८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसी गणेशमान भवनमा

काठमाडौं - चिकित्सा शिक्षा सुधारको माग १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन्। डा. केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारेको केसीका भाइ किशोर केसीले बताए।

‘अनशनको उद्देश्य पूरा गर्न गणेशमान भवनमा सर्छु भनेपछि सारेका हौं’, किशोरले भने, ‘वार्डको तुलनामा गणेशमान भवनको कोठामा शुभचिन्तक तथा मिडियालाई भेट्दा हाम्रो माग सम्बोधन गराउन सजिलो हुन्छ भन्नुभयो।’

यसैबीच उपचारमा संलग्न चिकित्सकले केसीको रक्तचाप सामान्य रहेको तर मांशपेसी दुख्ने समस्या भएको जनाएका छन्। उनको श्वास–प्रश्वासमा समस्या देखिएकाले अक्सिजन पनि दिइएको छ।

पन्ध्रौं सत्याग्रहका बेला गत साउनमा सरकारले केसीसित गरेको सम्झौताको विपरीत हुनेगरी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएपछि उनले अनशन सुरु गरेका हुन्। १६ औं सत्याग्रहको १३औं दिन बितिसक्दा पनि सरकारले केसीलाई वार्तामा बोलाएको छैन। सरकारले आफूसँगको सम्झौता अक्षरशः पालना नगरेसम्म अनशन नतोड्ने अडान डा. केसीले लिएका छन्।

चिकित्सकको विरोध जारी
डा. केसीको माग जायज भएको र यसलाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै सोमबार पनि विभिन्न अस्पतालका आवसीय चिकित्सकले विरोध प्रदर्शन गरेका छन्।

सोमबार राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल, बिपी कोइराला स्वास्थ्यबिज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षणलगायतका अस्पतालका आवासीय चिकित्सकले कालोपट्टी बाँधेर काम गरे। सोमबार साँझ सोलिडारिटी फर केसी अलायन्सले बानेश्वरमा मैनबत्ती बालेर केसीको अनशनको पक्षमा प्रदर्शन ग¥यो।

प्रकाशित: ८ माघ २०७५ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App