८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णालीको नाङ्गो छाती र भोको पेट हेरेर कर्तव्य पूरा गर्नुहोस् : मुख्यमन्त्री शाही

फाइल तस्बिर

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनको समयसीमासहितको कार्ययोजना तीन दिनभित्र पेश गर्न विषयगत मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहीले विकास बजेट खर्च हुन नसकेको बताउँदै यसका चुनौति र समाधान गर्नुपर्ने पक्षसहित समेटेर तीन दिनभित्र कार्ययोजना पेश गर्न सचिवहरुलाई निर्देशन दिएका हुन्।

मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनतर्फ ध्यान दिन सचिवहरुलाई निर्देशन दिए। बुधबार छ वटै मन्त्रालयका सचिवहरुलाई बोलाएर मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको छ महिना पूरा हुँदा पनि विकास बजेट खर्च हुन नसकेको भन्दै बजेटको कार्यान्वयनमा तिब्रताका साथ लाग्न निर्देशन दिएका हुन्। ‘चालू आर्थिक वर्षको छ महिना पूरा हुँदा पनि विकास बजेट खर्च हुन सकेको छैन्’ मुख्यमन्त्री शाहीले भने, ‘अव सम्पूर्ण ध्यान बजेट कार्यान्वयनमा केन्द्रीत गर्नुहोस्।’

मुख्यमन्त्री शाहीले जनताले प्रक्रियासँग नभएर परिणामसँग सरोकार राख्ने भएकाले परिणाम आउने गरेर बजेट कार्यान्वयन गर्नुपर्ने बेला आएको बताए। ‘जनतालाई प्रक्रियासँग होइन्, परिणामसँग सरोकार हुन्छ’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारको सोच बमोजिम जनताले अनुभूति गर्ने गरेर परिणाममुखी काम गर्नुहोस्।’

प्रादेशिक संरचना नयाँ भएको र कुनै पनि संरचना नभएको अवस्थामा प्रदेश सरकारको संस्थागत गर्न सचिवहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए। कर्मचारी समायोजनपछि सरकार अझै व्यवस्थित हुने अपेक्षा गर्दै मुख्यमन्त्री शाहीले समायोजनको पत्र हातमा नपरुञ्जेल मन्त्रालयको काममा दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई आग्रह पनि गरे। ‘कर्णालीको नाङ्गो छाती र भोको पेट हेरेर राष्ट्रसेवक हुनुको कर्तव्य पूरा गर्नुहोस्’ उनले भने।

छ वटै मन्त्रालयका सचिवहरुले मुख्यमन्त्री शाही समक्ष बजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाइएको, योजना छनौटको लागि सूचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौता भई कार्यान्वयनमा रहेको लगायतका विषयहरु समेटेर प्रगति प्रतिवेदन बुझाएका थिए। सचिवहरुले प्राविधिक जनशक्तिको अभाव, ऋण र आन्तरिक राजश्वमा रहेको बजेटको श्रोत सुनिश्चित नभएकाले काम गर्न समस्या रहेको बताए। 

 

प्रकाशित: ९ माघ २०७५ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App