७ वैशाख २०८१ शुक्रबार
कला

भाँडा फुटाएर मनाइयो मिला पुन्ही

छ्याला पुन्हीको दिन सोमबार भक्तपुरको चोकचोकमा फुटाइराखेका माटाका भाँडाकुँंडा। तस्बिरः कृष्ण/नागरिक

भक्तपुर – जात्रापर्व भनेपछि धेरैले भोजभतेर र बाजागाजाको पर्व भनेर सोच्छन् र बुझ्छन्। तर भक्तपुरमा सोमबार फरक खालको एउटा पर्व मनाइएको छ। जसलाई स्थानीय नेपाल भाषामा छ्याला पुन्ही वा मिला पुन्ही (पुर्णिमा) भनिन्छ।

भक्तपुर नगरका टोल–टोल तथा चोक–चोकमा माटाका भाँडाहरू फुटाएर पर्व मनाइएको हो। पर्वका कारण स्थानीयबासीले बिहानैदेखि नगरका सयौं चोकहरूमा माटाका भाँडाहरू फुटाएका थिए। यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ। यस दिन स्थानीयले नजिकको चोकमा घरघरमा भएका पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाँडा फुटाल्न लाने चलन छ। महिलाहरूले घरमा काम नलाग्ने घ्याप्पो, घैटो, फिल्टर, कप, बाटा, तपेसलगायतका पुराना माटाका भाँडाकुँंडा फुटाउन प्रयोग गर्छन्।

भक्तपुरकी कृष्णश्वरी ह्यौमिखा अरु सबै पर्वमा भोज खाने, बाजागाजा बजाएर रमाइलो गर्ने परम्परा रहे पनि यो पर्वमा बिहानै चोकचोकमा घरमा रहेका माटाका भाँडाकुँंडा फाल्ने लानेबाहेक केही नहुने बताउँछिन्। उनका अनुसार पर्वको दिन भोजभतेर केही पनि गरिँदैन।

पुरानो चर्के फुटेको भाँडा घरमा राख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाँडा चोकमा फाल्ने गरिन्छ।

अर्का पर्वप्रेमी सुनमाया तचामोका अनुसार भक्तपुरमा मनाइने पर्व दुई थरीका हुन्छन्। एउटा भोज खाने र अर्काे नखाने। उनका अनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको परिकार पाक्दैन। त्यो दिन भोज पनि खाँदैनन्।
संस्कृतिविद् जननीप्रसाद मुलका अनुसार विशेष गरी नेवार समुदाय माटाका भाँडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा छ।

छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्र्याउने परम्परा रहेको संस्कृतिविद् मुल सुनाउँंछन्। उनका अनुसार पुरानो चर्के फुटेको भाँडा घरमा राख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाँडा चोकमा फाल्ने गरिन्छ। पर्वलाई जीवन्तता दिन सके एकातिर परम्परागत भाँडाकुँंडा बनाउने पेशा जगेर्ना हुने र अर्काेतिर संस्कृति जीवन्त हुने विश्वास उनको छ। नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चल्न थालेको पाइएको उनी जनाउँछन्।

यस अवसरमा बिहान देवदेवीको पूजा गर्ने, खोलामा मेला लाग्ने, तीर्थ भर्ने र खोलामा गएर नुहाउने परम्परा छ। पूर्णिमाको दिनबाट नै काठमाडौंको साँखुमा माधवनारायाणको स्वस्थानी ब्रत सुरु हुने परम्परा छ। भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको ब्रत सुरु हुने गर्दछ। यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने काम सुरु हुन्छ।

प्रकाशित: ८ माघ २०७५ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App