coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

काठमाडाैं- सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ। 

दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए। सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम ‘फिनिसिङ’ हुन बाँकी छ। यसैगरी ८८५ मिटरमा ढलान गर्नुपर्ने छ। सुरुङभित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भ्यान्टिलेसन’ मध्ये दुई बनाउनुपर्नेछ। 

ग्याल्थुमबाट अम्बाथानबीचको ‘भ्यान्टिलेसन’ यसअघि नै छेडिएको छ। सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए। यसैगरी सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठूलो जिआइ पाइप राख्न बाँकी रहेको समितिले जनाएको छ। 

अनलाइनका माध्यमबाट दैनिक अनुगमन प्रणालीको उपकरण राख्नसमेत बाँकी छ। बाँकी कामका लागि कसरी अघि बढ्ने भन्ने विषयमा सरोकार भएका निकायसँग थप छलफल जारी रहनेछ। आइतबार इटालियन निर्माण व्यवसायी सिएमसीलाई ठेक्का तोड्ने विषयमा लेखिएको पत्रका लागि १४ दिन कुरिनेछ। यही माघ १९ गतेपछि अर्को प्रक्रियाबाट कामलाई निरन्तरता दिइने समितिले जनाएको छ। रासस

प्रकाशित: ८ माघ २०७५ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App