लोकतान्त्रिक विकल्पको सपना

बुधबार, ०९ माघ २०७५, १० : ०९ पुरुषोत्तम दाहाल

नेपाली राजनीतिमा बिस्तारै तेस्रो विकल्पको सपना तुहिन लागेको छ। सपना देख्नेहरूले सोचेजस्तो विकल्पका सम्भावना अत्यन्त कमजोर जगमा अडिएको देखिँदैछ। दुईजना युवाले संयुक्त अभियानका रूपमा एक वर्षपहिले खडा गरेको विवेकशील साझा पार्टी दुई चोइटा हुन पुगेपछि त तेस्रो विकल्पको प्रश्न आफैँमा ओझेलमा परेको छ। नेपाली राजनीतिमा लोकतान्त्रिक नेतृत्वको इतिहास नेपाली कांग्रेससँग मात्र छ। उसलाई चुनौती दिने अर्को लोकतान्त्रिक राजनीतिक दलको उदय भएको छैन। बीचमा आएका दल त्यसै बिलाएर समाप्त भए। डा. डिल्लीरमणले धान्न प्रयास गरेको राष्ट्रिय कांग्रेस होस् कि टंकप्रसाद आचार्यका नाउँमा पछिसम्म रहेको नेपाल प्रजापरिषद्, यी सबै इतिहासका पानामा विश्राम लिन पुगेका छन्। अरु दल त आए गए। वि.सं. २०४६ को परिवर्तनको उत्साहमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी चोइटिँदै, मिल्दै अन्धकारको जंगारमा हराएको बटुवा जस्ता त्यसका चोइटा हुन पुगेका छन्। उनीहरूले पनि एकताका लोकतान्त्रिक विकल्पको नारा खुब दिएका थिए। उनीहरूको त्यो नारा प्रजनन क्षमता गुमाएका साँढेहरूको कुस्तीमा अनुदित भएको छ।

गजेन्द्रनारायण सिंहले सोचेजस्तो सद्भावना पार्टीले राष्ट्रव्यापी चरित्र ग्रहण गर्नसकेन। निर्दलीय पञ्चायतका खेलाडीहरूले सही नारा दिएभने राम्रो वेैकल्पिकधार खडा हुन सक्ने थियो। तर उनीहरूका बीचको फुट र सत्ताको भोकका कारण अब ती इतिहासका निरर्थक पात्रमा परिणत भएको अवस्था छ। उनीहरूले नेपाली कांग्रेसको जस्तै गरी दर्विलो लोकतान्त्रिक शक्ति बनाउने भन्दा पनि निहीत स्वार्थ र अवसरवादी चरित्रको पक्षपोषण गरिरहेका हुनाले केही वर्षका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका चिराहरूको करिब सान्दर्भिकता समाप्त भएको छ। लोकतन्त्रमा कुनै पनि राजनीतिक दल र विचारको सम्पूर्ण सान्दर्भिकता अन्त्य भएको घोषणा गर्नु गलत हुनेछ। कुनै दिन कुनै विशिष्ठ विचार र परिस्थितिजन्य कारणहरूका आधारमा यी पार्टीको पुनर्जीवन हुन सक्छ भनी आशा गरेर बस्नेहरूका लागि निराश गराउनुहँुदेैन। यसरी छरपस्ट रहेका साना दलले अब या मोर्चाबन्दी गर्नुपर्छ अथवा विचारमा निकटता रहेका दलहरूसँग सहकार्य गर्नु उपयुक्त हुनेछ।

साम्यवादी निरंकुशताका बाटा छेक्ने र असफल पार्ने हो भने साना दल र नेपाली कांग्रेस एउटै ढिक्का हुने वातावरण बन्नुपर्छ।

नेपाली कांग्रेसको जन्मकालदेखिकैजन्म इतिहास भएको नेपाल कम्युनिस्ट पार्टीमा धेरै चोइटाको उपस्थितिले साम्यवादी दलको अर्को विकल्प स्थापित हुनसकेको छैन। नेपाल कम्युनिस्ट पार्टी एमालेले थालेको एकताको अभियानमा माओवादीसमेत मिल्न पुगेपछि कम्युनिस्ट पार्टीको धार अब एउटै भंगालोमा परिणत भएको छ। नेपाल कम्युनिस्ट पार्टीको मूलधार एउटै हुन लागेपछि यो पार्टीले लोकतन्त्रलाई राजनीतिक लक्ष्य नमान्ने संकेत आउन लागेकाछन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक विचारक पुष्पलालले स्वतन्त्रतासहितको समाजवादको अवधारणा आत्मसात् गरेकै कारण २०१५ सालको निर्वाचनमा कम्युनिस्ट पार्टी सहभागी भएको थियो। पुष्पलाललाई अनेक शब्दमा अपमान गरी चर्का नाराका साथ उदित अरु कम्युनिस्ट नेताहरू कहिले दरवार रहेसम्म दरवारको र कहिले विदेशीको गोटी बनिरहेका हामीले देखेका छौँ। बीचका अनेक हिंसाको संयोजन  र लोकतान्त्रिक शक्तिलाई अपमानित गर्नमा उनीहरूको पर्याप्त शक्ति लागेको अनुभव सबैमा छ।

२०३६ को जनमत संग्रहका समयमा त उग्रवादले नेपालको लोकतन्त्रको पाइलालाई अबरुद्ध पारेको इतिहास साक्षी छ। तर मनमोहन अधिकारीको उचाइ र मदन भण्डारीको जनताको बहुदलीय जनवादको विचारकासाथ हिंसा विरोधी पुष्पलालवादी चिन्तनको परिणाम २०४६ देखि एउटा सशक्तधार लोकतन्त्रका मूल्यमा पूर्ण विश्वास गर्न लागेको थियो। त्यो धारसँग असहमतहरूले आरम्भ गरेको हिंसा अन्ततः परिस्थितिवस अन्त्य गरी अहिले एकताको बृहत् सूत्रमा आबद्ध हुनासाथ साम्यवादी चिन्तन हावी हुन लागेको छ। तर त्यो शक्तिमा अहिले आएर बढेको उन्माद लोकतन्त्रविरुद्ध केन्द्रित हुने सम्भावना बढेको छ। एकातिर लोकतान्त्रिक विकल्प स्थापित नहुनु र अर्कोतर्फ कम्युनिस्ट पार्टीमा अर्को उपयुक्त प्रतिस्पर्धी नहुनुले विस्तार दुईदलीय अधिनायकवादतर्फ मुलुक डोरिने खतरा उत्पन्न भएको छ। त्यसमा पनि नेपाली कांग्रेसको विकल्प साम्यवाद अर्थात् माक्र्सवादको चिन्तन र त्यसप्रतिप्रतिबद्ध पार्टी देखिनासाथ लोकतन्त्रको भविष्यनै अन्योलमा पुगेको छ। नेपाली कांग्रेस कमजोर हुनासाथ एकदलीय चिन्तनको हातमाथि हुने अवस्था अहिले छ।

सत्तारुढ नेकपाले साम्यवादलाई लक्ष्य बनाएको अवस्थामा नारायणमान बिजुक्छेदेखि मोहनविक्रम सिंहसहित अहिले पृथकधारमा हिँडिरहेका मोहन वैद्य र नेत्रविक्रम चन्दबीचको समेत एकताको ढोका खुला हुनेछ। नेपाली कांग्रेस एक्लैले यो शक्तिशाली कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न सहज हुने छैन।  वर्तमान नेकपाको विकल्प कम्युनिस्ट पार्टी नै बन्यो भनेमात्र नेपाली कांग्रेसले प्रतिस्पर्धा गर्ने अवस्था रहन्छ।

लोकतान्त्रिक विकल्प बनाउने हो भने गैरकम्युनिस्ट र गैरकांग्रेस साना दलबीच एकता वा मोर्चा खडा गरिनुपर्छ। अथवा साम्यवादी निरंकुशताका बाटा छेक्ने र असफल पार्ने हो भने साना दल र नेपाली कांग्रेस एउटै ढिक्का हुने वातावरण बन्नुपर्छ। खासगरी डा. बाबुराम भट्टराईको नयाँ शक्ति, विवेकशील साझा वा विकेशील नेपाल जस्ता दलको समीकरण, एकीकरण एकातिर र अर्कातिर राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम जस्ता दलको सवल मोर्चा खडा हुने भएमा लोकतान्त्रिक विकल्पको रूपरेखा तय हुनसक्छ।२००८ सालदेखि नै नेपाली कांग्रेसको विकल्प बनाउने प्रयास प्रशस्त नभएका होइनन्। मातृकाप्रसाद कोइराला, वखान बाको नेतृत्वमा अड्तीसे समूह, कुवेर शर्माको नेतृत्वमा हरियाली पार्टी, जगन्नाथ आचार्यको नेतृत्वमा जनकांग्रेस जस्ता दलहरू कांग्रेसकै पुराना नेताहरूको अगुवाइमा खुलेका हुन्। अहिले पनि हरिबोल भट्टराईको नेतृत्वमा नेपाली कांग्रेस बिपी खुलेको छ। यी दल हिजोका दिनमा नेपाली कांग्रेसको विकल्प बन्न सकेनन् र अहिले पनि विकल्प बन्ने कुनै सम्भावना देखिँदैन। तर नेपाली कांग्रेसको शक्ति घटाउनमा भने यिनको कमोवेस योगदान थियो र अहिले पनि रहनसक्छ।

लोकतन्त्रमा साम्यवादी विचार विकल्प भएमा प्रणाली नै अस्थिर बन्ने निश्चित छ। यसैकारण लोकतन्त्रमा लोकतान्त्रिक विकल्प अपरिहार्य हुन्छ। तर दुर्भाग्यवस नेपालमा लोकतान्त्रिक विकल्प हुन सकेको छैन। हिजोका दिनमा नेकपा एमाले लोकतान्त्रिक विकल्प जस्तो हुन लागेको थियो। तर अब माओवादीसँगको एकता र संसद्मा दुईतिहाइ संख्याको मादका कारण बिस्तारो लोकतन्त्रविरुद्ध लोकतान्त्रिक प्रणालीको अभ्यासमा जुट्न लागेका आभाष हुँदैछ।

एकातिर लोकतान्त्रिक विकल्प स्थापित नहुनु र अर्कोतर्फ कम्युनिस्ट पार्टीमा अर्को उपयुक्त प्रतिस्पर्धी नहुनुले विस्तार दुईदलीय अधिनायकवादतर्फ मुलुक डोरिने खतरा उत्पन्न भएको छ।

लोकतन्त्र सुदृढीकरणका लागि लोकतान्त्रिक विकल्पहरू नभई हुँदैन। साना दलमध्ये कोही न कोही तेस्रो शक्तिका रूपमा स्थापित नभएसम्म दुई दलीय अधिनायकवाद र वर्चस्वको छायाँमुनि जनता बस्न बाध्य हुनेछन्। अहिले साम्यवादी दलमध्ये एकछत्र प्रभुत्व नेकपाको हुनपुगेको छ भने नेपाली कांग्रेसलाई चुनौती दिन सक्ने अर्को कुनै प्रतिस्पर्धी दल जनतामा पुग्न र स्थापित हुनसकेको छैन। तराई मधेसका हकमा मधेसी जनताको भावना दोहन गरी दश वर्षयता खडा भएका दलहरू अहिलेसम्मजनताका आँखाबाट पलायन भइसकेका छैनन्। क्षेत्रीय दलहरू लोकतन्त्रको व्यापक विकल्प शक्ति हुन सक्दैनन्। उनीहरू लोकतान्त्रिक गठबन्धनकालागि सहयोगी हुनु स्वाभाविक हुनेछ। अहिले नेपालमा वास्तविकरूपमा लोकतान्त्रिक दलको विकल्प लोकतान्त्रिक शक्ति हुनुपर्ने थियो।

माक्र्सवादको औचित्य समाप्त भएको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गर्दा निकै उत्साहित डा. बाबुराम भट्टराईको समेत अवस्था दयनीय देखिन्छ। उहाँसँग पार्टी स्थापनामा संलग्न धेरै पूर्वसहकर्मी फर्केर पुरानै घरको मझेरीमा आसन जमाउन पुगेका छन्। एक वर्षपहिले माक्र्सवादको औचित्य समाप्त भएको स्वीकार गर्ने माओवादीका पूर्वनेताहरूले यसरी डा. भट्टराईलाई चटक्क नछाडेका भएर लोकतन्त्रमा विश्वास गर्ने नेता, कार्यकर्ता र पुराना राष्ट्रसेवकहरूले उनलाई सहयोग गरिरहेका भए सम्भवतः राम्रो विकल्प तयार हुन सक्थ्यो। तर डा. भट्टराईको स्वभावका कारण हो वा संलग्नहरूको महŒवाकांक्षाका कारणले, नयाँ शक्तिको शक्ति निकै कमजोर भयो।

नयाँ शक्ति जस्तै गरी दुई युवाजनले तेस्रो विकल्पको सपना देख्न पुगेका थिए। चर्चित पत्रकार रवीन्द्र मिश्र र अर्का समाजसेवी युवा उज्ज्वल थापा मिलेर संगठित साझा विवेकशील पार्टीले नयाँ पुस्तामा निकै बलियो सपना देखाएको थियो। गतसालको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा अत्यन्त प्रखर युवा नेतृ रञ्जु दर्शनालाई जुनरूपमा महानगरपालिकाका मतदाताले मत खन्याए त्यसबाट नै यो दलप्रति नयाँ पुस्तामा देखिएको आकर्षण प्रमाणित भएको थियो। त्यस लगत्तै भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ १ का लोकतन्त्रवादी मतदातासमेतले विवेकशील साझाका रवीन्द्र मिश्रलाई दिएको मतले झण्डै नेपाली कांग्रेसका युवापुस्ताका प्रभावशाली नेता प्रकाशमान सिंहले पराजय भोग्नुपरेको थियो। त्यस क्षेत्रका युवामतदाताको मन विवेकशील साझामा जोडिन पुगेको थियो भन्ने अनुमान गरिरहनुपर्दैन। तर विवेकशील साझामा आएको फुटले दुई युवाले देखाएको सपना तिरोहित भएको छ।

लोकतान्त्रिक गणतन्त्रको आरम्भपश्चात उदाएका यी दुई दलबाट मानिस आशावादी भएका थिए। तर त्यो आशावादको परीक्षण हुन नपाउँदै पार्टीको क्षयीकरण र विभाजन हुनपुगेको छ। यसले गर्दा लोकतान्त्रिक दलको विकल्प लोकतान्त्रिक दल भन्ने आवश्यकता र अपेक्षा अहिले आफैँ बिस्थापित हुनपुगेको छ। लोकतान्त्रिक गणतन्त्र स्थापनापछि आरम्भ कुनै पनि दलले आफूलाई लोकतान्त्रिक विकल्प बनाउन चाहिने योग्यता राख्न सकेनन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका शब्दमा भावनाले नजोडिएसम्म राजनीतिक दल बन्न सक्देैन। आदर्श, सिद्धान्त, संगठन, नीति, कार्यक्रम, रणनीति पार्टीका पुँजी भए पनि पार्टीसँग भावनात्मक सम्बन्ध हुनुजरुरी छ। भावनाको सूत्रमा उनिन सकेमात्र दल निर्माण हुन्छ। अहिले भावनाबिहीन प्रयासहरूकै कारण लोकतान्त्रिक विकल्पवृक्ष पलाउन सकेको छैन।






यसमा तपाईको मत

अन्य समाचार

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...