coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिमरा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

संकटाविरुद्ध बल अगाडि बढाउँदै थ्री स्टारका खेलाडी । तस्बिर : उपेन्द्र/नागरिक

बारा– रुस्लान थ्री स्टारले सिएमजी संकटा क्लबलाई २–० ले पराजित गर्दै सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा भएको मंगलबारको खेलमा थ्री स्टारका विदेशी खेलाडी फोफना फोडे र सुसन श्रेष्ठले समान १–१ गोलको योगदान गर्दै आफ्नो टिमलाई अन्तिम चारमा पुर्याए।

खेलको १३औं मिनेटमा फोडेले थ्री स्टारका लागि खाता खोलेका थिए। रञ्जन विष्टले डी बक्सभित्र निकालेको सुन्दर पासलाई फोडेले गोलमा परिणत गरेका थिए। प्रशिक्षक मेघराज केसीको पहिलो रोजाइमा नपरेका सुसन श्रेष्ठले थ्री स्टारका लागि खेलको अन्तिम समयमा गोल गर्दै २–० को जित सुनिश्चित गरे। खेलको ७८औं मिनटमा फोफाना फोडेको स्थानमा मैदान छिरेका सुसनले ८५औं मिनेटमा गरेको गोल थ्री स्टारको जितमा पर्याप्त बन्यो। थ्री स्टारका रूपेश केसीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक संकटाका डिफेन्डरले डी बक्सबाट क्लियर गर्न नसक्दा सुसनले त्यसको फाइदा लिँदै जाली चुमाएका थिए।

थ्री स्टारविरुद्धको खेलमा पाएका केही अवसर सदुपयोग गर्न नसक्दा आठौं संस्करणको विजेता संकटा प्रतियोगिताबाट बाहिरिन पुगेको छ। पहिलो हाफअन्तर्गत इन्जुरी समयको अन्तिम मिनटमा सरोज दाहालको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले विफल पारेका थिए। सेन्टर लाइनबाट एकल प्रयासमा बल अघि बढाएका दाहालले डी बक्सबाहिरबाट गरेको सशक्त प्रहार विफल हुँदा पहिलो हाफमा बराबरी खेल्ने अवसर गुमेको थियो।

‘ए’ डिभिजन लिगपछि थ्री स्टारबाट बाहिरिएका खेलाडी नीराजन खड्कालाई समेत संकटाले थ्री स्टारविरुद्ध उतारेको थियो।

संकटाका अफ्रिकी खेलाडी क्रेडिक अब्बाले अर्को अवसर गुमाए। सेन्टर लाइनबाट अब्बाले अघि बढाएको बल डी एरियाबाट थ्री स्टारका डिफेन्डर डाम्बियाले क्लियर गरेका थिए। सिमरा रंगशालामा संकटाविरुद्ध हाबी भएको थ्री स्टारले पनि केही सुन्दर अवसर सदुपयोग गर्न सकेन।  खेलको ५३औं मिनटमा सुनिल बलको क्रस बल फोफाना फोडेले खेर फाले। पेनाल्टी एरियामा पाएको अवसरलाई फोडेले फितलो प्रहार गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाले बचाउ गरेका थिए।

५६औं मिनटमा रञ्जन विष्टको सुन्दर पास फोडेले खेर फाले। डी बक्सभित्र रञ्जनले निकालेको बललाई फोडेले सम्हाल्न नसक्दा बाहिरियो। यस्तै खेलको ७०औं मिनटमा रञ्जन विष्टको हेडिङ बल संकटाका सरोज दाहालले गोललाइनबाट क्लियर गरेका थिए। बल पन्च गर्न अघि बढेका संकटाका गोलरक्षकलाई बिट गर्दै रञ्जनले उत्कृष्ट हेडिङ गरेका थिए। खेलको म्यान अफ दी म्याच थ्री स्टारका डिफेन्डर अडामा डाम्बिया घोषित भए। उनले नगद दश हजार रुपियाँसहित ट्रफी हात पारे।

हारपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुआतमा एक गोलले पछि परेपछि खेलमा फर्कन नसक्दा पराजय बेहोरेको बताए। आफ्ना खेलाडीले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै प्रशिक्षक खड्गीले थ्री स्टारका खेलाडीले संकटाविरुद्ध सुन्दर प्रदर्शन गरेको बताए। ‘ए’ डिभिजन लिगपछि थ्री स्टारबाट बाहिरिएका खेलाडी नीराजन खड्कालाई समेत थ्री स्टारविरुद्धको खेलमा मैदान उतारेको संकटाका प्रशिक्षक खड्गीले खड्का संकटासँग अनुबन्धनको प्रक्रियामा रहेको बताए।

जितपछि खुसी देखिएका थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लगातारको प्रतियोगिताका कारण खेलाडीले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए। जितपछि खुसी भए पनि थ्री स्टारका खेलाडीले स्तरअनुसारको प्रदर्शन भने गर्न नसकेकोे बताए। लिगपछि टिममा केही नयाँ खेलाडी आएको बताउँदै उनीहरू टिममा ‘एडजस्ट’ हुन बाँकी रहेको उनको भनाइ थियो। खप्तड गोल्डकपले सिमरा गोल्डकपमा खेल्ने अन्य टिमलाई प्रभावित बनाएजस्तै आफ्नो टिम पनि प्रभावित रहेको बताउँदै केसीले सेमिफाइनलमा थ्री स्टारले सुधारिएको खेल प्रदर्शन गर्ने बताए। 

प्रकाशित: ८ माघ २०७५ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App