coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थमा सामाजिक संजाल चलाउन राेक

काठमाडौं – अर्थ मन्त्रालयले आफू मातहतका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाएको छ। मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गर्दै कर्मचारीमाथि कडाइ गरेको हो।

मन्त्रालयले पुस ३० गते अर्थमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट लागू गरेको कर्मचारी आचारसंहितामा सामाजिक सञ्जालको मर्यादित प्रयोगसम्बन्धी बुँदा अन्तर्गत कर्मचारीले कार्यालय समयमा मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न नहुने उल्लेख छ।

त्यस्तै, कार्यालय समयबाहेकको अवधिमा फेसबुक, ट्विटर, ह्वाट्सएप लगायत सामाजिक सञ्जल प्रयोग गर्दासमेत सेवाको मर्यादा ख्याल गर्नुपर्ने, सामाजिक सञ्जालमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, विभिन्न समुदाय, व्यक्ति, संस्थाको आपसी सम्बन्धमा प्रतिकूल असर पार्ने प्रकृतिका धारणा एवं राजनीतिक पूर्वाग्रहयुक्त टिकाटिप्पणी गर्न नपाउने प्रावधान आचारसंहितामा छ।

सरकारी कामका लागि सरकारी इमेल मात्र प्रयोग गर्नुपर्ने, मन्त्रालयका निर्णय वा सूचना अनधिकृत रुपमा सामाजिक सञ्जालमा राख्न नहुने, मन्त्रालयका निर्णयउपर कुनै पनि व्यक्ति वा समूह वा संस्थाको नामबाट अनावश्यक दबाब गर्न–गराउन नहुने लगायत बुँदा आचारसंहितामा छ।

त्यसैगरी, कर्मचारीले मन्त्रालयसँग सम्बन्धित सूचना माथिल्लो अधिकारीको आदेश बेगर अरु कसैलाई दिन तथा गलत विवरण राखेर सूचना प्रवाह गर्न रोक लगाइएको छ। माथिल्लो अधिकारीको स्वीकृति बेगर सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई आफ्नो कार्यको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट गर्न नहुने, व्यक्तिगत लाभ लिने उद्देश्यले कार्यस्थलबाहेक अन्य स्थान वा कसैको निवासमा भेटघाट गर्न नहुने जस्ता बुँदा आचारसंहितामा समेटिएका छन्। 

आचारसंहिता अनुसार अब माथिल्लो अधिकारीको स्वीकृतिबिना कर्मचारीले विदेश भ्रमण, तालिम वा कार्यशाला गोष्ठीमा भाग लिन पाउने छैनन्। कर्मचारीले दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार गर्न तथा आफ्ना परिवार वा नातेदारलाई छात्रवृत्ति वा यस्तै प्रकारको अन्य सहयोग माग गर्न वा स्वीकार गर्न नहुने आचारसंहितामा छ।

कर्मचारीले कार्यालय, होटल, रेस्टुरेन्ट तथा अन्य सार्वजनिक स्थलमा अस्वाभाविक वा भड्किलो व्यवहार प्रदर्शन गर्नसमेत नपाउने व्यवस्था गरिएको छ। कर्मचारीले विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य गर्दा मितव्ययी र सभ्य व्यवहार प्रदर्शन गर्नुपर्नेछ। कर्मचारी राजनीतिक रुपमा तटस्थ रहनुपर्ने, लोकतान्त्रिक मूल्य मान्यताको अनुशरण गर्नुपर्ने, निष्पक्ष रुपमा कार्यसम्पादन गर्नुपर्ने लगायत बुँदा आचारसंहितामा छन्।

कर्मचारीको व्यक्तिगत तथा सामूहिक आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवं सेवामूलक बनाई समग्र मन्त्रालयको कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको अर्थ मन्त्रालयले जनाएको छ। आचारसंहिताले कर्मचारीको आचरण र व्यवहारलाई सदारचारयुक्त, सहयोगी सेवामुखी, अनुशासित, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्रालयको दाबी छ।

प्रकाशित: ९ माघ २०७५ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App