७ वैशाख २०८१ शुक्रबार
समाज

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

गत सोमबार काठमाडौँ सामाखुशी रोममार्गस्थित नवराज विक्रम कुँवरको घरमा सुनसरी धरान जिमिचोकका सञ्जीव राईले भाडामा लिएको घरको एउटा कोठामा ती भारतीहरुले अवैध भिओआइपी सञ्चालन गरिरहेको बेला पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए। प्रहरीले उक्त कार्य सञ्चालन गर्ने उपकरणसमेत बरामद गरेको छ।

उनीहरूबाट १ सय २८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टिप्लक १ थान, युपिएस १ थान बरामद गरेको छ। यस्तै नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाइल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको छ।

अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत् ल्याउने, भारतबाट उपकरण ल्याउने, विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने, अनलाइनमार्फत् सम्पर्क गरी कोठा भाडामा लिने, उनीहरुमध्ये १ जनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी उक्त कार्य सञ्चालन गर्ने योजनामा उनीहरू रहेको खुल्न आएको सिआइबीले जनाएको छ। पक्राउ परेकाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। अवैध भिओआइपीविरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०७ स्थानमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३६ गरी १६६ जनालाई पक्राउ गरिएको छ।

प्रकाशित: १० माघ २०७५ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App