८ वैशाख २०८१ शनिबार
राजनीति

सूर्याेदयबाट झुल्किँदै समृद्धिकाे किरण

इलाम - ‘यो नगरले जेजस्ता काम गरिरहेको छ, हामी यहाँबाट धेरैथोक सिक्दैछौं,’ माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले जिल्लाको सूर्याेदय नगरपालिकाका कामको समीक्षा गर्दै सार्वजनिक समारोहमा भने, ‘सूर्याेदयको कामले हामीलाई समृद्धिको प्रेरणा दिएको छ।’

राई मात्र होइन, माई नगरपालिकाका मेयर दीपककुमार थेबेलाई पनि सूर्याेदय नगरपालिकाले गरिरहेका काम प्रभावकारी लागेको रहेछ। उनले भने, ‘सूर्याेदयलाई समृद्धिपथमा लैजान हरेक आधारले साथ दिएको छ, समृद्धिको गन्तव्यमा पुग्ने वातावरण बनाउन सूर्याेदयले उदाहरणीय काम गरिरहेको हामी सबैले देखेकै छौं।’ देशभरका स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले गरेका अपेक्षा कति पूरा हुँदैछन्, कति काँचै छन् भन्नेबारे पालिकैपिच्छेका सर्वसाधारणको आआफ्नै अनुभव हुनसक्छ। तर, जिल्लाको सूर्याेदय नगरपालिका जनप्रतिनिधि चुनिएर आएको डेढ वर्षमा ‘नयाँ भिजन ल्याउने नगरपालिका’ को नामले १ नम्बर प्रदेशसहित देशभर चर्चामा उक्लिँदैछ। ‘सूर्याेदय नगरले समृद्ध नेपाल, सुखी नेपालीको भिजनमा काम गरिरहेको सुनेरै म नगरको काम हेर्न यहाँ आएको हुँ,’ १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गत आइतबार सूर्याेदयको चौथो नगरसभा उद्घाटनसत्रमै भनिदिए, ‘यहाँका मेयर साबको सक्रियतामा ल्याइएका नयाँनयाँ योजनाले सूर्याेदयलाई समृद्धिको गन्तव्यमा पुर्‍याएको देख्न पाउने विश्वास छ।’

सूर्याेदय देशमै चर्चामा उदाउनुका पछाडि उसले गरिरहेका काम नै आधार हुन्। चुनाव जितिसकेपछि टोलटोल पुगेर मेयरसहितका जनप्रतिनिधिले नागरिकको गुनासो नियमित सुन्न ‘गुनासो चौतारी’ अभियान चलाइएको छ। ‘चुनावअघि आफूले गरेका बाचा कति पूरा भए, कति बाँकी छन् भनेर सम्बन्धित वडाका जनप्रतिनिधिसमेतलाई राखेर नियमित रूपमा टोलटोल पुग्दैछौं,’ मेयर रणबहादुर राई भन्छन्, ‘गुनासो चौतारी अभियानमा जनताले हामीलाई सार्वजनिक रूपमा सजग गराउनुहुन्छ, सम्झाउनुहुन्छ, उहाँहरूकै सुझावअनुसार काम गर्छाैं।’

सूर्याेदय नगरका जनप्रतिनिधि मतदाताकहाँ प्रत्येक महिना नियमित पुगिरहेका छन्। ‘मेयरसहितका जनप्रतिनिधि आएर गाउँका समस्या सुनिदिँदा अबचाहिँ गाउँमा केही हुनेरहेछ भन्ने लाग्छ,’ वडा १ का रोहन राईले भने, ‘हामी गाउँलेलाई पनि वडा कार्यालय र नगरपालिकाबारे कुनै गुनासो भए खुला रूपमा राख्न पाउने राम्रो अवसर रहेछ गुनासो चौतारी।’

खर्च घटाउन, समय बचाउन र झन्झट हटाउने उद्देश्यले सूर्याेदयले केही महिनादेखि ‘पेपरलेस’ अवधारणा व्यवहारमा उतारेको छ। नगरपालिकाले मातहतका कार्यालयलाई पत्र पठाउन होस् वा नगरभरको सबैखाले तथ्यांक संकलन गर्न, कागजको प्रयोग गर्न छाडिसकेको छ। नगरका प्रत्येक धरधनीको तथ्यांक सफ्टवेयरमा संकलन गरिन्छ। कसैको विवरण हेर्नुपरे एकै क्लिकमा विस्तृत जानकारी पाउने खालको सफ्टवेयर प्रयोगमा ल्याएपछि कागजको प्रयोग गर्नुपरेको छैन। ‘सम्बन्धित नगरबासीले वेबसाइट खोलेर आफूलाई दिइएको पासवर्ड प्रयोग गरेपछि नगरले राखेको आफ्नो विवरण घरमै बसीबसी हेर्न सक्छ,’ सफ्टवेयरमा प्राविधिक सहयोग गरेका लोकप्रिय खनालले भने, ‘सूर्याेदयले अब वर्षैपिच्छे २५–२६ पानाको फाराम बोकेर नगरबासीको विवरण लिन गाउँगाउँ पुगिरहनुपर्दैन, एउटा एन्ड्रोइड मोबाइल बोकेर गएपछि सबै विवरण संकलन गर्न सकिन्छ।’ प्रत्येक वडामा कम्प्युटरको आन्तरिक नेटवर्क पनि विकास गरिएको छ। जसले इन्टरनेटबिनै काम गर्न सक्छ। यो नेटवर्क नगरका १४ वटा माध्यमिक विद्यालयमा पुर्‍याउने नगरको योजना छ।

नगरका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएपछि शिक्षकको उपस्थिति नियमित भएको छ। त्यति मात्र होइन, विद्यालयलाई इन्टरनेट, कम्प्युटरलगायतका पूर्वाधारमा सहयोग गरेपछि निजी स्कुलका विद्यार्थीसमेत यहाँका सामुदायिक विद्यालयतिर आकर्षित भइरहेका छन्। केही सामुदायिक माध्यमिक विद्यालयमा गत वर्षभन्दा विद्यार्थी दोब्बर बढेका छन्। नगरले सामुदायिक विद्यालयमाथि निगरानी बढाएपछि यस्ता विद्यालयमा विद्यार्थी र अभिभावकको विश्वास बढेको शिक्षक बताउँछन्। नगरले व्यवस्था गरेको विद्युतीय हाजिरी, रेखदेख र अन्य पूर्वाधार सहयोगले अभिभावक र विद्यार्थीको आकर्षण बढेको करफोक विद्यामन्दिरका प्रधानाध्यापक दिनराज निरौला बताउँछन्।

नगरले स्कुलको अनुगमन गर्दा विद्यार्थीको डेस्क–बेन्चको सेटिङदेखि शैक्षिक सामग्री र शिक्षकमा विषयवस्तुको ज्ञानसमेत हेरिरहेको छ। ‘बेग्लाबेग्लै स्कुलका शिक्षकलाई नगरपालिकामा बोलाएर आपसमा अन्तरक्रिया गराउने, विद्यार्थी पढाउने विधिबारे छलफल गर्नेजस्ता कार्यक्रम पनि गरिरहेका छौं,’ मेयर राईले भने, ‘शिक्षक र विद्यार्थीलाई राम्रो काममा पुरस्कार र काम बिगारे दण्ड दिने विधि नगरले ल्याएपछि पढाइमा सुधार आएको छ।’
नगरलाई ुदूधको राजधानी’ का रूपमा विकास गर्न सूर्याेदयले नगरभरका फुसले छाएका सर्वसाधारणका घरमा जस्ता लगाइदिँदैछ। घर फुसले छाउँदा गाईबस्तुलाई हाल्ने सयौं भारी घाँस नष्ट हुने थाहा पाएपछि घाँस बचाएर गाईभैंसीलाई खुवाउने अनि दूध उत्पादनमा नगरलाई अब्बल बनाउने नगरपालिकाको लक्ष्य छ। ‘फुसले घर छाउँदा खर (सिरु), सालिम्मो (घर छाउने एक प्रकारको घाँस), पराल र बाबियो मात्रै सकिँदैन, डाँडा–भाटा, चोया, बाता (तिखारिएको चोया) का लागि प्रयोग हुने बाँस, निगालो, निबा र घुँडे पनि उत्तिकै खर्च हुन्छ,’ मेयर राई भन्छन्, ‘गरिबको घरमा पानी पनि नचुहिने, दूध उत्पादनमा नगरले राम्रो प्रगति पनि गर्न सक्ने भएकाले यो अवधारणा लागू गरेका छौं।’

नगरले तीन वर्षभित्र सबै कृषि उत्पादन अर्गानिक बनाउने घोषणा गरिसकेको छ। अहिलेसम्म कायम हुन नसकेको हरियो चियाको न्यूनतम समर्थन मूल्यसमेत कायम गर्न सफल भएको छ। ‘नगरका ६० प्रतिशत किसानले चिया खेती गर्छन्,’ मेयर राईले भने, ‘न्यूनतम् समर्थन मूल्य नतोकुन्जेल ती किसानले हरियो चिया बेचेर वर्षमा ५० लाख हाराहारी आम्दानी गर्थे, अहिले २० देखि ३० करोड रुपैयाँसम्म किसानको हातमा पुगेको अनुमान छ।’ कडाखाले विषादीमुक्त भइसकेको नगर अहिले पोलिथिनमुक्त पनि भएको छ। कन्याम, अन्तुडाँडा, पशुपतिनगर, पाथीभरा, फिक्कललगायत देशकै चर्चित पर्यटकीय स्थल रहेको सूर्याेदयलाई १ नम्बर प्रदेश सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरेअनुसार भर्खरै औपचारिक रूपमा यो नगरले आफूलाई ुपर्यटकीय नगरी’ घोषित गररेको छ।

नगरका लोपोन्मुख लेप्चा, दलितलगायत लक्षित समूहका ६० विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृत्तिदेखि बिहे भएर घर आउँदा विद्यालय÷कलेज जान नपाएका बुहारीलाई पनि छात्रवृत्ति कार्यक्रम ल्याएर कार्यान्वयन गरिएको छ। ज्येष्ठ नागरिकलाई देश दर्शन गराउन वर्षको एकपटक विभिन्न धार्मिकस्थलको भ्रमण गराउने कार्यक्रम पनि सूर्याेदयले कार्यान्वयन गरिरहेको छ। ‘नगरमा जन्मेर घर छाडेर कतै जान नपाएका वृद्धवृद्धालाई बुढेसकालमा भएपनि धार्मिकस्थल दर्शन गराउन यो कार्यक्रम आएको हो,’ वडा ९ का वडाध्यक्ष देवेन्द्र शर्माले भने, ‘भर्खरै यहाँका ७० वृद्धवृद्धा धरान, पोखरा, लुम्बिनी, काठमाठौं, चितवन, जनकपुर, मनकामना र पाल्पासमेतको भ्रमण गरेर फर्केका छन्।’
सूर्याेदय–१० का वृद्ध प्रेमबहादुर लेप्चाले जन्मेको ८० वर्षछेउ आएर देश घुम्ने अवसर मिलेका हर्ष सुनाए। ुठाउँ पनि हेरिने, मुख पनि फेरिने भनेर गएको बुढेसकालमा यी आँखाले धेरै नयाँ ठाउँ देखें,’ उनले भने। ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेर वृद्धवृद्धालाई समय बिताउने मेलो पनि नगरपालिकाले टोलटोलमा बनाइदिएको छ। ग्रामीण सडकमा बर्सेनि करोडौं रूपैयाँ लगानी भइरहे पनि वर्षामा गाडी नचल्ने समस्या सबै पहाडी जिल्लाको साझा समस्या छ। तर, सूर्याेदयले गत वर्ष ल्याएको ‘एक वडा एक सडक’ अवधारणा अहिले जिल्लाका सबैजसो पालिकाले सिको गरेका छन्। ‘प्रत्येक वर्ष एउटा वडामा एउटा मात्रै सडक बनाउने तर बाहै्र महिना गाडी चल्ने गरीको बनाउने अवधारणा हो यो,’ मेयर राईले भने।

खानेपानी मुहान बचाउन ‘एक वडा एक पोखरी’ कार्यक्रम ल्याएको नगरले युवा उद्यम विकास कोषबाट युवालाई स्वरोजगार बनाउने कार्यक्रम पनि गरिरहेको छ। सीप भएका १० युवालाई प्रत्येक वर्ष १० लाख रुपैयाँसम्म ऋण दिएर यो कार्यक्रम कार्यान्वयन गर्ने नगरको अवधारणा छ। चार वर्षसम्म ब्याज अनुदानसहित यो कार्यक्रमबाट नगरका युवालाई स्वरोजगार बनाउने प्रयास गरेको मेयर राईले बताए। नगरले अहिलेसम्म २० भन्दा बढी ऐन, निर्देशिका, नियमावली, कार्यविधि बनाइसकेको छ। ऐन, निर्देशिका, नियमावली, कार्यविधिको राजपत्र प्रकाशन पनि सूर्याेदयले नै पहिलोपटक प्रयोगमा ल्याएको थियो। प्रदेश मुख्यमन्त्री राईले सूर्याेदय नगरका कामको प्रशंसा गर्दै भने, ‘जब सर्वसाधारणको घरमा आम्दानी बढ्छ, उसले खान–लाउन पाउँछ, खेतीपातीमा मल–बिउ, प्राविधिक ज्ञान र आवश्यकताअनुसार अनुदान पाउँछ, किसानको उत्पादनले बजार लिन्छ, तब मात्र नागरिकले समृद्धि महसुस गर्छ। देशमा समृद्धि आउँछ।’

प्रकाशित: १० माघ २०७५ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App