coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीवित हुँदै अंगदान गरे प्रभावकारी

काठमाडौं - मरेपछि आँखा दान गरे बाँचेकाले जीवन पाउँछन् भन्ने धेरैलाई थाहा छ र पछिल्लो समय आँखाको नानीदान गर्ने चलन पनि बढेको छ। मस्तिष्क मृत्यु हुने क्रममा रहेको आफ्नो शरीरको मुटु, कलेजो, मिर्गौला, फोक्सो र आन्द्रा पनि दान गर्न मिल्छ। यो दान गरेका अंगबाट अरुले नयाँ जीवन पाउँछन् भन्ने कुरा सबैलाई थाहा छैन।

चिकित्सका अनुसार कुनै पनि व्यक्तिले सडक दुर्घटना वा गम्भीर रोगको कारण मस्तिष्क मृत्यु भएको अवस्थामा मरणोप्रान्त अंगदान गर्न मिल्छ। चिकित्सक तथा अस्पतालले ब्रेन डेथ घोषणा गरेको अवस्थामा बिरामीले पहिल्यै मरणोपरान्त अंगदान गरेको अवस्थामा र परिवारका सदस्यले अनुमति दिएको अवस्थामा मस्तिष्क मृत्यु भएका मानिसहरुको अंग निकाल्न मिल्छ। यस्ता व्यक्तिबाट आँखा, मिर्गौला, कलेजो मुटु, फोक्सो, ठूलोआन्द्रा, सानोआन्द्रालगायतका अंग निकाल्न मिल्छ। यी अंग आवश्यक भएका बिरामीहरुमा प्रत्यारोपाण गरी अरुलाई जीवन दिन सकिन्छ। सबैले यो कुरा नबुझका कारण नेपालमा धेरै बिरामीले अंग फेर्न नपाएको अंग प्रत्यारोपणका चिकित्सकले जनाएका छन्। मंगलबार राजधानीमा भएको एक समारोहमा शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले धेरै बिरामी शरीरको विभिन्न अंग पाउने आशामा रहे पनि केन्द्रले समयमै दिन नसकेको बताए। ‘हामी सित थुप्रै जना मृत्यु हुँदै गरेका मानिसको अंग पाउने पर्खाइमा छन् तर त्यस्ता व्यक्तिले अंग दिन नमान्दा संकलन हुन सकेको छैन,’ निर्देशक श्रेष्ठले भने।

नेपालमा केही बुझेका मानिसले अंग दान थालिसेका छन्। तर अधिकांश मानिसले अंग दान नगरेका हुनाले अंग संकलन हुन सकेको छैन। पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, पूर्वमन्त्री उपेन्द्र महतो, पूर्वस्वास्थ्य सचिव डा. प्रविण मिश्रलगायतले आफ्नो अंगदान गरिसकेका छन्। समाजमा अंगदान गरेपछि अरुले पाउँछन् र अरुको जीवन बचाउन सकिन्छ भन्ने कुरा नबुझेको कारण अंगदान हुन नसकेको डा. श्रेष्ठले बताए। नेपालमा विगत चार वर्षदेखि बे्रनडेथ भएका (मस्तिष्क मृत्यु भएका मानिसहरु) अंग निकाल्न मिल्ने कानुन बनेको छ। मानिसहरुले मरणोपरान्त अंगदानको विषयमा नबुझेकै कारण कार्यान्वयनमा चुनौती बनेको चिकित्सकले जनाएका छन्।

नेपालमा विगत दश वर्षदेखि अंगप्रत्यारोपण भइहरेको छ। जसमा आँखा, मिर्गौला, कलेजोलगायतका अंग प्रत्यारोपण भइरहेको छ। शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले मरणोपरान्त अंग दानको अभावमा अहिलेसम्म तीन वटा मात्र बे्रनडेथ मिर्गौला प्रत्यारोपण भएको जनाएको छ। तर केन्द्रमा ६० जना मिर्गौला पाउने पखाईमा तयारी अवस्थामा छन् भने ३ सय ५० जना मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामी पर्खाइमा छन्। नेपालमा प्रतिवर्ष १ हजार सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ। दुर्घटनामा परेर जीवन गुमाउनेहरुको अंगदान हुनसकेमा नेपालमा अंगको पर्खाइमा रहेका बिरामीहरुले जीवन पाउनसक्ने चिकित्सिकहरुको सुझाव छ। ‘यसको लागि सबैको चेतना हुनुपर्छ,’ केन्द्रका निर्देशक डा. श्रेष्ठले भने। नेपालमा भने मिर्गौला र कलेजोको मात्र अंगप्रत्यारोपण भइरहेको र भविष्यमा अन्य अंगहरुको समेत प्रत्यारोपण गरिने केन्द्रले जनाएको छ।

चितवनमा औषधि, प्रविधी र स्वास्थ्य प्रदर्शनी
नेपाल औषधि उत्पादक संघले पहिलो पटक उपत्यकाबाहिर स्वास्थ्य तथा औषधि प्रदर्शनीको आयोजना गर्दैछ। सातौं स्वास्थ्य तथा फार्मा प्रदर्शनी उपत्यकाबाहिर पहिलो पटक गर्न लागिएको संघले मंगलबार जनाएको छ। मंगलबार पत्रकार सम्मेलन गरी संघले तीन दिनसम्म हुने सो प्रदर्शनीमा नेपालका औषधि कम्पनीले उत्पादन गरेका औषधि तथा औषधि उत्पादनमा समावेश भएका आधुनिक प्रविधि, प्रक्रियाका सामग्री, औषधि कम्पनीहरु समावेश हुनेछन्।
नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि, यसमा अपनाइएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिन, नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन, अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक फर्मासिष्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीन ज्ञान दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको संघले जनाएको छ।

प्रर्दशनीमा २ सय स्टल रहने, औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय, १० वटा चिनियाँ कम्पनी र निजी क्षेत्रका १० वटा औषधी कम्पनीले भाग लिनेछन्। प्रदर्शनीमा १० वटा अस्पताल, प्रविधिक सेमिनार पनि हुनेछ।

प्रदर्शनीमा आवद्ध संस्थाहरुमा औषधि व्यवस्था विभाग, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल औषधि व्यवसायिक संघ, नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्यिूटिकल एसोसिएसन र ग्राजुएट फर्मासिस्ट एसोसिएसन, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्यूट अफ नेपाल रहेका छन्। पहिलो पटक काठमाडौं बाहिर हुने सो प्रदर्शनीमा मरणोपरान्त अंगदानको सामाजिक अभियान पनि हुनेछ। अभियानमा करिब १ हजारलाई अंगदानको फारम भराइने र ५० हजार जनाले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा राखिएको छ।

प्रकाशित: ९ माघ २०७५ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App