coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

हिमपातले सेताम्मै भएको सिमकोट बजार । तस्बिर : जनक/नागरिक

धनगढी - सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो।

दार्चुलाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन्। सोमबार दिनभर घाम लागे पनि मध्यरातिदेखि एकाएक मौसम बदली भएर हिमपात भएको हो। हिमपातपछि बढेको चिसोका कारण सदरमुकाम खंलगाका पसल फाट्टफुट्ट मात्रै खुलेका छन् भने स्थानीयहरु घरबाहिर निस्कन सकिरहेका छैनन्। हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भएको छ। पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म जिल्लाका उच्च भूभागमा तीनपटक हिमपात भएको छ। पुसमा मात्र जिल्लाका उच्च क्षेत्रमा दुईपटक हिमपात भएको थियो।

दार्चुलाको ब्यास गाउँपालिका ब्यास, छाङरु, तिंकर, राप्ला, दुम्लिङ, दुहुँ गाउँपालिकाका उच्च भागमा हिमपात भएको छ। अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी, घुसा, मार्मा गाउँपालिकाको घोल्जर, ताकु, सितोला शेरीको उच्च भूभाग, नौगाडको इयरकोट, सिप्टी, दल्लेक, मालिकार्जुनको बलशिखर, न्वालपानी, ऐरिछाना, शिखरलगायतका क्षेत्रमा हिमपात भएको मालिकार्जुन–२ का राजेन्द्रसिंह बिष्टले बताए।

यस्तै अछामको लेकाली क्षेत्र हिँउले ढाकेको छ। अछाम मेल्लेखको ऋषिदह, षोड्शा, विन्देवासिनी तथा नन्देगडामा हिमपात भएको छ। पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा पनि हिमपात भएको छ। ‘हिउँ नपरेको धेरै वर्ष भएको थियो। यसपटक हिउँदमा भने हिउँ देख्न पाइयो,’ अछाम मेल्लेखका रेवन्त अधिकारीले भने। हिउँ परेपछि पहाडी भेगका किसान हर्षित भएका छन्। नन्देगडाका किसान सुरत साउँदले हिउँ परेपछि यसपालि हिउँदेखेती र तरकारीखेती सप्रने बताए। उनले भने, ‘खेतीपातीमा सिँचाइका लागि समस्या भइरहेका बेला अहिले हिउँ परेपछि हामी खुसी छौं।’

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हिमपातका कारण खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग खुलाउन डिभिजन सडक कार्यालय पाटनबाट जेसिबी पठाइएको छ।
बाजुराका हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका, छेडेदह, स्वामीकार्तिक र पाण्डव गुफा गाउँपालिकाका उच्च लेकाली भागमा हिमपात भएको छ। पाण्डुसैन र मार्तडीको बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने कोल्टीसम्मको यातायातसमेत बन्द भएको छ। उच्च भागमा बाक्लो हिमपात भएपछि अत्यधिक चिसो बढ्दा घर बाहिर निस्कन समेत गाह्रो भएको स्थानीयले बताएका छन्।

बझाङको काँडा, दौलिचौर, सुर्मा, गडरालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको हो। डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको छ। मानिसलाई चिसोले घरबाहिर निस्कन पनि समस्या भएको छ। चिसो बढेकाले बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भएकाले सजग हुन स्वास्थ्यकर्मीले सुझाएका छन्।

कर्णालीमा पनि हिमपात, कृषक खुसी
हिमपात र अविरल वर्षाले कर्णालीको जनजीवन पनि प्रभावित बनेको छ भने किसानचाहिँ खुसी भएका छन्। सोमबार मध्यरातिबाट हिमपात र वर्षा भएसँगै चिसो बढेको छ। कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका जिल्लामा लामो समयपछि हिमपात र पानी परेका कारण चिसो झनै बढेको हो। हिमपातले यी जिल्लाका विभिन्न स्थान र डाँडाकाँडा सेताम्य भएका छन्। यी जिल्लाका अधिकांश बस्ती हिउँले ढाकेका छन्।

कालिकोटमा हिमपात र अविरल वर्षाले बालबालिका, वृद्धवृद्धालाई चिसोले सताएको छ। हिमपातका कारण जाडो बढनुका साथै कर्णालीको जनजीवन कष्टकर बनेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ। कालिकोटका लेकाली गाउँमा हिउँ जमेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए।
हुम्लाको सिमकोटमा डेड फिट हिँउ जमे पनि उत्तरी क्षेत्रका बस्तीमा तीन फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। हिमपात र अविरल वर्षाका कारण विद्युत् आपूर्तिमा समेत समस्या आएको छ।

हिमपातसँगै कर्णालीको उच्च भागमा तापक्रम माइनस आठ डिग्री सेल्सियस भएको मौसमविद्ले जानकारी दिएका छन्। हिमपातले नेपालगन्ज र सुर्खेतबाट जुम्ला, मुगु र हुम्लामा उडान हुने हवाईसेवा बन्द भएका छन। लामो समयपछि हिमपात र पानी आउँदा किसान भने खुसी देखिएका छन्। खडेरीले हिउँदे बालीमा निकै संकट ल्याएको थियो। पानी पर्दा किसानलाई राहत भएको जिल्ला कृषि कार्यालयले जनाएको छ। हिमपात र पानीले गरिखाने आस पलाएको रास्कोट नगरपालिका २ का परी न्यौपानेले बताए। खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीनालीका लागि पुस, माघमा वर्षात्सँगैको हिमपात उपयोगी हुने भएकाले पनि किसान खुसी भएका हुन्।

६ वर्षपछिको ठूलो हिमपात
हुम्लामा ६ वर्षपछिको ठूलो हिमपात भएको छ। मंगलबार बिहान ३ बजे सुरु भएको हिमपातका कारण सदरमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको छ भने हिमपात अबेरसम्म पनि रोकिएको छैन। हिमपातका कारण बिजुलीका पोल ढल्दा सिमकोट र खार्पुनाथ गाउँपालिका अन्धकार भएका छन्। सिमकोटको डाडाफया, याङगु, स्याम्ने, ठेहे र दोजाममा हिमपातसँग लागेको हावाहुरीका कारण बिजुलीका पोल ढलेकाले विद्युत् आपूर्ति अवरोध भएको हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख लालबहादुर लम्सालले बताए।

हुम्लामा यस वर्ष पाँचपटक हिमपात भएको छ। यसअघि ४ पटक भएको हिमपात बढीमा ४ इन्चसम्म भए पनि यति धेरै ठुलो हिमपात भएको थिएन। हुम्लामा २०६९ सालमा पनि यस्तै ठूलो हिमपात भएको थियो। ६ वर्षपछि यति ठूलो हिमपात भएको सिमकोट–५ तल्लोगाउँका कालीबहादुर रोकायाले बताए।

हुम्लामा ठुलो हिमपातपछि चिसो बढ्दा कार्यालयमा कर्मचारी आगो तापेर बसेका छन् भने सेवाग्राही आएका छैनन्। बजार सुनसान देखिएको छ। सिमकोटको तापक्रम माइनस आठ डिग्रीमा झरेको छ। स्थानीयलाई धाराको पानी ल्याउन पनि कठिन भएको छ भने पशुबस्तु गोठबाट निकाल्न सक्ने अवस्था नभएको सिमकोट ६ माथिल्लो गाउँका डब्बले रोकायाले बताए।

जिल्लाका नाम्खा, सिमकोट र खार्पुनाथको सबै ठाउँमा हिमपात भएको छ। सर्केगार्ड, चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकाका उच्च बस्ती हिउँ परेर सेताम्य भए पनि बेसीतिर पानी परेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

केही साताअघिसम्म सुख्खा देखिने डाँडाकाँडा हिउँले भरिभराउ भएपछि हिमाली बस्ती सुन्दर देखिएका छन्। सदरमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको भए पनि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको मुचु, लिमी, यारी, चाला, ताङगिन, याल्वाङ र यांगार गाउँमा भने चार फिटभन्दा बढी हिउँ जमेको मुचु प्रहरीचौकीलाई उधृत गर्दै हुम्ला प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठले बताए। हिमपातका कारण नाम्खा गाउँपालिकाका सबै गाउँबस्ती सम्पर्कविहीन भएका छन्। हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडान हुने हवाईसेवा बन्द भएका छन्।

कर्मचारी हिउँमा रमाए
बिहानैदेखि बाक्लो हिमपात भएकाले डोल्पाको जनजीवन कष्टकर बनेको छ। डोल्पाको सदरमुकाम दुनै त्रिपुराकोट, लिकु, माझफाल, पहाडा, करेलीकाँडा, काइगाँउलगायतका बस्तीमा बाग्लो हिँउ जमेको हो। उपल्लो डोल्पाको जनजीवन झनै कष्टकर बनेको छ। हिमपातसँगै तल्लो र उपल्लो डोल्पाको पूरै भूभाग हिँउले ढाकेको छ भने तापक्रम माइनसमा झरेको छ।

बिहानैदेखि भएको हिमपातपछि डोल्पाको एकमात्र यातायातको साधनका रूपमा रहेको जुफाल विमानस्थल मंगलबार बन्द रह्यो। हवाई मैदानमा हिउँ जमेकाले मंगलबार कुनै पनि हवाई उडान नभएको नागरिक उड्डयन जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए। सदरमुकाम दुनैमा हिमपात भएपछि सेल्फी लिने र हिउँ खेल्नेहरू जाडोको प्रवाह नगरी रमाए, जसमा अधिकांश कर्मचारी थिए। पहिलोपटक डोल्पामा हिमपातसँग रमाउन पाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश बिष्टले बताए।
(प्रेम चुनारा/दार्चुला, बिरा गडाल/बैतडी, जगत् खड्का/बझाङ, कृष्ण ओली/बाजुरा, खम्म खत्री/अछाम र पुष्कर भण्डारी/डडेल्धुरा, जनक शाही/हुम्ला, पवित्रकुमार शाही/कालिकोट, विष्णुप्रसाद देवकोटा/डोल्पा )

प्रकाशित: ९ माघ २०७५ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App