coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपात आर्थिक उपार्जनको आधार

तस्बिरः बिष्णु/नागरिक

डोल्पा – यस वर्ष दोस्रो पटक परेको भारी हिमपातले डोल्पालीले आफ्नो आर्थिकोपार्जनमा सहयोग पुग्ने बताएका छन्। पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई डोल्पालीले शुभ वर्षको रुपमा लिने गर्छन।

विगतमा थोरै मात्रामा  हिउँ परेकोमा यो वर्ष भने सदरमुकाम दुनै मै २ देखि ७ इन्चसम्म हिउँ जमेपछि डोल्पालीले आम्दानी मौसमको रुपमा हिमपातलाई लिने गरेका हुन्। घरआगनमै हिउँ सेताम्य भएपछि आगामी वर्ष यार्सागुम्बा लगायतका बहुमुल्य जडिबुटी राम्रोसँग उम्रने भएकाले डोल्पाली हिमपातबाट औधी खुशी भएका छन्।

डोल्पा नेपालका धेरै जिल्लामध्येमा राम्रो र गुणस्तरीयका साथै ठुलो मात्रामा बहुमुल्य जडिबुटी यार्सागुम्बा लगायतका जडिबुटी पाइने  भण्डार क्षेत्रको रुपमा चिनिन्छ। डोल्पाका यार्सागुम्बा पाइने क्षेत्र त्रिपुरासुन्दरी नगरपालिका बन क्षेत्रमा पर्ने भाँङका, भोक्पा, वाटुली पाटन, जगदुला गाउँपालिकाको टाँगटुगे पाटन, ठुलीभेरी नगरपालिकामा पर्ने माझफालको पोकेपानी, तरपरे, बाँगडाँडा, ओपा, ठाँगे, ग्यालवारा, रातोमाटे रुपपाटन लगायत कुनासा, धो सागर, छ्योर लगायतका २ दर्जन पाटनहरूमा ६ देखि १५ इन्च त कतै ३ देखि ४ फुटसम्म हिउँ जमेको छ।

माघ महिनामा परेको हिउँ वैशाखको अन्तिम सातातिर पग्लने र जेठको दोस्रो साताबाट यार्सागुम्बा टिप्ने कार्य सुरु हुने र हिउँ परेको वर्षमा यार्सागुम्बाको उत्पादन पनि बढि नै हुने गरेको माझफालका युवा योगेन्द्र बुढाले बताए। हिमपातले अत्याधिक जाडो र कष्टकर बनाउने गरेपनि आगामी जेठमा यार्सागुम्बाबाट वर्षभरीको खर्च कमाउन पाइने भएकाले हिमपातलाई शुभ मौसमको रुपमा आफूहरूले लिने गरेको बुढाको भनाई छ।

यार्सागुम्बा मात्र नभएर पाँच औले, भुल्ते, सेतोचिनी लगायतका जडिबुटीको उत्पादन र लागाएको बर्खे अन्नबाली जौ, गहुँ, आलु, उवा लगायतको उत्पादन वृद्धिमा हिमपातले सहयोग गर्ने स्थानीय तथा कृषि प्राविबधिक रत्नप्रसाद न्यौपाने बताउँछन्।  सिमा क्षेत्रमा समेत यो पटक भारी हिमपात भएपछि जुम्ला डोल्पा र मुगुबीचको पैदल मार्ग बन्द भएको छ। मंगलबार बिहानैदेखि घरहरू समेत डुम्ने गरि परेको भारी हिउँ घरको छत र आगनबाट फाल्न डोल्पालीलाई धौ धौ परिरहेको छ।

जुफालको विमानस्थलमा बाग्लो हिउँ जमेपछि बुधबार पनि नेपालगन्ज र सुर्खेतबाट हुने कुनै पनि हवाई उडान नभएको र राम्रोसँग घाम लागेर हिउँ नपग्लेसम्म उडान हुने सम्भावना नभएको नेपाल नागरिक उड्डयान डोल्पाका प्रमुख बालकुमार सिँहले बताए। त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ र ठुलभेरी नगरपालिका वडा ७ जुफाल लगायत तल्लो र उपल्लो डोल्पामा रहेका नेपाल टेलिकमका मोवाइल टावरमा समेत हिउँ जमेपछि उक्त क्षेत्रमा मोवाईल सेवा अवरुद्ध बनेको छ।

प्रकाशित: ९ माघ २०७५ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App