७ वैशाख २०८१ शुक्रबार
खेल

युएई एसिया कप फुटबलको क्वार्टरफाइनलमा

दुबई – निर्धारित समय २–२ गोलको बराबरी खेलेको आयोजक टोली युनाइेड अरब इमिरेट्स (युएई) ले अतिरिक्त समयमा किर्गिस्तानविरुद्ध पेनाल्टीबाट गोल गर्दै एसिया कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

अतिरिक्त समयको १ सय १३औं मिनेटमा आयोजक युएईले पेनाल्टीमा गोल गर्न सफल भएको थियो। निर्धारित समयको पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको युएईले ६४औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा कायम गर्न नसक्दा नतिजा पोल्टामा पार्न अतिरिक्त समय कुर्नुपरेको हो।

आयोजक टोलीलाई अन्तिम आठको ढोका उघार्न अहम्मेद खाली नायक बने। निकै प्रतिस्पर्धात्मक खेलमा किर्गिस्तानका बेकझान सागिनबेभले अली अहम्मेदलाई पेनाल्टी बक्समा तानेपछि आयोजक युएईले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई अहमेद खालीले सदुपयोग गर्दै अघिल्लो चरणको यात्रा सम्भव बनाएका हुन्।

यसअघि युएईका लागि १४औं मिनेटमा खामिस इसमेलले सुरुआती अग्रता दिलाएका थिए। तर आयोजकको अग्रता धेरैबेर टिकेन। २६औं मिनेटमा किर्गिस्तानका मिरलान मुर्जइभले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १–१ गोल भएपछि दोस्रो हाफमा आक्रामक देखिएका दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरे।

६४औं मिनेटमा अली अहमेद माबखाउटले गोल गर्दै युएईलाई पुनः अग्रता दिलाएका थिए। थपिएको तीन मिनेटको समयमा अग्रता कायम गर्न घरेलु टोली असफल बनेको थियो। किर्गिस्तानले इन्जुरी समयमा गोल गर्दै खेल बराबरी ल्याएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा धकेलिएको थियो।

उता सोमबारै सम्पन्न अर्काे खेलमा निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट लिएको निर्णयमा साबिकको विजेता अस्ट्रेलिया भाग्यमानी बन्दा उज्बेकिस्तान स्तब्ध बन्यो। अस्ट्रेलियाले उज्बेकिस्तानलाई ४–२ ले स्तब्ध पार्यो। टाइब्रेकरको जितसँगै अस्ट्रेलिया युएईमा जारी एसिया कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

टाइब्रेकरमा उज्बेकिस्तानका दुई खेलाडीले पेनाल्टी खेर फाले भने अस्ट्रेलियाका चार खेलाडीले सदुपयोग गर्दा एक खेलाडी असफल रहे। क्वार्टरफाइनलका खेल बिहीबारबाट हुनेछन्। 

प्रकाशित: ९ माघ २०७५ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App