७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

क्यानेडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र

माइकेल कोभरिग (बायाँ) र माइकल स्पाभोर। तस्बिर : द न्युयोर्क टाइम्स

बेइजिङ – करिब सय जना पूर्वकूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानेडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन्। चीन सरकारले दुई क्यानेडेली नागरिकलाई चीनविरुद्ध गुप्तचरी गरेको आरोपमा पक्राउ गरेको छ। चिनियाँ सुरक्षाविरुद्धमा सूचना चुहाएको भन्दै चीनले उनीहरुलाई थुनामा राखेको हो।

क्यानेडेली पूर्वकूटनीतिज्ञ माइकेल कोभरिग र व्यापारी माइकल स्पाभोर चीन सरकारको नियन्त्रणमा रहेका छन्। उनीहरुलाई गत डिसेम्बर १० मा चीनमा पक्राउ गरिएको थियो। उनीहरुलाई चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकाको अनुरोधमा क्यानडामा गरिएको पक्राउको बदलास्वरुप पक्राउ गरिएको अनुमान गरिएको छ।

इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीको हुवावेले उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकाले क्यानडालाई मेङलाई पक्राउ गर्न आग्रह गरेको थियो।  सोही आग्रहबमोजिम नै क्यानडाले हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङलाई पक्राउ गरेको थियो। अमेरिकाले लगाएकाआरोप हुवावेले अस्वीकार गरिरहेको छ।

अंग्रेजी र चिनियाँ भाषामा राष्ट्रपति सीलाई लेखिएको पत्रमा हाल चीनको थुनामा रहेका ती दुई क्यानेडेली नागरिकले चीनको बारेमा अध्ययन गरी बेइजिङको विश्वसँगको सम्बन्धमा थप सहयोग पुर्याएको दाबीसमेत गरिएको छ।

राष्ट्रपति सीलाई सो पत्र विश्वका १९ देशका एक सय ४३ जना पूर्वकूटनीतिज्ञ र प्राज्ञहरुले लेखेका हुन्। उनीहरुले सो पत्रमा हाल थुनामा राखिएका दुई क्यानेडेली नागरिकले रचनात्मक कार्य गर्दागर्दै पनि पक्राउमा परेकाले अब चीनमा बसेर यस्तै काम गर्न पनि जोखिम रहेको भन्ने सन्देश दिएको जनाइएको छ।

मेङलाई गत डिसेम्बरमा पक्राउ गरिएपछि चीन र क्यानडाको सम्बन्धमा ठूलो तनाब उत्पन्न भएको छ। यस्तै तनाबकैबीच थप दुई क्यानेडेली नागरिक चीनमा पक्राउ परेका छन्। यसरी यी दुई देशबीच कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको समयमा यो पत्र सार्वजनिक भएको छ।

प्रकाशित: ९ माघ २०७५ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App