coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश ३ मा सवारी दर्ता सुरु

मुख्यमन्त्री डोरमणि पौडेल आफैँले चढ्दै आएको विद्युतीय जिपमा प्रदेशको पहिलो सवारी दर्ता नम्बर राखेर कार्यालय उद्घाटन गर्दै।

मकवानपुर - तीन नम्बर प्रदेशमा प्रदेश संरचनाअनुसार सवारी दर्ता सुरु गरिएको छ। यातायात व्यवस्था तथा सेवा कार्यालय हेटौंडाले बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्नेे विद्युतीय जिपलाई पहिलो नम्बर दिएर कार्यालय उद्घाटन गरिएको हो।

कार्यालय उद्घाटनका अवसरमा एक निजी र एक भाडाको सवारी दर्ता गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाका नाममा दर्ता रहेको विद्युतीय जिपको नम्बर प्रदेश ३–०३–००१–झ–०००१ रहेको छ। प्रदेशको काठमाडौंबाहिर पहिलोपटक हेटौंडा कार्यालयले सेवा दिन सुरु गरेको कार्यालय प्रमुख पोषण थापाले बताए। उनका अनुसार कार्यालयबाट सवारीसाधनको दर्ता, अनुमतिपत्र वितरण, नवीकरणलगायतका सेवा दिनेछ।

‘भौतिक संरचना निर्माण हुन बाँकी भएकाले नयाँ अनुमतिपत्र वितरण भने केही समयपछि सुरु गरिनेछ,’ उनले भने, ‘हेटौंडा कार्यालयबाट सबै सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा, सवारी अनुमतिपत्र प्रदान तथा नवीकरण गर्न सकिन्छ।’ कार्यालय उद्घाटन गरेपछि मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकासमन्त्री पौडेलले प्रदेशअन्तर्गत सेवा सुरु भएपछि आमनागरिकले छिटोछरितो रुपमा सुविधा पाउने बताए। ‘जनताले यातायात व्यवस्था तथा सेवा कार्यालयबाट प्रदेश सरकारको अनुभूति पाउनेछन्,’ उनले भने।

प्रदेशअन्तर्गत १० वटा यातायात कार्यालय छन्। जसमध्ये काठमाडौं उपत्यकामा रहेका ४ वटा कार्यालयले सवारी अनुमतिपत्र जारीका साथै पुरानै प्रक्रियाबाट सवारी दर्ता गराइरहेका छन्। प्रदेशको यातायातसम्बन्धी ऐन भने प्रदेशसभाले पारित गरे पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी छ।

प्रकाशित: १० माघ २०७५ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App