coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सहयोगमा जुट्दै पराजित नेता

ट्र्याक र टिसर्ट वितरणपछि आइतबार दिउँसो सर्लाहीको बाग्मती नगरपालिका–१२ स्थित बाग्मती प्राविका विद्यार्थीमाझ नेता साह। तस्बिर : टंक/नागरिक

सर्लाही - गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवार रहेका नरेन्द्र साह कलवार यतिखेर सोही क्षेत्रभित्रका विभिन्न स्थानमा विकास निर्माण र सहयोग प्रदान कार्यमा जुटिरहेका छन्। आइतबार पनि उनी दुई विद्यालय तथा एक कुम्भ यज्ञमा सहयोग गर्दै गरेको अवस्थामा भेटिए।

पूर्वसांसदसमेत रहेका साहले बाग्मती नगरपालिका–१२ स्थित बागमती प्राविका ७० विद्यार्थीलाई ट्र्याक र टिसर्ट वितरण गरे। उनले विद्यालयका लागि कुहिने एवं नकुहिने फोहोर राख्ने दुई थान आधुनिक डस्टबिन पनि प्रदान गरेको व्यवस्थापन समिति अध्यक्ष जय गोलेले जानकारी दिए। प्रधानाध्यापक नरेन्द्रप्रसाद यादवले अत्यन्त गरिब समुदायका छोराछोरीलाई न्यानो कपडा प्रदान गरेर नेता साहले ठूलो गुन लगाएको भन्दै धन्यवाद दिए। आइतबार नै उनले बाग्मती किनारमा भइरहेको कुम्भ मेलामा पण्डितहरूलाई जाडो छल्न भन्दै पाँचवटा ब्लाङ्केट प्रदान गरे भने घुर्कौलीस्थित एक विद्यालयका लागि समेत उनले सहयोग प्रदान गरे।

बाग्मती विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष एवं नेकपाका नेता रेवती पन्तले पूर्वसभासद् साहलाई राष्ट्रवादी अनि समाजसेवामा अत्यन्त भिज्ने नेता भएको धारणा राखे। ‘उहाँ अत्यन्त राष्ट्रवादी, सहयोगी अनि आत्मीय भावनाका हुनुहुन्छ,’ पन्तले भने। सांसद्मा पराजित भएर पनि चुनावताका व्यक्त प्रतिबद्धता पूरा गर्दै हिँड्ने कार्य अत्यन्त सराहनीय भएको भन्दै पन्तले साहको तारिफ गरे। त्यस्तै नेपाली कांग्रेसका बाग्मती नगर सभापति दीपक रानाभाटले सांसद्मा पराजित भएर पनि क्षेत्रभित्र विभिन्न सहयोग गर्दै गाउँगाउँ डुल्ने साहजस्ता व्यक्तित्वलाई समाजले अझै चिन्न नसकेको उल्लेख गरे। ‘क्षेत्रमा जितेका सांसद् बेपत्ताजत्तिकै हुनहुन्छ तर पराजित भएर पनि साह भने गाउँगाउँमा सहयोग गर्दै हिँडिरहनु भएको छ,’ उनले भने। विभिन्न पीडायुक्त घटनाबारे आफूले फेसबुकमा राख्नेबितिकै तत्काल चासो लिएर उचित सहयोगका लागि साह तयार हुने गरेको नेता रानाभाटले बताए।

जितेका सांसद केन्द्रमै रुमलिने प्रवृत्ति रहेको बेला पराजित भएर पनि चुनावताकाको प्रतिबद्धता पूरा गर्ने र समाजसेवाको क्षेत्रमा थप नयाँ रचनात्मक काम गर्ने साहजस्ता नेताबाट समाजले ठूलो लाभ लिन सक्ने साझा मत पन्त र रानाभाटले व्यक्त गरेका थिए। निर्वाचनताका आफूले चुनाव चिह्न चिनाउन मात्रै लागिपरेको र हाल त्यतिबेलाका प्रतिबद्धता पूरा गर्न लागिरहेको नेता साहले बताए। ‘चुनावताका जनाइएका प्रतिबद्धताअनुसार ८० प्रतिशत काम गरिसकें।’ विभिन्न ठाउँमा धर्मशाला, प्रतीक्षालय, मठमन्दिर निर्माणलगायत सडक स्तरोन्नति, खानेपानी ट्युबवेल, इनारमा पाइप, सामूहिक भाँडाकुँडा, कुर्सी, टेन्ट वितरणसमेत गरिएको साहले बताए।

२०५७ सालदेखि मुलुकका विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आए पनि २०७० सालबाट भने आफ्नै जन्मथलोमा बढी केन्द्रित हुन थालेको उनको भनाइ थियो। ‘होटल, क्यासिनोसहित पर्यटन क्षेत्रमा क्रियाशील मेरो व्यवसायिक सिएमजी ग्रुप छ,’ साहले भने, ‘मरेर के नै लानु छ र आफू जन्मेहुर्केको ठाउँमा केही गर्न सकिन्छ कि भनेर सामाजिक उत्तरदायित्वअन्तर्गत त्यही व्यवसायबाट हुने आम्दानीको निश्चित प्रतिशत समाजसेवामा खर्च गरिरहेको छु।’ २०७० सालदेखि २०७४ सालसम्म सभासद् हुँदा राज्यको कोषबाट पारदर्शी ढंगले काम गरेको उल्लेख गर्दै साहले पराजित भएपछि भने आफ्नो व्यक्तिगत खर्चमा समाजसेवाको कामहरू गरिरहेको दाबी गरे। २०७० सालको संविधानसभा निर्वाचनमा तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सभासद् बनेका साह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेका थिए।

प्रकाशित: ८ माघ २०७५ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App