८ वैशाख २०८१ शनिबार
कला

नेपाल यात्रामा नेत्सुके कला

काठमाडौं - एउटा गोही र पुतलीको आकारबीच हजारौं गुणा सानो वा ठुलोको भिन्नता हुन्छ। कमिलाको आकारलाई बिर्सेर मानिसलाई पनि कुनै बट्टाभित्र अटाउने आकारमा राख्नु कल्पना बाहिरको कुरा हो। राजधानीको जापानी राजदुतावासमा जापान फाउण्डेसनले आयोजना गरिरहेको ‘नेत्सुके कला प्रदर्शनी’मा यस्तै ठुला आकारका जीवजीवात्मा निकै सुक्ष्म आकारमा सजीव देखिए। काष्ठकलामा सुक्ष्मकलाको नमुनाका रूपमा राखिएको कलामा सुक्ष्मताबाटै पारखीले वृहत अनुभव बटुले।

जापानी कला पारखी टोमिटालाई सुक्ष्म कलाको सजीव चित्रणले निकै आकर्षित गर्‍यो। ‘देख्दै जीवित छन् जस्तो लाग्यो’, उनले अंग्रेजीमा भनिन्, ‘जनावर हो वा मानिस सबैको एउटा सानो संसार देखें।’ उनी एउटी नानीको आकृतिलाई वरिपरिबाट नियाल्दै थिइन्। ती बालिकाको मुहार, आँखा र ओठको स्वच्छ हाँसो त्यो सानो आकृतिमा उस्तै उज्यालो थियो। जति ठुलो मूर्तिमा वा साँच्चिकै बालिकामा भेटिन सक्थ्यो।
काष्ठकलाको उत्तम नमुनाका रूपमा नेत्सुके कला हरेक सीसाको बाकसभित्र मुस्कुराइरहेका थिए। बक्स उड विधिमा एक्रोलिक, सुन, चाँदीलगायतका प्राकृतिक धातु र रङहरूको मिश्रण नेत्सुके कलामा भेटिन्थ्यो। नेपालका लागि जापानी राजदुत मासामिची साइगोले प्रदर्शनीको सुरुवात गर्दै प्राचीन जापानीले सुरु गरेको यो कला नेपाल आइपुगेकोमा खुशी व्यक्त गरे।

नेपाली कलाकार गोपाल कलाप्रेमीले नेत्सुके कला सौन्दर्यवाद र प्रयोगवादमा आधारित रहेको उल्लेख गरे। ‘दर्शन बोकेको कारिगरिता हो’, कलाप्रेमीले भने, ‘अरु कलामा जस्तै यसमा पनि माटो, धातु आदिको प्रयोगले क्रान्ति आइसकेको छ।’ आइकोनोग्राफीको अध्ययन नेत्सुकेको लागि महत्वपूर्ण रहेको उनले औंल्याए। ‘नेत्सुके कलाको सिर्जना गर्न उच्च धैर्य, अध्ययन, लगाव, सीपसँगै प्रष्ट दृष्टिकोण आवश्यक पर्छ,’ समिक्षात्मक भावमा उनले थपे, ‘अझ यो मिनेजर कलाभन्दा आकर्षक कला हो।’

नेत्सुके कलाको सिर्जना गर्न उच्च धैर्य, अध्ययन, लगाव, सीपसँगै प्रष्ट दृष्टिकोण आवश्यक पर्छ। यो मिनेजर कलाभन्दा आकर्षक कला हो।

उनले मिनेजर कलाले अवलोकनकर्तालाई त्यति नजिक तान्न नसके पनि अवलोकनकर्तालाई निकै नजिक आकर्षण गरेर तान्ने जनाए। उनले जापानी जेन संस्कृतिबाट आएको हुनसक्ने अनुमान गरे। यो संस्कृति ध्यानसँग सम्बन्धित छ। सानो आकारमा रहेर पनि वृहत सोचको कलाकारिताले मानिसलाई पग्लन बाध्य गराउने सुनाए। उनले दर्शक र कलाको सम्बन्धलाई गहिरो बनाउन यसको अचम्मित तरिकाले आकर्षण पैदा गर्ने शक्ति रहेको बताए। ‘मानिसको जीवनको उतारचढावलाई नेत्सुकेले ध्यानतिर जान बाध्य बनाउँछ’, कलाप्रेमीले भने, ‘संसारमा सानो वा ठुलो भनेर छुट्याउनै गाह्राे बनाइदिन्छ।’

उनले भनेझैं हेर्नेहरू सीसाको बाकसमा अविराम नियाल्दै थिए। काठबाट बनेको अक्टोपसका दुई रूप कारिगरिता र भाव अभिव्यक्तिको उच्च नमुनामै गनिन्थ्यो। उसका आँखा, हेरेको दृष्टि, बसिरहेको भावभंगी महासागरमा भेटिने सजीव अक्टोपसभन्दा कम थिएन। छेपारोले पुतली खान गरिरहेको प्रयास होस् वा घाम तापिरहेको कछुवा नै किन नहोस प्राणीको छुट्टै संसारको कल्पना नेत्सुकेले गरे झैं भान पथ्र्यो।
सजीज निर्जीव दुवैथरी विषयवस्तु नेत्सुकेले समाहित गरेको थियो। इन्ट्रोडक्सन, लिजेण्डस् एण्ड फल्कलोर, इमाजिनेरी क्रियचर्स एण्ड डायटिज, प्लान्ट विथ वुड एज द मेटेरियल, एनिमल्स, स्पेसियल ट्विस्टस् अन क्लासिक मोटिफ्स् र ह्याण्डस् अन शिर्षकमा नेत्सुके कलाले विविधता कला प्रदर्शनीमा छरिरहेको छ।

सुर्ती राख्ने भाँडो, पैसा राख्ने थैलीलगायतका साना उपयोगी वस्तुसँग सामञ्जस्यता राख्दै  निर्माण गरिएका ती कलाले जापानमा आम मानिसलाई मनोरञ्जन दिने गरेको पाइन्छ। विशेष आकार प्रकारमा जे वस्तु छ। त्यसलाई हुवहु सुक्ष्म रूपमा उतार्नु नै नेत्सुकी कलाको मर्म हो। इडो कालखण्डदेखि नै जापानमा नेत्सुकी कलाको प्रयोग हुँदै आएको छ। कला प्रदर्शनीमा ४६ कलाकारले तयार पारेको ६५ नेत्सुके कला छन्। प्राचीन सामाग्रीसँगै आधुनिक सामग्रीको समेत प्रयोग गरी नेत्सुकेलाई समसामयिक बनाउने अभ्यास गरिएको भिडियोसमेत प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी जनवरी ३१ सम्म चल्नेछ।

प्रकाशित: ८ माघ २०७५ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App