coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाइड बडीमा गम्भीर छानबिन : कार्यवाहक प्रधानमन्त्री पोखरेल

पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर - कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी प्रकरणमा गम्भीर छानबिन भइरहेको बताएका छन्। बुधबार हेटौंडामा पत्रकारसँग उनले उच्चस्तरीय आयोगले प्रतिवेदन दिएपछि सरकारले ‘पोजिसन’ लिने खुलासा गरे।

‘हामी प्रक्रियाभन्दा कहिल्यै बाहिर जाँदैनौं,’ उनले भने, ‘आयोगको प्रतिवेदन आएपछि सरकारले उपयुक्त पोजिसन लिन्छ।’ अनियमितता गर्नेहरूसँग आफूहरूले कहिल्यै सौदाबाजी नगर्ने दाबी गर्दै उनले कानुनविपरीत भएका कुनै पनि कार्यमा सरकारले सहमति नगर्ने बताए। डा. गोविन्द केसीका सबै मागका विषयमा प्रतिवेदन आइसकेको बताउँदै उनले प्रतिवेदनअनुसार नै हुने बताए। नेपाली कांग्रेसले गरेको सदनको अवरोध खुलाउने प्रयास भइरहेको बताउँदै पोखरेलले स्वास्थ्य विधेयक निर्माणमा कांग्रेसका प्रतिनिधि पनि सहभागी रहेकाले प्रक्रिया र बिधी मान्नुको विकल्प नभएको दाबी गरे।

सरकारले संसद्को सर्वोच्चता कमजोर बनाउने काम कहिल्यै नगर्ने बताउँदै उनले संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानुनी संरचना नहुँदा कामको गति बढाउन नसकिएको सुनाए। ‘चैतभित्र आवश्यक सबै कानुन निर्माण सकिन्छ,’ उनले थपे, ‘त्यसपछि सरकारको कामले तीव्रता पाउनेछ।’ पार्टी कार्यकर्तासँगको छलफलमा पोखरेलले जिल्ला तहको पार्टी एकता चाँडै सकिने बताए। ‘माघ महिनाभित्र जिल्ला तहको पार्टी एकता टुङ्ग्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘सबैले जिम्मेवारी पाउनुहुन्छ, छिट्टै नै एकता प्रक्रिया टुंगो लगाउनेछौं।’

३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडालाई नै बनाउन कार्यकर्ताले गरेको मागबारे उनले घुमाउरो शैलीमा उत्तर दिएका थिए। ‘यसबारे मैले बोल्न मिल्दैन, व्यवहार हेर्नुहोस्।’ सुरक्षा संयन्त्रको बैठकमा भाग लिन हेटौंडा आएका उनले भने, ‘आँखा झिम्क्याएपछि कुरा बुझ्नुपर्छ, मैले यसबारे बोलिरहनै पर्दैन।’

प्रकाशित: १० माघ २०७५ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App