७ वैशाख २०८१ शुक्रबार
अर्थ

टुटलद्वारा बिनादर्ता भ्याट असुली

काठमाडौं - टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ। मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन। तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ। नागरिकलाई हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ।

हाइपरले भ्याटमा दर्ता नभई झन्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको छ। उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो। उक्त कम्पनीले १९ महिनामा भ्याट कति असुली गरेको छ भन्ने तथ्यांक भने फेला परेको छैन। यसको कारोबार हेर्दा कम्पनीले १९ महिनामा करोडौं भ्याट असुली गरेको देखिन्छ। मुलुकमा अधिकांश साना ठूला व्यवसायीहरू भ्याट छली विवादमा आउने गरेका छन्।

हाइपरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भ्याट उठाएको स्वीकार गरे। ‘हामीले स्टार्टअप सुरु गर्दा भ्याटको प्रक्रियाका बारेमा थाहा नभएकाले भ्याट संकलन गरेका हौं,’ भट्टले मंगलबार नागरिकसँग भने, ‘अहिले हामीले भ्याट उठाउन बन्द गरेका छौं।’ भट्टले अहिलेसम्म कति रकम भ्याटबापत असुली गरेको हो भन्ने खुलाउन चाहेनन्।

कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन। तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ।

स्टार्टअप सुरु गर्दा राजस्वका विषयमा पनि थाहा नभएको उनले दाबी गरे। विभिन्न ‘डकुमेन्ट’ बनाउँदा केके शीर्षक राख्ने भन्ने विषयमा धरै जानकारी नहुँदा ‘भ्याट’ शीर्षक पनि राखेको उनको दाबी छ। ‘हामीले राखेको भ्याट शीर्षक टुटल एपमा मात्र देखिने हो,’ भट्टले भने, ‘यो अडिट गर्दा भने देखिँदैन।’

भट्टले जस्तोजुकै दाबी गरे पनि उनले तयार गरेको बिल हेर्दा कुनै व्यावसायिक घरनाको भन्दा भिन्न छैन। मुलुकमा भ्याट असुल गरेको २५ दिनपछि सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ। हाइपरले १९ महिनासम्म निरन्तर भ्याट असुली गरे पनि सरकारलाई बुझाएको छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा पूर्वराजस्व सचिव शिशिरकुमार ढुंगानाले भ्याटमा दर्ता नभई असुली गर्नु सरासर गैरकानुनी काम भएको बताए। ‘दर्ता भएर नम्बर नलिँदासम्म कसैले पनि भ्याट उठाउन पाउँदैन,’ ढुंगानाले भने, ‘यसो गरेको पाइए सरकारले कडा कारबाही गर्छ।’ अर्कोतिर हाइपरले बिलमा भ्याट उठाए पनि कम्पनीको अडिट गर्दा यसलाई देखाएको छैन। भ्याट लिने तर अडिटमा नदेखाउने कम्पनीको व्यवहारले पनि भ्याट छल्ने नियत गरेको देखिन्छ।

भ्याट बिल नहुँदासम्म अडिटमा भ्याट नजोडिने भएकाले भ्याट र अडिट फरक कुरा भएको तर्क भट्टको छ। सुरुमा एप दर्ता गर्दा यसको सेवाका बारेमा कुनै नीतिनियम नभएकाले यसमा भ्याट लाग्ने नलाग्ने विषय पनि आफूहरूलाई अन्योल भएको उनले बताए। एपमा भ्याट शीर्षक राखेपछि प्राविधिक विषय भएकाले यसलाई हटाउन केही समय लागेको उनको तर्क छ। भट्टले अहिले यात्रुबाट भ्याट असुली बन्द गरेको बताए पनि सेवाग्राहीको शुल्क घटाइएको छैन। पहिलेको भ्याटसहितको जति शुल्क टुटलले मोटरसाइकल चालकबाट लिन्थ्यो, अहिले पनि त्यो कायमै छ। भ्याटका विषयमा विवाद उठेपछि कम्पनीले भ्याटमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराए।

नागरिकलाई प्राप्त एक ग्राहकको ‘बुकिङ हिस्ट्री डिटेलस’ बिलअनुसार काठमाडौं गणेशमानसिंह रोडबाट भाटभटेनी सुपर मार्केटसम्म ४.४२४ किलोमिटर यात्रु बोकेको भाडा ८५ रुपैयाँ लिइएको छ। यसमा भ्याट, कमिसन, टिडिएस शुल्क कटाएर मोटरसाइकल चालकले ५४ रुपैया १६ पैसा पाएको छ। यस बिलमा भ्याट शीर्षकमा नौ रुपैयाँ ७८ पैसा, भ्याटपछिको भाडा ७५ रुपैयाँ २२ पैसा, कमिसन १५ रुपैयाँ, टिडिएससहितको आम्दानी ६० रुपैयाँ १८ पैसा र पार्टनर टिडिएस भनेर ६ रुपैयाँ उल्लेख गरिएको छ। कम्पनीले लिएको टिडिएस शुल्क भने नियमअनुसार सरकारलाई बुझाएको भट्टले बताए।

टुटल मोटरसाइकलमा यात्रु बोक्ने सेवा हो। यो कम्पनी रजिस्ट्रारको कार्यालयमा हाइपर लुक्स नेपाल कम्पनी प्रालिमा दर्ता भएको छ। दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग हाल १२ हजारभन्दा धेरै राइडर छन्। पूर्णकालीन मोटरसाइकल चालकले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाइरहेको कम्पनीले जनाएको छ। मोटरसाइकलमा यात्रु बोक्ने काम यातायात व्यवस्था ऐनविपरीत भएको भन्दै ट्राफिक प्रहरीले रोकेपछि यो सेवाबारे सर्वत्र चर्चा भएको थियो। प्रहरीले रोकेकै भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि अवरोध नगर्न आदेश दिएसँगै यो सेवा निरन्तर चलिरहेको छ।

प्रकाशित: ९ माघ २०७५ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App