७ वैशाख २०८१ शुक्रबार
भिडियो

यस्तो छ रामबहादुर बम्जनको तोड्केभिर आश्रम (भिडियो)

बाँडेगाउँ (सिन्धुपाल्चोक) - बाँडेगाउँको तोड्केभिर । नाम जस्तै तोड्केभिर डर लाग्दो छ । एक्लै–दुक्लै हिँड्न साहसै बटुल्नु पर्ने । मोटरबाटो पुग्ने अन्तिम बस्ती थलडाँडाबाट चिलाउने र ढाल्नेका घना जंगल छिचोल्दै झण्डै २० मिनेट ओह्रालो हिँडेपछि भेटिन्छन् जस्ताले बनेका अस्थायी संरचना ।

वारिपारी कटैबाट नदेखिने खोँच र कोल्टेमा भेटिने ती संरचना कुटी जस्तै देखिन्छन् । तोड्केभिरका यी कुटी यतिबेला नेपाल प्रहरीको केन्द्रविन्दुमा छ । पछिल्लो दुई सातायता तोड्केभिर नेपालभरि सुनिने नाम बनेको छ । यही हो तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रम । अनुयायी हत्या, बलात्कार, हिंसा र बेपत्ताको दुस्चक्र रचिएको थलोको रुपमा पछिल्लो समय यो आश्रम विवादित र बदनामित बनेको छ । 

बम्जनका विभिन्न आश्रमबाट पाँच अनुयायी बेपत्ता भएको भन्दै पीडितका आफन्तले सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, बारा र सर्लाही जिल्ला प्रहरीमा जाहेरी दिएका छन् । तीमध्ये तीन अनुयायी यही आश्रमभित्रबाट हराएको दाबी परिवारजले गरेका छन् । त्यति मात्र होइन मकवानपुर हेटौँडाको बनस्पति टोल घर भएका चेला सञ्चलाल वाइबाको टोड्केभिर आश्रममै हत्या गरिएको सार्वजनिक भएको छ । 

उनै सञ्चलालको अनुसन्धानमा यो आश्रम यतिबेला प्रहरीको उच्च निगरानीमा छ । सार्जजनिक खबर अनुसार उनको शब यही आश्रमभित्रै गाडेर दबाइएको छ । त्यसैले सम्भावितस्थल उत्खनन् गर्ने, आश्रममा रहेका अनुयायीसँग सोधपुछ गर्ने, बेपत्ता र हत्याका सम्वन्धमा अन्य प्रमाण जुटाउने प्रयोजनका लागि आश्रम प्रहरीकै नियन्त्रणमा छ ।

अहिले बम्जन यहाँ बस्दैनन् । पछिल्लो समय उनी सिन्धुलीस्थित आश्रममा बस्दै आएका छन् । यहाँ बम्जनले दुई वर्षभन्दा बढी समय बिताएका थिए । २०७० असोज ४ गते यहाँ आइपुगेका बम्जन २०७२ वैशाख १२ को भूकम्पको केही महिनापछि यो आश्रम हिँडेका थिए । घना जंगलबीच झण्डै ८० रोपनी जमिनमा फैलिएको आश्रममा आठ जस्ताको टहरा छन् । 

काँडेतारले घेराबार लगाइएको आश्रमभित्रको सबैभन्दा माथिका टहरामा अनुयायी बस्छन् । बीचमा छ भान्छा र सभाहल जस्तो अलि ठूलो टहरो । त्यसमूनि बम्जन बस्ने कुटी छ । जुन अरु टहराभन्दा निकै व्यवस्थित देखिन्थ्यो । सबैभन्दा अन्तिममा बम्जनको सुरक्षामा खटिने चेलाहरु बस्ने टहरो रहेछ । आश्रममा १४ पुरुष अनुयायी भेटिए । हत्या र बेपत्ता भएको भनिएको समयका सात अनुयायी अझै यहीँ रहेछन् । बस्तीबाट टाढा र प्रवेश निषेध रहेकाले आश्रमभित्र हुने गतिबिधिबाट स्थानीय बेखबर छन् । यहाँभित्र हुने गतिविधिबारे कोही जानकार छन् भने ती हुन्–उनै बम्जन र उनका अनुयायी ।

प्रकाशित: ९ माघ २०७५ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App