coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाटेबाघ संरक्षणमा चुनौती

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनीस्थित नेपाली सेनाको सुरक्षा पोस्टदेखि तीन किलोमिटर उत्तर गत पुस २७ गते कारले ठक्कर दिँदा वयस्क पाटेबाघ घाइते भयो। दाँत झर्नुका साथ ढाडमा गम्भीर चोट लागेको उक्त बाघको उपचार निकुञ्जमा भइरहेको छ। निकुन्ज स्रोतका अनुसार बाघको अवस्था नाजुक छ।

उक्त घटनाको भोलिपल्टै अर्थात् पुस २८ गते पुनः निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–४ मा गाडेको अवस्थामा पाटेबाघ फेला पर्‍यो। निकुन्ज प्रशासनको प्रारम्भिक अनुसन्धानअनुसार वन्यजन्तु बस्तीमा पस्न सक्ने भन्दै स्थानीयले थापेको विद्युतीय धरापमा परेर उक्त बाघ मरेको देखिएको छ। बाघ मारेको आरोपमा स्थानीय चार जनालाई पक्राउ गरी निकुञ्ज प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको छ। यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा यही माघ ५ गते एउटा पाटे बाघ मरेको अवस्थामा फेला परेको छ। घटनाको अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।

एक साताभित्र भएका यी तीन घटनाले दुर्लभ वन्यजन्तु पाटेबाघ जोखिममा रहेको पुष्टि गर्छन्। गत वर्षको पुस ६ गते पनि धनगढीबाट काठमाडाैँ जाँदै गरेको बसको ठक्करबाट कुवाभारमा एउटा वयस्क पाटेबाघ मरेको थियो। उक्त घटनापछि वन्यजन्तु मात्र हैन, यात्रुको ज्यानसमेत जोखिममा देखिएको भन्दै निकुञ्ज प्रशासन गम्भीर बनेको थियो। तर यस्ता जोखिम न्यूनीकरणका लागि निकुञ्जले दीर्घकालीन किसिमको कुनै पहल नथालेको स्थानीय बासिन्दा गुनासो गर्छन्। निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग छेउछाउ झाडी सफाइ नगरिँदा पनि वन्यजन्तुसँग गाडी ठोकिने जोखिम जारी रहेको स्थानीय बासिन्दा बताउँछन्।

एक सातामा दुईवटा मरे, एउटा घाइते

सन् २०१७ को गणनाअनुसार बर्दिया निकुञ्जमा पाटेबाघको संख्या ५० बाट बढेर ८७ पुगेको छ । चार वर्षमा ३७ वटा बाघ बढेका हुन्। यस्तै बाँके निकुञ्जमा पाटेबाघको संख्या २१ पुगेको छ। सन् २०१२ को गणनामा यहाँ चारवटा मात्र पाटेबाघ देखिएका थिए। यसरी बाघको संख्या बढिरहेको भए पनि चोरीसिकार, बासस्थान अतिक्रमण, वन्यजन्तु–मानव द्वन्द्व लगायतका कारण पाटेबाघ संरक्षणमा चुनौती देखिएको छ। पछिल्लो समय राजमार्ग क्षेत्रमा गाडीसँग ठोक्किएर बाघ मर्ने जोखिम पनि थपिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको करिब ४० किलोमिटर चिसापानी–अम्बासा, सैनवार–रम्भापुर र बाँके निकुञ्जको शमशेरगन्ज अघिसम्म करिब ३० किलोमिटर क्षेत्र पूर्व–पश्चिम राजमार्गभित्र पर्छन्। बर्दिया निकुञ्ज सुरक्षाका लागि राजमार्ग क्षेत्रमा चार तथा बाँके निकुञ्ज सुरक्षार्थ दुईवटा नेपाली सेनाका पोस्ट राखिएका छन्। पछिल्लो समय बाघको बासस्थान सुधारका लागि निकुञ्ज र संरक्षण अभियानमा लागेका स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाले संयुक्त प्रयास गरिरहेका छन्। निकुञ्जभित्र बाघ विचरण गर्ने स्थल छनोट गरेर सौर्य ऊर्जामार्फत करिब सयको हाराहारीमा पोखरी निर्माण गरिएको छ। आहारा प्रजाति बढाउन घाँसेमैदान सुधार गरिएको छ। यहाँको जंगलमा अतिक्रमणकारी झार कम छन्। ठूलठूला फाँट छन्। जहाँ मृग धेरै छन्।

पाटेबाघ बढ्नाको प्रमुख कारण चोरीसिकार नियन्त्रण, सुरक्षा, उचित बासस्थान र आहारा प्रजातिहरू प्रशस्त मात्रामा वृद्धि हुनु रहेको निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन्। उनका अनुसार यसअघि निकुञ्जले बबई उपत्यकाको उत्तरी क्षेत्र सुर्खेत लेखपराजुललगायत स्थानबाट अवैध हतियार बुझाउन आह्वान गरेपछि करिब तीन सय थान भरुवा बन्दुक संकलन भएका छन्। निकुञ्ज सुरक्षाका लागि तैनाथ ३५ पोस्टका सेना र निकुञ्जका कर्मचारीले २४सै घन्टा पैदल, साइकल, हात्ती, र्‍याफ्टिङलगायत माध्यमबाट गस्ती गरिरहेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिए।

गाडी तीव्र गतिमा चलाए जरिवाना
यतिबेला पूर्व–पश्चिम राजमार्गअन्तर्गत निकुञ्ज क्षेत्रमा गुड्ने गाडीका चालकलाई टाइम कार्ड पालना गर्न निकुञ्ज प्रशासनले कडाइ गर्न थालेको छ। निकुञ्ज क्षेत्रमा तैनाथ नेपाली सेनाले दिएको समयभन्दा छिटो वा ढिलो पुग्ने सवारीसाधनका चालकलाई जरिवाना लिने गरिएको हो।

एक मिनेट छिटो पुगेमा पनि पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने नयाँ नियम निकुञ्ज प्रशासनले अख्तियार गरेको छ। एक मिनेटभन्दा बढी समय छिटो पुगेमा निकुञ्ज ऐनमा व्यवस्था भएबमोजिम ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए।

उता, बिनासूचना निकुञ्जले जरिवाना तिराएको भन्दै सवारीसाधनका धनीले भने आपत्ति जनाएका छन्। ‘अधिकृतले आफूखुसी नियम बनाएर सर्वसाधरणलाई दुःख दिइरहेका छन्,’ एकजना सवारी चालकले भने, ‘दुर्घटना भएलगत्तै नियम बनाएर जरिवाना तिर्न परेपछि सर्वसाधारण मर्कामा परेका छन्।’ चेकजाँचका नाममा निकुञ्ज प्रशासनले लामो समयसम्म गाडी रोक्दा आफूहरूको व्यवसाय नै धरापमा परेको यातयात सञ्चालकहरूको गुनासो छ।

प्रकाशित: ९ माघ २०७५ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App