८ वैशाख २०८१ शनिबार
खेल

मदन भण्डारी गोल्डकप माघ १२ देखि, विजेतालाई १६ लाख

इटहरी – मदन भण्डारी स्मृति इटहरी गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही माघ १२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिताको विजेतालाई १६ लाख र उपविजेतालाई आठ लाख रुपैयाँ पुरस्कार राशि राखेर माघ १२ गतेदेखि सुरु हुने प्रतियोगिता १९ गतेसम्म चल्नेछ।

अघिल्लो वर्ष मदन भण्डारी स्मृति इटहरी गोल्डकप प्रतियोगिता गर्दा विजेतालाई ११ लाख र उपविजेता टोलीलाई ५ लाख रुपैयाँ पुरस्कार दिइएको थियो। यस वर्ष धनगढीमा जारी तेस्रो खप्तड गोल्डकप प्रतियोगिताको विजेतालाई २१ लाख र उपविजेता टोलीलाई १० लाख पुरस्कार राशि तोकेपछि मदन भण्डारी गोल्डकपको पुरस्कारको राशि भने देशकै दोस्रो भएको छ।

पूर्वका सुनसरी, मोरङ र झापामा पछिल्लो समय ठूलठूला गोल्डकप प्रतियोगिता हुने क्रम बढेसँगै ठूलो नगद राशि राखेर सञ्चालित खेल मदन भण्डारी गोल्डकप नै हो। इटहरीमा मदन भण्डारी गोल्डकप दोस्रो संस्करण हुने भएपनि पूर्वकै पुरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा आठौं संस्करणसम्म हुँदै आएको स्वर्गीय दानवहादुर फुयँल स्मृति गोल्डकप फुटबल प्रतियोगितालाई परिमार्जन गरी तीन वर्षसम्म इटहरी गोल्डकपका रूपमा खेलाइँदै आएको थियो। अघिल्लो वर्षदेखि भने मदन भण्डारी गोल्डकपलाई निरन्तरता दिन थालेको हो।

‘इटहरीलाई खेलकुदका माध्यमद्वारा चिनाउन र युवा प्रतिभालाई बढीभन्दा बढी अवसर प्रदान गर्नका लागि ठूला प्रतियोगिता गर्ने क्रममा मदन भण्डारी गोल्डकप भएको हो,’ आयोजक राष्ट्रिय क्लबका अनुरोध थापाले भने। प्रतियोगितामा दुईवटा विदेशी पाहुना टोलीसहित आठवटा टोलीको सहभागिता रहनेछ। विदेशी पाहुना टोलीमा भारतको जर्ज टेलिग्राफ कोलकाता र डिफेन्स टोली फेमिली क्यामरुन रहनेछन्।

नेपालका तर्फबाट आयोजकसहित थ्री स्टार, त्रिभुवन आर्मी, झापा एघार, मनाङ मर्स्याङ्दी क्लब काठमाडौं र नेपाल पुलिस क्लब काठमाडौंको सहभागिता रहनेछ। गोल्डकपमा विजेता र उपविजेताबाहेक सर्वोत्कृष्ट खेलाडीलाई ४२ इन्चको टिभीसहित नगद ३० हजार प्रदान गरिनेछ। यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचलाई दस हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ।

विभिन्न विधाअन्तर्गत सर्वोत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फर्वाड र प्रशिक्षकलाई पुरस्कार दिइनेछ। यस्तै, सर्वाधिक गोलकर्तालाई तीस हजार नगद पनि प्रदान गरिनेछ। प्रतियोगिता गर्नका निम्ति कुल ६५ लाख रुपैयाँ खर्च लाग्ने आयोजक क्लबका अध्यक्ष सञ्जीव ढुंगानाले जनाए।

प्रकाशित: ८ माघ २०७५ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App