coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोलिन्सलाई पेत्राको चुनौती

पेत्रा केभितोभा

मेलबर्न – विश्व नम्बर–६ की पेत्रा केभितोभाले वर्षको पहिलो ग्रान्ड स्लामको सेमिफाइनलमा गैरवरीयताकी डेनिइली कोलिन्सविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी छन्।

गत २०१६ को डिसेम्बरमा चोरको आक्रमणबाट घाइते भएपछि पहिलो पटक सेमिफाइनलमा पुगेकी पेत्राले उपाधि भिडन्त गर्नका लागि आगामी बिहीबार अमेरिकी स्टार डेनिइलीविरुद्ध चुनौती प्रस्तुत गर्न लागेकी हुन्। घरमा आएको चोरको आक्रमणबाट दायाँ हातमा चोट बोकेपछि पेत्रा करिब ६ महिना कोर्टबाहिर रहेकी थिइन्। त्यसपछि पनि उनको यात्रा अन्तिम आठमै टुंगिएको थियो।

तर, यस वर्ष भने सेमिफाइनलको यात्रा तय गर्दै पेत्राले करियरको तेस्रो ग्रान्ड स्लाम जित्ने सम्भावना कायमै राखिन्। मेलबर्न पार्कमा भएको खेलमा दुई पटककी विम्बल्डन च्याम्पियन पेत्राले घरेलु स्टार एस्लेघ बार्टीमाथि पहिलो सेट ६–१ ले सहजै आफ्नो पक्षमा पारेकी थिइन्। पेत्राले पहिलो सेट २७ मिनेटमै आफ्नो बनाएकी थिइन्। तर, दोस्रो सेटमा बार्टीले कडा चुनौती दिए पनि पेत्राले ६–४ ले समाप्त पारिन्।

त्यो हारसँगै ३५ वर्षपछि ग्रान्ड स्लामको सेमिफाइनलमा पुग्ने पहिलो अस्ट्रेलियन खेलाडी बनेकी बार्टीको उपाधि दिलाउने चाहना पूरा हुन सकेन। यता जितपछि प्रि–क्वार्टरफाइनलमै विश्व नम्बर एक सिमोना हालेप स्तब्ध भएपछि पेत्रा शीर्षमा पुग्ने सम्भावना पनि बढेको छ। ‘फर्किएर विश्व चर्चित स्टेडियममा विश्वकै उत्कृष्ट खेलाडीसँग खेल्नेछु भन्ने सोचेको पनि थिइनँ,’ दुई पटक विम्बल्डन च्याम्पियन पेत्राले भनिन्,‘ तर सबै सम्भव भएको छ। त्यसैले एकदम हर्षित छु।’

यता, यस प्रतियोगिताको दोस्रो राउन्डमै विश्व नम्बर दुई एन्जेलिक केरबेरलाई स्तब्ध बनाएकी अमेरिकी स्टार कोलिन्स पनि पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा  पुगेकी हुन्। २५ वर्षीया कोलिन्सले रसियाकी स्टार एनास्तासिया पेयलुचेन्कोभालाई २–६, ७–५ र ६–१ ले हराउँदै करियरको ठूलो सफलता प्राप्त गरिन्।

पहिलो सेट सहजै गुमाएपछि दबाबमा परे पनि कोलिन्सले संघर्ष गर्दै खेल आफ्नो पक्षमा उल्टाइन्। जितपछि कोलिन्सले आफ्नो खेल जीवनकै यादगार अनुभव सिर्जना भएको प्रतिक्रिया दिइन्। ‘मेरा लागि निकै अनौठो अनुभव हो,’ कोलिन्सले भनिन्,‘ मेरो जितको राज कयौं समर्थकको साथ नै थियो। उनीहरूबीचको साथमा खेल्न पाउँदा मेरा लागि खेल निकै सहज बन्यो।’

पुरुषतर्फ २० वर्षे स्टेफानोस सिनसिपासले पनि करियरको उत्कृष्ट प्रदर्शन गर्दै ग्रान्ड स्लामको सेमिफाइनलमा पुग्ने पहिलो ग्रिसका खेलाडी बने। साथै स्टेफानोस सन् २००७ पछि ग्रान्ड स्लाम पुग्ने पहिलो युवा खेलाडीसमेत बने। ०७ मा २० वर्षको उमेरमा नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनलमा पुगेका थिए।

१४औं वरीयतामा रहेका स्टेफानोसले क्वार्टरफाइनलमा स्पेनिस स्टार रोबर्टो बाउटिस्टामाथि ७–५, ४–६, ६–४ र ७–६ (७–२) को जित निकाले। स्टेफानोसले सेमिफाइनलमा १७ पटकका ग्रान्ड स्लाम च्याम्पियन स्पेनिस स्टार रफाइल नाडालको चुनौती सामना गर्नेछन्। नाडालले भने क्वार्टरफाइनलमा अमेरिकी युवा खेलाडी फ्रान्सेस टाइफोईलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।

सेमिफाइनलमा भने नाडालले युवा खेलाडी स्टेफानोसको पनि चुनौती सामना गर्नेछन्। स्टेफानोसले अन्तिम १६ मा स्विस स्टार रोजर फेडेररलाई स्तब्ध बनाएका थिए। नाडालले पनि स्टेफानोसको खेलप्रति जानकार रहेकाले निकै सजग हुनुपर्ने बताए। ‘उनी (स्टेफानोस) सँग सबै पक्ष उत्कृष्ट छ,’ एक सेट पनि नगुमाएका नाडालले भने,‘उनको खेल निकै तीव्र छ। सर्भिस र फोरह्यान्डमा पनि उनी माहिर छन्। उनीसँग आक्रामक खेलशैली छ।’

प्रकाशित: ९ माघ २०७५ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App