coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रोगको कारखाना बन्दै कारागार

काठमाडौं - देशभरका कारागार बस्न योग्य नहुँदा रोगको कारखानामा परिणत भएका छन्। क्षमताभन्दा बढी कैदी बन्दी राख्नु, सरसफाइ नहुनु, स्वास्थ्यसम्बन्धी सेवा सहज र सुलभ नहुनुजस्ता कारणले कारागारमा रोगी बढेका हुन्।

चालु आर्थिक वर्ष २०७५/७६ को माघ २ गतेसम्ममा मात्र देशभरका कारागारमा २३ जना कैदी बन्दीको विभिन्न रोगका कारण मृत्यु भएको छ। कारागार व्यवस्था विभागका अनुसार तीमध्ये अधिकांश कैदी बन्दीको बिरामी भई उपचारका क्रममा निधन भएको हो। आर्थिक वर्ष २०७४/७५ मा कुल ५२ जना कैदी बन्दीको निधन भएको थियो। तीमध्ये अधिकांशको रोग लागी उपचारका क्रममा निधन भएको हो। विभागका अनुसार एकजनाले आत्महत्या गरेका थिए। गत आर्थिक वर्ष मृत्यु हुनेमा सबैभन्दा बढी १८ जना केन्द्रीय कारागार जगन्नाथदेवलका थिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म केन्द्रीय कारागारमा १० जना कैदी बन्दीको निधन भइसकेको छ। पुसमा मात्र चारजनाको निधन भएको थियो। बालसुधार गृह भक्तपुरमा राखिएका एकजनाको उपचारका क्रममा निधन भएको विभागले जनाएको छ।

केन्द्रीय कारागारका कैदी बन्दीको उपचारको अनुभव समेत सँगालेका डा. केदारनरसिंह केसीले नेपालका अधिकांश कारागार बस्न उपयुक्त नभएको बताए। उनले भने, ‘वातावरणीय र मानवीय दृष्टिले देशका सबैजसो कारागार बस्न योग्य छैनन्।’ उनले कारागारमा रोग सर्ने र फैलने खतरा रहने गरेको औंल्याए। क्षमताभन्दा बढी कैदी बन्दी राख्नु, शुद्ध पानीको आपूर्ति नहुनु, ढल निकालमा समस्या रहनु, बस्न अयोग्य हुनु र आवश्यक औषधि तथा स्वास्थ्यकर्मीको अभावले रोगी बढ्ने गरेको बताए।

केन्द्रीय कारागारमा रुघा, खोकी, दम, ज्वरो, टाइफाइडलगायतका सरुवा रोगबाट कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले रोग सर्ने सम्भावना बढेको छ ।

कारागार व्यवस्था विभागका निर्देशक कृष्णबहादुर कटुवालले भने काठमाडौं उपत्यकाका कारागारमा चालु आर्थिक वर्षमा निधन भएका सबैजसो कालगतिकै कारण भएको बताए। केन्द्रीय कारागारमा मात्र चालु आर्थिक वर्षमा १३ जना कैदीको निधन भएकोबारे नागरिकको प्रश्नमा उनले भने, ‘सबै १३ जनाको निधनको कारण कालगती हो।’ कारागारको सुरक्षा र स्वास्थ्य सेवामा गम्भीरताका साथ काम गरिएको उनको दाबी छ।

डा. केसी भने जेलको वातावरण नै अस्वस्थकर भएको बताउँछन्। केन्द्रीय कारागारमा रुघा, खोकी, दम, ज्वरो, टाइफाइडलगायतका सरुवा रोगबाट कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले रोग सर्ने सम्भावना बढेको छ। केन्द्रीय कारागारमा मात्र २८ सयभन्दा बढी कैदी बन्दी रहेको कारागार व्यवस्था विभागले उल्लेख गरेको छ। यो क्षमताभन्दा दोब्बर हो। काठमाडौं उपत्यकाका कारागारमध्ये डिल्लीबजार र नक्खु कारागारमा चाप बढी छ। कतिपय कारागारमा क्षमताभन्दा तीनदेखि पाँच गुनासम्म कैदी बन्दी राखिएका छन्। देशभरका कारागारमा २० हजारभन्दा बढी कैदी बन्दी रहेको तथ्यांक छ।

कारागारमा मानसिक रोगीको संख्या बढ्दो छ। काभ्रे कारागारमा १८ र लम्जुङ कारागारमा दुई जना मानसिक रोगी कैदी बन्दी छन्। जेलको अवस्था र वातावरणले पनि मानसिक रोगी बढ्ने खतरा छ। डा. केसी जेलको अमानवीय अवस्थाले मानसिक रोगी बढ्ने गरेको बताउँछन्। यसलाई बेलैमा सोचेर सुधारमा जानुपर्नेमा उनको जोड छ। क्षमताअनुसार कैदी बन्दी राख्नुपर्ने, सरसफाइ र स्वास्थ्यसेवामा ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित: १० माघ २०७५ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App