउँदा वितरणका लागि गाउँ जान समस्या भएको फिल्ड अफिसका कर्मचारी बताउँछन्। पाँचथरका १ लाख १० हजार जनाको विवरण संकलन गरेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य छ। परिचयपत्रका लागि असारदेखि विवरण संकलन सुरु गरिएको थियो। नाम, जन्ममिति, बाबुआमा तथा बाजेको नाम, बायोम्याट्रिक्स (औंठा) छाप, फोटोसहितको विवरण लिइएको थियो। वितरण गर्ने क्रममा पुनः बायोम्याट्रिक्स जाँच गरेर वितरण गर्ने बताइएको छ। यसका लागि टोल गाँउगाँउमै पुग्नुपर्ने हुन्छ।

प्रकाशित: १० माघ २०७५ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App