८ वैशाख २०८१ शनिबार
खेल

पुलिसलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

बललाई अगाडि बढाउने शेर्पाका खेलाडीलाई रोक्ने प्रयास गर्दै पुुलिसका खेलाडी। तस्बिर : उपेन्द्र/नागरिक

बारा – विभागीय टोली नेपाल पुलिसलाई २–० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ। सोमबार सिमरा रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले समान १–१ गोलको योगदान गरे। खेलको ८६औं मिनेटमा हिमालयनका लागि त्रिदेवले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पुलिसविरुद्ध शेर्पाका विश्वासले इन्जुरी समयमा थप एक गोल गर्दै टोलीलाई २–० को अग्रतामा पुर्याए। पुलिसका तेज तामाङ, रवि पासवान, अभिषेक रिजालजस्ता चर्चित खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। खेलमा पुलिसले हिमालयनविरुद्ध आकर्षक अवसर बनाउनै सकेन।

शनिबार वीरगन्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाइकल जित्न सफल भएका हिमालयनका विश्वास श्रेष्ठ पुलिसविरुद्धको खेलमा म्यान अफ दी म्याच घोषित हुँदै १० हजार नगद हात पार्न सफल भए।

हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले थकानका कारण खेलाडी चल्न नसकेको भन्दै हारलाई स्वभाविक रूपमा लिएको बताए। मोफसलमा लगातार प्रतियोगिता आयोजना हुँदा खेल्न गाह्रो हुने गरेको उनको भनाइ थियो। ‘प्रतियोगिताका आयोजकहरूले पनि क्लबको बाध्यतालाई हेरेर प्रतियोगिताको सेड्युल बनाउनुपर्छ,’ थापाले भने। थाकेका खेलाडीले जति खेले त्यसबाट आफू सन्तुष्ट रहेको उनको भनाइ थियो।

हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले संघर्षपूर्ण जितबाट सन्तुष्ट रहेको बताए। ‘पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि जितपछि सन्तुष्ट हुनैपर्छ’  उनले भने। मंगलबार अन्तिम क्वार्टरफाइनलमा आठौं संस्करणको विजेता संकटाले थ्री स्टारको सामना गर्नेछ।

प्रकाशित: ८ माघ २०७५ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App