coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चितवनमा कृषि प्रदर्शनी आयोजना गरिने

कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी। तस्बिर: सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा तेस्रो कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो। यसअघिका वर्षमा कृषि प्रदर्शनी काठमाडौं आयोजना गरिँदै आएको थियो।

नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य संघ चितवन लगायत संघसंस्थाको सहकार्यमा चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको हो। प्रदर्शनी केन्द्र अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार बनेकाले केन्द्रमा प्रदर्शनी आयोजना गर्न लागिएको मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए। कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। प्रदर्शनी माघ ११, १२ र १३ गते आयोजना हुँदैछ। प्रदर्शनीमा नेपाल, भारत, चीन, इजरालय, मलेसिया, इटली पोल्यान्ड, अर्जेन्टिना लगायत १५ देशका कृषि र कृषि प्रविधि सम्बन्धी स्टल राखिने उनले जानकारी दिए। एक सय ५० स्टल रहने प्रदर्शनीमा आधा नेपाली र आधाजसो विदेशी स्टल रहने उनको भनाइ छ। कुखुरापालन, माछापालन, बाख्रपालन, गाईभैंसीपालन, खेतीलाई व्यावसायिकरण गर्नेसँगै कृषि कार्यमा प्रयोग गरिने औजार र आधुनिक प्रविधिबारे प्रदर्शनीबाट जानकारी लिन सकिने उनले बताए।

‘कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत हुने साना औजारसँगै उद्योगमा प्रयोग हुने उपकरण प्रदर्शनीमा राखिनेछ,’ उनले भने, ‘नेपालको कृषिलाई यान्त्रीकरणमा लैजान प्रदर्शनीबाट सहयोग हुनेछ।’ प्रदर्शनीमा १५ देशका करिब चार सय ब्रान्डका औजार, उत्पादन, उपकरण लगायतको सहभागिता रहने उनले जानकारी दिए। यसअघि निर्माणधीन क्रममा रहेको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक प्रदर्शनी, आइटी एक्स्पो, इक्यान, पोल्ट्री एक्स्पो आयोजना भइसकेका छन्।

अन्तर्राष्ट्रिय एक्स्पोलाई लक्षित गरेर नै प्रदर्शनी केन्द्र निर्माण गरिएको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी बताउँछन्। अन्तर्राष्ट्रिय प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन लाखौं रुपैयाँ खर्च गरेर विदेश जाने क्रम यस्ता प्रदर्शनी जिल्लामा हुँदा रोकिने उनले बताए। कृषि उत्पादनमा आत्मनिर्भर हुन समेत सहयोग पुग्ने उनको भनाइ छ।

प्रदर्शनीमा देशका विभिन्न स्थानबाट किसान, कृषि उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी अवलोकनका लागि आउने सोलुसन्सका प्रबन्ध निर्देशक भट्टराई बताउँछन्। भारत, जापान लगायत देशबाट पनि अवलोकनकर्ता आउने उनले बताए। धेरै जनसंख्या कृषिमा निर्भर भए पनि कृषि उत्पादन विदेशबाट आयात गरेर प्रयोग गर्नुपर्ने अवस्था रहेको चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल बताउँछन्। कृषिमा अगाडि रहेका जिल्लाको भूमिका उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने रहेको उनले बताए।

‘पछिल्लो पाँच महिनामा मात्रै ७९ अर्बको कृषिजन्य उत्पादन आयात गरिएको छ,’ उनी भन्छन्, ‘यस्ता प्रदर्शनीले स्वदेशमै उत्पादन बढाउन र उत्पादनमा आधारित उद्योग बढाउन सहयोग हुन्छ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल पोल्ट्री महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समूह महासंघ लगायत संघसंस्थाको सहयोगमा प्रदर्शनी आयोजना हुन लागेको हो। प्रदर्शनीका क्रममा मल, बीउबीजनसँग सम्बन्धित कार्यशाला समेत सञ्चालन गरिनेछन्। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ।

प्रकाशित: ९ माघ २०७५ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App