coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सेरेनाद्वारा सिमोना स्तब्ध

सेरेना विलियम्सलाई बधाई दिँदै विश्व नम्बर एक सिमोना हालेप । तस्बिर : एपी

मेलबर्न –  पुरुषको विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुग्दा महिलातर्फको विश्व नम्बर एक सिमोना हालेप अन्तिम १६ बाटै बाहिरिएकी छन्।

मेलबर्न पार्कमा सोमबार भएको खेलमा ३१ वर्षे सर्बियन स्टार जोकोभिचले १५औं वरीयताका रसियाका डेनिल मेडभेडेभलाई ६–४, ६–७ (५–७), ६–२ र ६–३ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्। जोकोभिचले ३ घण्टा १५ मिनेट समय खर्चिएर संघर्षपूर्ण जित निकालेका थिए। जोकोभिचले अन्तिम आठमा जापानका केई निसिकोरीविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

शीर्ष वरीयताकी सिमोना हालेपलाई अस्ट्रेलियन ओपनको अन्तिम १६ को खेलमा स्तब्ध बनाउँदै अमेरिकी स्टार सेरेना विलियम्सले कीर्तिमानी २४औं ग्रान्ड स्लामको यात्रालाई जारी राखेकी छन्। मेलबर्न पार्कमा सोमबार भएको खेलमा विश्व नम्बर एक सिमोनालाई २–१ को सेटमा स्तब्ध बनाउँदै सेरेनाले अस्ट्रेलियाकी मार्गरेट कोर्टको सर्वाधिक २४औं ग्रान्ड स्लामको कीर्तिमानलाई बराबरी गर्ने यात्रा जारी राखेकी हुन्।

सन् २०१७ मै २३औं ग्रान्ड स्लाम जितिसकेकी सेरेनाले रोमानियाकी स्टार सिमोनालाई ६–१, ४–६ र ६–४ ले हराउँदै वर्षको पहिलो ग्रान्ड स्लामको दाबेदारी प्रस्तुत गरेकी छन्। सेरेनाले क्वार्टरफाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिसकोभाविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्। सेरेनाले खेल निकै चुनौतीपूर्ण रहेको बताइन्।

‘खेल निकै चुनौतीपूर्ण थियो, त्यसैले कतिपय अविश्वसनीय अंक पनि प्राप्त गरे,’ सेरेनाले भनिन्, ‘उनी विश्व नम्बर हुन्। उनीमाथि जित निकाल्नु सहज थिएन। यद्यपि, मैले लगातार चुनौती दिँदै जित निकालें।’

प्रकाशित: ८ माघ २०७५ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App