coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मृगौला पीडितलाई कतारबाट सहयोग

उदयपुर – उदयपुरकी एक मृगौला पीडित महिलालाई वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत नेपालीहरूले सहयोग पठाएका छन्। त्रियुगा नगरपालिका ६ लालपत्ताकी दुवै मृगौला पीडित ४३ वर्षीया यसाेदा खड्काको उपचारका लागि कतारमा कार्यरत नेपालीहरूले १ लाख ६५ हजार १ सय २२ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन्।

प्राप्त रकम मंगलबार लालपत्ता पुगेर कतारबाट फर्केका दानबहादुर राउतले पीडितका आफन्त पदम खड्कालाई हस्तान्तरण गरे। मृगौला पीडितलाई उपचार खर्च अभावको खबर थाहा पाएर कतारस्थित ‘नेपाली सहयोगी मन’ नामक समूहले खड्काको सहयोगार्थ कतारमा कार्यरत उदयपुरका युवाहरू मिलन कार्की, दानबहादुर राउत (कैलाश), दिनेश कार्की, बाबुराम निरौला, गोपाल कार्की, मदन बस्नेतलगायतको पहलमा उक्त सहयोग जुटाइएको हो।

मृगौला पीडितको सहायोगार्थ कुवेतमा कार्यरत रामकुमार खड्का र उद्धव थापाले पनि सहयोग गरेका छन्। थापाले आफन्तमार्फत पठाएको ५ हजार ५ रुपैयाँ र खडकाले १ हजार ५ सय पनि हस्तान्तरण गरियो। त्यस्तै लालपत्ताकै नेत्रबहादुर खत्रीले २ हजार, टंकबहादुर बस्नेतले २ हजार र बिनिता पोखरेलले १ हजार खड्कालाई सहयोग गरेका छन्। दुवै मृगौला पीडित यशोदाको विगत ९ महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। यसअघि मलेसियामा रहेका नेपाली युवाहरूको पहलमा १ लाख ५१ हजार रकम पीडितलाई प्रदान गरिसकिएको उनले बताए।

जेठाजु पदमका अनुसार खर्च अभावमा मृगौला फेर्न नसकेपछि उनलाई सातामा २ पटक डाइलासिस गर्दै राख्नुपरेको छ। ‘बुहारीको मृगौला प्रत्यारोपण गर्ने तयारी अस्पतालले गरिरहेको छ तर, आर्थिक अवस्था कमजोर भएकाले ढिलाई भइरहेको छ,’ खड्काले भने, ‘भएको जायजेथा सकिएपछि सार्वजनिक रुपमा अरुसँग सहयोग माग्नु परेको छ। यसरी सहयोग जुट्टै गए बुहारी निको हुन सक्लिन् भन्ने आशा छ।’

यशोदालाई पदमकै अर्का भाइ मदन खड्काले एउटा मृगौला दिने भएपनि आवश्यक खर्चकै अभावमा प्रत्यारोपण गर्न समय लागेको आफन्तले जनाएका  छन्। प्रत्यारोपन गर्न ६ लाख र औषधि, सर्जिकल सामानलगायत अन्य खर्चका लागि करिब १०–१२ लाख लाग्ने अस्पताललाई उद्धृत गर्दै पीडित परिवारले जनाएको छ। सहयोग जुट्दै गए छिट्टै मृगौला प्रत्यारोपण गरेर बिरामी घर फर्काउने आसा पीडित परिवारले लिएको छ।

प्रकाशित: ८ माघ २०७५ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App