६ वैशाख २०८१ बिहीबार
अर्थ

चियाको नेपाली जात विकास गर्न माग

इलामको साखेजुङस्थित कञ्चनजंघा अर्गानिक चिया उद्योगमा गत साउनमा तयारी चिया केलाउँदै कामदार। तस्बिर : भीम/नागरिक

इलाम - चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्नेगरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्वबजारमा उत्पादनको ब्रान्ड चिनाउनै समस्या परेको उनीहरूको गुनासो छ। नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय जातको हो। चियाको तग्दा जातलाई चिनियाँ र गुम्तीलाई भारतीय क्लोन मानिन्छ। लामो अनुसन्धानपछि मात्र नेपाली चियामा नयाँ प्रजाति विकास गर्न सकिने भएकाले किसान र उद्योगीले चिया अनुसन्धानशाला स्थापनाको माग गरेका हुन्।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई इलाम आएका बेला यहाँका किसान–उद्यमी र चिया उत्पादन हुने क्षेत्रका जनप्रतिनिधिसमेतले विश्वमा नेपाली चियालाई बेग्लै पहिचान दिनु आवश्यक रहेकामा उनको ध्यानाकर्षणसमेत गरे। ‘हामी वर्षाैंदेखि भारतीय र चिनियाँ प्रजातिको चिया विश्वबजारमा बेचिरहेका छौं,’ चियाको मुख्य उत्पादन हुने क्षेत्र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले भने, ‘चियाको लोगो मात्र होइन, उत्पादन हुने देशको ठेट जात पनि विश्वबजारमा ब्रान्डिङ हुँदोरहेछ, हामी त अर्काको देशले उहिल्यै विश्वमा आफ्नो नाम लेखाइसकेको चिया मात्र बेचिरहेका रहेछौं।’

उनले इलाममा चिया अनुसन्धानशाला स्थापना गरेर नेपाली क्लोनको चिया उत्पादन गर्न ढिलो भइसकेको बताए। ‘अहिलेसम्म चियाबारे अनुसन्धान नै भएको छैन,’ मेयर राईले भने, ‘हावापानी र नयाँ बिरूवा भएकाले नेपाली चियाको गुणस्तर ज्यादै राम्रो भएपनि आफ्नै जात चाहिँ विकास गर्नु आवश्यक भएको छ।’ उनले मुख्यमन्त्री राईलाई जिल्लाका किसान–व्यवसायीले चिया विकास बोर्ड १ नम्बर प्रदेशमै राख्नसमेत माग गरेको बताए। अहिलेको चिया तथा कफी विकास बोर्डलाई अलग बनाएर चिया विकास बोर्ड मात्रै बनाउन किसानको माग छ। मेयर राईले बोर्डको कार्यालय पनि काठमाडौं होइन, १ नम्बर प्रदेशमै राखिनुपर्ने बताए।

‘चिया विकास बोर्डमा ४० प्रतिशत किसान र व्यवसायीको सहभागिता सुनिश्चित भएमात्रै चियामा प्रभावकारी काम हुनसक्छ,’ चिया व्यवसायी सोनाम लामाले भने, ‘चिया चिनेका व्यक्ति बोर्डमा भएमात्रै बोर्डले चिया क्षेत्रमा प्रभावकारी नतिजा ल्याउन सक्छ।’ कम्तीमा १५ वर्ष चिया क्षेत्रमा काम गरेको व्यक्तिलाई मात्रै बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नसमेत किसानले माग गरेका छन्।

चिया उत्पादन गरेर विश्वमा ख्याती कमाएका भारत र श्रीलंकाको चिया श्रमिकसम्बन्धी नीति–नियम, अनुदान र सरकारी लगानीको अध्ययन गरेर नेपाली चिया क्षेत्रमा विशेष योजना बनाउन पनि किसानको माग छ। ‘चिया बजारीकरणलाई पारदर्शी, प्रभावकारी र प्रतिस्पर्धात्मक रूपमा विकास गर्न धेरै पूर्वाधार निर्माणपछि काम गरिएपनि अक्सन केन्द्र सञ्चालन हुन सकेको छैन,’ चिया विस्तार आयोजनाको फिक्कल कार्यालयका प्रमुख इन्द्र अधिकारीले भने, ‘अक्सन केन्द्र चाँडो सञ्चालन गर्दा चिया क्षेत्रका समस्यामा दीर्घकालीन समाधान हुनसक्छ।’

चिया निर्यातमा १० प्रतिशत नगद अनुदान व्यवस्था गर्न, अन्तर्राष्ट्रियस्तरमा हुने मेला–महोत्सवमा यहाँको चियालाई नियमित प्रदर्शन गर्ने व्यवस्था गर्न र नेपाली चियाको साझा प्रतीक चिह्न दर्ता गरी लागू गर्न पनि किसानको माग छ। गतवर्ष नेपाली चियाको ‘नेपाल टी–क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको लोगो अन्तर्राष्ट्रिय बजारमा प्रयोग गर्ने घोषणा गरिएपनि सबै किसान र व्यवसायी त्यसमा सहमत हुन नसक्दा यसको प्रयोग प्रभावकारी हुन सकेको छैन। ‘सरकारले दिएको केही अनुदान पनि किसानसम्म पुग्नसमेत सकेको छैन,’ व्यवसायी लामाले भने, ‘बगानहरूको संरक्षणका लागि प्रतिकिलो हरियोपत्ती उत्पादनमा ५ देखि १० रुपैयाँसम्म नगद अनुदानकै व्यवस्था गर्नु उचित हुन्छ।’

नेपाली चिया उत्पादन साना किसानमा आधारित भएकाले उत्पादन बढाउन मलखाद, सिँचाइ, कीटनाशक औषधिसमेत अभाव हुने गरेको छ। चिया किसानले सहुलियतमा ऋणसमेत नपाएको गुनासो गरेका छन्। ‘अर्गानिक चिया खेती प्रवद्र्धनका लागि आवश्यक मल अनुदानको व्यवस्था गराइनुपर्छ,’ व्यवसायी लामाले भने, ‘अर्गानिक चियाको भविष्य र विश्वबजार राम्रो भएकाले किसान आकर्षित पनि छन्।’ किसानले हरियो पत्ती संकलन केन्द्र र ढुवानीका लागि आवश्यक सवारी साधन खरिदमा अन्तःशुल्क छुट र भन्सार महसुलमा आधामा झार्नसमेत माग गरेका छन्।

सरकारले रासायनिक मल र विषादी आयातमा लाखौं खर्चने तर अर्गानिकलाई सहायता नगरेको कन्याम चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष इकाराम श्रेष्ठले बताए। ‘अर्गानिक उत्पादकलाई सस्तो ब्याजदरमा ऋण दिने व्यवस्थासम्म भएपनि राहत हुनेथियो,’ अर्गानिक मल र विषादी उत्पादन गर्न र प्राविधिक सेवा सहुलियत गर्न सरकार जिम्मेवार बनोस्।’

चिया व्यवसायीसमेत रहेका १ नम्बर प्रदेशका सभासद् काजीमान कागतेले चिया विकास बोर्डमा किसानको पहुँच नै पुग्न नसकेको बताए। ‘बोर्डले चिया क्षेत्रका माग सम्बोधन गर्न सक्नुपर्छ,’ यसअघि बोर्डकै सदस्यसमेत भइसकेका कागतेले भने, ‘बोर्डमा चिया चिनेका प्रतिनिधि भइदिए किसान र व्यवसायीलाई काम गर्न सजिलो हुन्छ।’ नेपाली चियाको मुख्य बजार भारत भएपनि भारतमै उत्पादन भइरहेको चियामा सरकारी अनुदान बढी हुने भएकाले उत्पादन लागत कम हुँदा मूल्य पनि कम छ। त्यसको असरले नेपाली चियाले समेत भारतमा मूल्य पाउन सकेको छैन। ‘अन्तर्राष्ट्रिय बजारले खोजेको मागअनुसार चियाको गुणस्तर र परिमाण पु¥याउनु आवश्यक भएको छ,’ व्यवसायी लामा भन्छन्, ‘अनि मात्र भारतनिर्भर चियाको बजारलाई विस्तार गरी तेस्रो देशमा निर्यात गर्न सकिन्छ।’

प्रकाशित: ८ माघ २०७५ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App