७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार माफियाको नियन्त्रणमा : पौडेल

प्रजातान्त्रिक विचार समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललगायत। तस्बिर:रेखा/नागरिक

बुटवल - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेताको सहभागिताबिनै संवैधानिक आयोग गठन गरी सरकारले लोकतन्त्रमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन्। प्रजातान्त्रिक विचार समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको लोकतान्त्रिक संस्कार र विचार विषयक कार्यक्रममा मंगलबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘संविधान र लोकतन्त्रको मर्मविपरीत प्रतिपक्षी दलको नेताबिनै संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नु लोकतन्त्रमाथिको गम्भीर प्रहार हो।’

उनले संवैधानिक व्यवस्थाविपरीत गरिने यस्ता निर्णयले प्रजातन्त्रलाइ नै धरापमा पार्न सक्ने बताए। ‘सरकारका यस्ता निर्णयको कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्छ’, उनले भने। सरकारले संवैधानिक आयोगलाई कम्युनिस्ट भर्ती केन्द्र बनाएको उनको आरोप थियो। आइतबार बसेको संवैधानिक परिषद् बैठकले प्रकृतिक स्रोत तथा वित्त आयोग, थारु, मुस्लिम र समावेशी आयोगको अध्यक्ष नियुक्तिका लागि सिफारिस गरेको थियो।

नेता पौडेलले सरकार नैतिकताहीन रहेको र पूर्ण असफल भएको टिप्पणी गरे। शान्तिसुरक्षा, सुशासन र विकासजस्ता मूलभूत कुराहरुमै दुईतिहाइको सरकार पूर्ण असफल भएको उनको भनाइ थियो। ‘पहिले लाखमा भ्रष्टाचार भएका कुरा सुनिन्थे। अहिले करोडौं, अर्बौंको भ्रष्टाचारमा मन्त्री र नेताहरु मुछिएका छन्’, नेता पौडेलले भने। निर्मला पन्तका हत्यारा ६ महिनासम्म पत्ता लगाउन नसकेको भन्दै नेता पौडेलले सरकारले नै दण्डहीनता र भ्रष्टाचारलाइ प्रश्रय दिइरहेको दाबी गरे। ‘राज्यको ढुकुटीबाट आफ्ना नेता कार्यकर्ता पोसेर नयाँ शासक वर्ग जन्माउने अभियानमा लागेको सरकार माफियाहरुको नियन्त्रणमा छ’, नेता पौडेलले भने। लोकतन्त्रको मूल्य र मान्यता धराशयी बनाउँदै सरकार अधिनायकवाद र सर्वासत्तावादको सिँढी चढिरहेको नेता पौडेलको भनाइ थियो।

कांग्रेसको प्रजातान्त्रिक समाजवाद नै सही सिद्धान्त भएको भन्दै उनले कम्युनिस्टहरुको अधिनायकवादी र सर्वसत्तावादी चरित्रलाइ जनतामाझ नंग्याउनुपर्नेमा जोड दिए। ‘यसका लागि सैद्धान्तिक बहसको खाँचो छ’, उनले भने। कम्युनिस्टलाई यसैगरी शासन सञ्चालन गर्न दिए प्रजातन्त्र र लोकतन्त्रिक गणतन्त्र नै धरापमा पर्न सक्ने भन्दै उनले कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न काँग्रेसलाइ बलियो बनाउनुपर्नेमा जोड दिए। आफू महाधिवेशन लम्ब्याउने पक्षमा नरहेको भन्दै उनले पार्टीलाइ बलियो बनाउन तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने तर्क गरे। नेतृत्वलाइ मिलेर अगाडि बढ्न सुझाव दिनु जायज भए पनि कार्यकर्ता स्वयंले पनि नेताहरुको सही मूल्यांकन गर्न सक्नुपर्ने नेता पौडेलले बताए।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा नेता धनी, जनता गरिब हुँदै जाने कुसंस्कृति मौलाएको टिप्पणी गरे। सरकारले संवैधानिक व्यवस्थाविपरीत आयोगहरु गठन गरेको भन्दै नेता भण्डारीले प्रतिपक्षले त्यसको सशक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिए। विधिविधान र पद्धतिमा चल्न नसके पार्टी कमजोर हुने उल्लेख गर्दै उनले पार्टीलाइ सशक्त बनाउन युवा नेताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार धेरै अर्थमा असफल भइसकेको भन्दै नांगिएको कम्युनिस्ट सरकारको विकल्प नेपाली कांग्रेस बन्नुपर्ने बताए। उनले विधानअनुसार पार्टी चलाउनुपर्नेमा जोड दिए। ‘हाम्रो पार्टीमा व्यक्तिलाई मान्ने चलन छ तर व्यक्ति मिल्दैमा त्यो पद्धति, नीति र विधानभन्दा ठूलो हुन सक्दैन’, उनले भने। कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, नेता देवराज कँडेल, अब्दुल रज्जाक, सभासद् रमा अर्याल, वीरबहादुर राना, अष्टभुजा पाठकलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा वरिष्ठ नेता पौडेलले समाजले प्रकाशन गरेको ‘विचार’ नामक स्मारिका विमोचन गरेका थिए।

प्रकाशित: ९ माघ २०७५ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App