सोलु्खुम्बु – खाजा खाने क्रममा म्याद गुज्रेको चिउरा परेपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना आफैं बजार अनुगमनमा निस्किएका छन्। आइतबार सडेको चिउरा मुखमा हालेका प्रमुख जिल्ला अधिकारी त्यसको भोलिपल्टै सोमबार जिल्लाको सल्लेरी बजार अनुगमनमा निस्किएका हुन्।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी रानाको टोलीले सल्लेरी बजारका १८ वटा पसल अनुगमन गरी म्याद गुज्रिएका करिब एक लाख मूल्य बराबरका खाद्य तथा पेय पदार्थ बरादम गरेको छ। चिउरा, चाउचाउ, बिस्कुट, दालमोठ, चियापत्ती, फ्रुटी, कोक, फ्यान्टा लगायतका म्याद गुज्रिएका सामान अनुगमन टोलीले फेला पारेको हो। बरामद सामग्री नष्ट गरिएको टोलीले जनाएको छ।
म्याद नाघेका वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने प्रमुख जिल्ला अधिकारी रानाले बताए। उनले भने, ‘खाद्य अधिकारको उपयोगमा क्रेता–बिक्रेता दुवै सजग हुनुपर्छ।’ अब हरेक महिना बजार अनुगमन गरिने पनि उनले बताए। प्रमुख जिल्ला अधिकारीले गत आइतबार खाजा खाने क्रममा दुई महिनाभन्दा बढी म्याद नाघेको चिउरा परेपछि उनी बजार अनुगमन गर्न तात्तिएको बताइएको छ। बजार अनुगमन टोलीमा सुरक्षाकर्मी, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग, कोष तथा लेखा नियन्त्रक कार्यालय तथा सोलुदूधकुण्ड नगरपालिकाका प्रतिनिधिसहित सञ्चारकर्मी पनि सहभागी थिए। सल्लेरीमा दसैंयता बजार अनुगमन गरिएको थिएन।
प्रकाशित: ९ माघ २०७५ ०३:३६ बुधबार