coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माननीयलाई करोडको गाडी, मर्यादापालकलाई रात काट्नै सकस

रुपन्देही - प्रदेश ५ मा सांसद र पदाधिकारीका लागि करोडौंको गाडी छ। चालक, सहयोगी र आवास सुविधा पनि छ। प्रदेशसभाका सचिवले समेत पदाधिकारीकै सेवा सुविधा उपभोग गर्छन्। बाँकी अधिकृत तहका कर्मचारीले पनि यातायात सुविधा पाएका छन्। सांसद पदाधिकारीका लागि महंँगो टाटा स्ट्रोम गाडी दिने प्रदेशसभाले मर्यादापालकलाई भने न्यूनतम सुविधा पनि दिएको छैन।

प्रदेशसभा सचिवालयको तेस्रो तलामा आल्मुनियमले पार्टेसन गरेर तीनवटा साघुँरा ‘चेञ्जिङ रुम’ बनाइएको छ। दुई कोठा पुरुष र एक कोठा महिला मर्यादापालकका लागि व्यवस्था गरिएको हो। यहि कोठामा ४३ जना मर्यादापालकले कपडा फेर्ने र रात बिताउनुपर्छ। मर्यादापालकको कपडाले कोठा भरिएको छ। ओढ्ने ओछ्याउने सिरक र विस्तारा गुजुल्टो पारेर राखिएको छ। जुत्ता कोठामै यत्रतत्र छ। कपडाका चारै कुनामा राखिएको छ। यो दृश्य हेर्दा कुनै कबाड कारखानाभन्दा कम देखिन्न। नाम मर्यादापालक तर अमर्यादित रूपमा बस्नु परेको गुनासो गर्छन् मर्यादा पालक प्रमुख प्रहरी निरीक्षक होेम प्रकाश चौधरी। एक वर्षदेखि साँघुरो र अध्याँरो कोठामा कोच्चिएर, थेच्चिएर रात दिन बिताउनुपरेको उनले बताए।

‘प्रदेशसभाबाट भत्ता, खाजा पाउने आश छैन, मर्यादापालकलाई मानवीय रूपमा पनि राख्न पाइएन,’ प्रमुख चौधरीले भने। मर्यादापालक भेडाबाख्रा जस्तै गरी भुइँमा सुत्ने गरेका छन्। उनीहरूले प्रदेशसभाको छतमा मेस चलाएका छन्। सानो क्षेत्रमा खाना पकाएर खाने गर्छन्। खानेबेला अधिकांश उभिनुपर्छ। २५ जनाको मेस चल्छ। मर्यादा प्रमुखको कुनै कार्यकक्ष छैन। ‘हामी प्रहरीकै कर्मचारी हो, अन्य सुविधा त पाएनौं तर सामान्य मान्छेले पाउने सुविधा पनि पाएनौं,’ मर्यादा पालक प्रमुख प्रहरी निरीक्षक चौधरीले नागरिकसँग दुःखेसो पोखे।

हामी प्रहरीकै कर्मचारी हो, अन्य सुविधा त पाएनौं तर सामान्य मान्छेले पाउने सुविधा पनि पाएनौं,’ मर्यादा पालक प्रमुख प्रहरी निरीक्षक चौधरीले नागरिकसँग दुःखेसो पोखे, ‘एक वर्षदेखि भुइँमा सुतेर दिन बिताइरहेका छौं।

‘एक वर्षदेखि भुइँमा सुतेर दिन बिताइरहेका छौं, पटकपटक कुरा राख्दा पनि सुनुवाइ भएन,’ उनले भने। मर्यादापालकले महिनौंदेखि भुइँमा सुते पनि यसको सुनुवाइ नभएको दुःखेसो पोखे। ‘चेञ्जिङ रुम भनेर सानो कोठालाई पार्टेसन गरिएको छ, एकपटकमा १० जना पनि बस्न मिल्दैन, पटकपटक समस्या सचिवालयमा राख्यौं, सुनुवाइ भएन,’ अर्का एकजना मर्यादापालकले नाम नभन्ने सर्तमा भने, ‘वाध्य भएर मिडियामा बोल्नुपर्‍यो। चेञ्जिङ्ग रुम’ भनिए पनि यो बासस्थान हो। त्यति मात्रै होइन मर्यादापालकको कार्यकक्ष पनि।’

महिला मर्यादापालकलाई झनै सास्ती छ। ‘छेउमै अन्य कार्यालय भएकाले बोल्न पनि पाइँदैन, कपडा फेर्न पनि लाइनमा बस्नुपर्छ,’ एकजना महिला मर्यादा पालकले भनिन्। उनले आफ्नो नाम पत्रिकामा आए जागिर जाने डर भएकाले नछाप्न आग्रह गरिन्। मर्यादापालकको ‘चेञ्चिङ रुम’मा ऐना पनि छैन। कपडा लगाएर ऐना हेर्न तल्लो तलामा जानुपर्छ।

प्रदेसशभाले हालै टाटाको महँगो स्ट्रोम ११ र अन्य २ गरी १३ वटा नयाँ गाडी खदिरका लागि ८ करोड ८१ लाख खर्चियो। तर, प्रदेशसभाको बैठकलाई मर्यादित र सुरक्षित बनाउन खटिने मर्यादापालक भने भुइँमा सुतेर काममा खटिँदा पनि कुनै सुनुवाइ गरेको छैन। सांसदहरूले घर भाडाबाहेक पारिश्रमिकवापत मासिक ४५ हजार, आवाससुविधा मासिक १५ हजार, बैठकभत्ता प्रतिदिन १ हजार पाउँछन्। बिजुली–पानी वापत मासिक १ हजार ५ सय, सञ्चार सुविधा टेलिफोन, इन्टरनेट र पत्रपत्रिका खर्चवापत एक मुष्ट मासिक २ हजार, आन्तरिक भ्रमण खर्च प्रतिदिन २ हजार पाउछन। बैठक भत्ता ५ सय र फनिर्चनर खर्च समेत लिन्छन। सांसदहरुले पनि संसद बैठकलाई व्यवस्थित र सुरक्षित बनाउन खटिने मर्यादापालकको पीडा बुझेनन्।

प्रदेशसभाका कर्मचारीले यातायात सेवा, खाजा खर्च पाइरहेका छन्। तर मर्यादापालक भने जाडोमा चिसो भुइँमा रात बिताउन वाध्य छन्। न्यूनतम मानवीय व्यवहार पनि नभएको भन्दै कम्तीमा खान बस्ने व्यवस्था गरिदिन उनीहरूले प्रदेशसभासमक्ष माग गरेका छन्। ४३ जनामध्ये केही मर्यादापालक भाडामा बाहिर बस्छन्। २३ जना मर्यादापालक सानो खाट र भुइँमै रात बिताउने गरेका छन्। प्रदेशसभामा ३ जना सचिव फेरिए। तर मर्यादापालकको समस्या भने फेरिएन। पटकपटक मर्यादापालकको समस्या सम्बोधन गर्न सभामुख पूर्ण बहादुर घर्तीलाई अनुरोध गरे। सभामुखले सचिवलाई निर्देशन पनि दिएकै हुन्। तर सचिवले भने मर्यादापालकको समस्या सम्बोधन गर्न चासो देखाएका छैनन्।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आन्तरिक विषय भएको भन्दै गम्भीरतापूर्वक लिएनन। उनले आन्तरिक कुरा भएकाले सचिवालयको मात्रै सरोकार हुने प्रतिक्रिया दिए। उनले भने, ‘यो समस्या सचिवालयको हो, तपार्इंसमक्ष कसरी पुग्यो ?,’ उनले प्रश्न गरे। प्रदेशसभामा बैठक बस्दा त्यहाँको सुरक्षाका लागि मर्यादापालक राख्ने गरिन्छ। गत वर्ष माघदेखि प्रदेश ५ मा प्रदेशसभा सञ्चालन हुन थालेपछि प्रहरी प्रधान कार्यालयले केही अनुभवी मर्यादापालक यहाँ खटाएको थियो। प्रहरी प्रधान कार्यालय काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एंव केन्द्रीय प्रवत्ता उत्तमराज सुवेदीले नयाँ संरचना भएकाले केही अप्ठ्यारो भएको हुनसक्ने बताए। उनले प्रदेश ५ मा मर्यादापालकलाई अन्यत्र बस्ने चाहना भएमा त्यसको व्यवस्थापन धागो कारखानालगायतका क्षेत्रमा गर्ने गरिएको बताए। उनले मर्यादापालकलाई व्यवस्थित रूपमा राख्ने दायित्व प्रदेशसभा भएकाले ऊ नै जिम्मेवार हुनुपर्ने बताए।
संघीय संसदमा के छ प्रावधान ?

प्रदेशसभा नयाँ संरचना हो। यसअघि राजधानी काठमाडौंस्थित संसद्मा मात्रै मर्यादापालक राख्ने गरिएको थियो। अहिले ७ वटै प्रदेशमा मर्यादापालक राख्ने गरिएको छ। बिशेष तालिम प्राप्त गरेका प्रहरी संगठनबाट नै मर्यादापालक राख्ने गरिन्छ। संसद्भित्र हुनसक्ने हुलदंगा र त्यहाँको सुरक्षा तथा बैठक सञ्चालनलाई व्यवस्थित बनाउन मर्यादापालक राख्ने गरिएको हो।

संघीय संसद्मा खटिने मर्यादापालकका लागि छुट्टै सुरक्षा ब्यारेक बनाइएको छ। अधिकांश मर्यादापालक कोठाबाटै जाने गर्छन। तर त्यही बस्नेलाई ब्यारेकमा राख्ने गरिएको छ। संसद्ले आफ्नो विवेक प्रयोग गरेर पासशाक र बैठक भत्तासमेत दिने गरेको छ। प्रहरी संगठनकै तर्फबाट उनीहरुलाई पदअनुसार तलब जान्छ। पोसाकवाहेक अरु सुविधामा मर्यादापालकले खोज्न नहुने प्रहरी प्रधान कार्यालय काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीको भनाइ छ। उनका अनुसार अहिले देशैभर संघीय र ७ वटा प्रदेशसभामा गरी ३ सय ३६ जना मर्यादापालक खटिएका छन्। संघीय संसद्मा १ सय ३१ जना मर्यादापालक छन्।

मर्यादापालकको कपडा फेर्ने तथा सुत्ने कोठा। तस्बिर ः नागरिक

प्रकाशित: १० माघ २०७५ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App