coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पुल निर्माण नहुँदै उद्घाटन

धरान–इटहरी सडक खण्डको सेउती पुलका खाल्डाखुल्डी पुर्दै। तस्बिर : नागरिक

इटहरी - कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।

‘पुलबाट गाडी हिडिरहेका छन्, डकुमेन्टमा पुल फाइनल भएको छैन, अझै केही काम गर्न बाँकी नै छ,’ सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले भने, ‘तर, अचम्भ लाग्दो कुरा त दुई वर्षअघि नै औपचारिक रुपमै पुलको उद्घाटन भएको रे।’ पुलको उद्घाटन त्यतिबेलाका भौतिक योजना तथा निर्माणमन्त्री बिमलेन्द्र निधिले गरेका थिए। सेउती पुल निर्माणका लागि मैना चुली कन्स्ट्रक्सनले २०६५ असार २९ गते दुई वर्षभित्रमा पूरा गर्ने गरी चार करोड ८६ लाख ४६ हजार सात सय सात रुपैयाँ ९५ पैसामा ठेक्का लिएको थियो। तर, अहिलेसम्म पनि काम पूरा भएको छैन। सडक डिभिजन कार्यालयले काम पूरा भएपछि सर्टिफिकेट दिनुपर्नेमा त्यो पनि दिएको छैन।

‘पुलमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको खतरा हुने गर्छ,’ इटहरी घर भएका विद्यार्थी नेता टंक दाहालले भने, ‘सरकारी नियमनकारी निकायले सेउती पुललाई ध्यान दिएर खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्छ।’ नियमनकारी निकायलाई दबाब दिएकै कारण सोमबारदेखि खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ। तर, त्यो कामलाई ठेकेदारले नगरेपछि सडक डिभिजन कार्यालयले नै थालेको हो। ‘ठेकेदारले नगरेपछि आफैं गर्न थालिएको हो,’ सोमबार दिउँसो सडक डिभिजन कार्यालयका सुपरभाइजर गणेश कोइरालाले भने, ‘यसअघि पनि खाल्डाखुल्डी पुर्ने काम गरिएको थियो।’ पुलको भागमा भएका खाल्डाखुल्डी पुर्ने काम भए पनि झारा टार्ने ढंगले मात्र गरिएको  छ। सिमेन्ट बालुवामा मुछेर खाल्डा भरे पनि सवारीसाधनको आवागमनले गर्दा केही छिनमै त्यो भत्किने गरेको छ।  

सेउती पुल मर्मत गर्नुका साथै पूर्ण रुपमा पूरा गर्न सडक विभागले पनि विराटनगर कार्यालयलाई पत्रचार गरेको छ। ठेकेदार कम्पनीका विमल अधिकारीले भने पुल निर्माण पूरा भए पनि सर्टिफिकेट भने लिन नपाएको जिकिर गरे। ‘मर्मतको काम पूरा गरिहाल्छौं,’ उनले भने, ‘अहिलेसम्म त सडक डिभिजन कार्यालयबाट त्यस्तो ताकेता त आएको छैन।’ चालु आर्थिक वर्षका लागि सेउती पुलका लागि आएको एक करोड २० लाख रुपैयाँ बजेटले मोरङ रंगेली हुँदै रतुवामाई जोड्ने बक्राहा पुल मर्मत र पर्खाल लगाउन केही पैसा खर्चिएको जानकारी दिइयो। सडक विभागले बर्सेनि पुल मर्मत गर्नका लागि निश्चित रकम छुट्याउने गरेको छ।

त्यसो त सेउती पुलसँगै सुनसरी–मोरङका केही पुल निर्माण गर्ने समय सकिए पनि पूरा गरिएको छैन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने सुनसरीको भण्टाबारीको पुल २०६९ चैत ६ गते ठेक्का लागेर २०७२ चैत ६ मा सकिनुपर्ने सहमति छ। तर, अहिलेसम्म ५० प्रतिशत मात्र काम पूरा भएको छ। भण्टाबारीको पुल निर्माणका लागि अरनीको वान्ती जेभीले ठेक्का लिएको हो। यसैगरी, भित्री सडक खण्डमा पर्ने सुनसरी–मोरङ जोड्ने बुढीखोला नदीमा बासवारी सिमरिया पुलको काम २०७४ कात्तिक ३० गतेभित्र पूरा हुनुपर्नेमा अहिलेसम्म आधा मात्र काम पूरा भएको छ। गाडी गुड्ने पार्ट पूरै निर्माण गर्न बाँकी छ।

सुनसरीकै इनरुवा दक्षिणतर्फको ज्वाला खोलाको पुल पनि २०७४ फागुन १४ मा पूरा हुनुपर्नेमा भएको छैन। यो पुलको ठेक्का लुम्बिनी–विशाल जेभीले लिएको हो। मोरङ रतुवावाइको कटनु खोलाको पुल पनि २०७४ वैशाख १ गते पूरा हुनुपर्नेमा अहिले काम भइरहेको छ। यो पुल निलगिरी निर्माण सेवाले ठेक्का लिएको थियो। सुनसरीकै बर्जुको धमना खोला र मोरङको जुडीखोला पुल पनि निर्माण पूरा गर्ने समयावधि कटिसकेको छ। मोरङको भौडाहा–कटहरी सडक खण्डको जुडीखोला पुल ६ वर्षअघि नै ठेकेदार कम्पनीले निर्माण पूरा गर्नुपर्ने हो। ठेकेदारकै लापरबाहीले गर्दा ढिलाइ भएको हो।

पुलसँगै धरान–भेंडेटार सडक खण्डमा पर्खाल र पिच गर्नका लागि दुई करोड ३० लाख रुपैयाँमा सडक डिभिजन कार्यालयले ठेक्का लगाए पनि अहिले ठेकेदार नै गायब भएका छन्। ठेकेदार अनुज भट्टराई गायब भएको डिभिजन कार्यालय विराटनगरका प्रमुख न्यौपानले जनाए। यो सडक गालमा–ओम कन्स्ट्रक्सनले ठेक्का लिएको थियो। सडक डिभिजन कार्यालयले ठेकदार कम्पनीले सुरुवातमा काम नगर्ने र समय गुज्रिएपछि हतारो गर्ने गरे पनि अब कडाइ गर्न थालिएको प्रमुख न्यौपानले बताए। ‘समयमा काम पूरा नगर्नेलाई ताकेता गर्दा कतिपयले काम गरिरहेका छन् त कतिपय भने अझै फर्किएका छैनन्,’ उनले भने, ‘केही स्थानका पुल पनि डिजाइन परिवर्तन गर्नाले ढिलाइ भएको हो।’

प्रकाशित: ९ माघ २०७५ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App