७ वैशाख २०८१ शुक्रबार
समाज

जमुनी सिंचाई आयोजनाको पानी ६ महिनाभित्र रौतहटमा आउने

जमुनी सिंचाई आयोजनाको ड्याम निरीक्षण गर्दै सांसद अफताव आलम, नारायणी सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद साह सहितका जनप्रतिनिधि । तस्बिर मदन/नागरिक

रौतहट – जमुनी सिंचाइ आयोजनाको पानी ६ महिनाभित्र गण्डक नहर हुँदै रौतहटमा आउने भएको छ। रौतहटको दक्षिण, पूर्वी भेगका किसानलाई समुचित रुपमा सिंचाईको व्यवस्थापन नहुँदा वर्षेनी अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता अबको ६ महिनाभित्र समाप्त हुने भएको छ।

बाराको कोतवालीस्थित जमुनी नदीमा निर्माणाधिन आयोजनाको ब्यारेजको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेकोे र ढोकाको काम गर्न मात्रै बाँकी रहेकोकोले आगामी ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गरी गण्डक नहरमा उक्त सिंचाई आयोजनाको पानी छोडने नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जनाएको छ।    

जमुनी सिंचाई आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि उक्त आयोजनाको पानी गण्डक नहरमा छोडेर बारा र रौतहटका किसानलाई खेतीपाती गर्नमा निकै मद्दत पुग्ने विश्वासलाई मध्यनगर गरी उक्त आयोजनाको निर्माण कार्य नारायणी सिंचाई व्यवस्थापन कार्यालयको निगरानीमा भइरहेको छ। सरकारले जमुनी नदीमा ब्यारेज निर्माण गरी बारा र रौतहटका किसानलाई सिंचाइ सुविधा उपलब्ध गराउनको लागि निकालेको टेण्डर २०७२ साल माघ १४ गते कुमार–आशिष–अमर जेभी कालीमाटी काठमाडौंले २२ करोड ८१ लाख भ्याट सहितको ठेक्का गरी २०७४ माघ १३ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएर सम्झौंता गरेका  थिए।

सिंचाइ आयोजनाको ढोकाको डिजाइन कमजोर भएकोले निर्माण कार्य रोकिएको थियो। निर्माण कार्य सुरु हुँदा ५४ टनको ढोका लगाउने डिजाइन तयार भएको थियो। पछि नदीमा पानीको बहावको अवस्थालाई मध्यनजर राख्दै हेवी ढोका लगाउनुपर्ने आवश्यक देखिएकोले डिजाइनमा परिवर्तन गरी अहिले १४४ टनको ढोका लगाउन आवश्यक रहेकोले अबको ६ महिना मित्र ढोकाको काम सकाएर आयोजना सञ्चालनमा ल्याउने नारायणी सिंचाई व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेश साहले बताए।

निर्माण कम्पनीले विभिन्न कारणवस निर्धारित समयमा आयोजनाको कार्य सम्पन्न नगरेकोले म्याद थप गर्न आवश्यक कागजात पेश गरेको बताउम्दै इन्जिनियर साहले आयोजना सञ्चालनमा आइसकेपछि रौतहटको ८३ सय हेक्टर र बाराको १२ सय हेक्टर गरी साढे ९ हजार हेक्टर खेती योग्य जमिन सिंचाई हुने दावी समेत गरे। जमुनी नदीमा ब्यारेज निर्माण गरी गण्डक नहरमा जोडिएको छ। उक्त नहरबाट बाराको सेक्टर ११ र १२ तथा रौतहटको १३, १४ तथा १५ नम्बर सेक्टर बागमती नदीसम्म सिंचाइ सुविधा पुर्याउने लक्ष्य यस आयोजनाको छ। सिंचाइको काम सम्पन्न गरी चाडै नहरमा पानी छोडनको लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद महम्मद आफताव आलमको नेतृत्वमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले जमुनी सिंचाई आयोजनाको निरीक्षण गरेका छन्।

आयोजनाको कार्य प्रगती बारे जिज्ञासा राख्न तथा निर्माणको कार्य कतिसम्म पुग्यो सोको निरीक्षण गर्न लावा लस्कर सहित सांसद आलमको टोली पुगेपछि नारायणी सिंचाई व्यवस्थापन कार्यालय विरगंजका प्रमुख राजेन्द्रप्रसाद साह सहितका प्रविधिक टोलीले अबको ६ महिनाभित्र सिंचाइ सुविधा उपलब्ध गराउने बताए। पहिलो चरणमा ११ देखि १३ नम्बर सेक्टरसम्म पानी पुर्याउने तथा बाँकी बागमती नदी वारीसम्म पानी पुर्याउन गण्डक नहरको ड्यामहरू अधिकांश स्थानमा विगतमा लाल बकैया नदीमा आएको बाढीको कारण भत्किएकाले सोको मर्मत तथा निर्माणका लागि डिपिआर गरी विभाग र सम्बन्धीत मन्त्रालयमा बजेट विनियोजनको लागि पठाइसकेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख साहले सांसद आलम सहितका पदाधिकारीलाई जानकारी गराएका थिए।

प्रकाशित: ८ माघ २०७५ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App