४ वैशाख २०८१ मंगलबार
राजनीति

बम्जन आश्रम प्रकरण : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी

फाइल तस्बिर

सिन्धुपाल्चोक- तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ। 

पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हैटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ। बाँडेगाउँको आश्रमभित्रै सञ्चलालाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो। 

सञ्चलालका छोरा महेन्द्र वाइवाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी दर्ता गरी दुई सातादेखि अनुसन्धान अघि बढाइरहेको प्रहरीले अहिलेसम्म यसबारे केही बताएको छैन। ‘अनुसन्धानमै केन्द्रित छौँ,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, ‘बलियो प्रमाण खोजी रहेका छौँ।’ मुद्दा बलियो बनाउन ठोस प्रमाण नजुट्दासम्म अनुसन्धानका विषयमा जानकारी दिने अवस्था नरहेको उनले बताए। 

तपस्वीको भेष धारण गरी बम्जनले आफ्नो आश्रमभित्र अनुयायीहरुमाथि ‘बलात्कार, हत्या र हिंसाको दुस्चक्र चलाएको’ सार्वजनिक भएपछि प्रहरीलाई शीघ्र अनुसन्धानमा चौतर्फी दबाव छ। बम्जनका विभिन्न आश्रमबाट पाँच अनुयायी (चेला, आनी) बेपत्ता भएको भन्दै पीडितका परिवारले सिन्धुपाल्चोकसहित मकवानपुर, नुवाकोट, बारा र सर्लाही प्रहरीमा जाहेरी दिएका छन्। 

बेपत्तामध्ये अनुयायी सञ्चलालको भने हत्या नै भएको सार्वजनिक भएपछि सिंगो प्रहरी बल पहिलो चरणमा उनको अनुसन्धानमा केन्दित भएको हो। सिन्धुपाल्चोक प्रहरीले अनुयायी हत्या आरोप लागेको बाँडेगाउँ र हाल बम्जन बस्दै आएको सिन्धुली आश्रमबाट एकसाथ अनुसन्धान अघि बढाइरहेको छ। यसका निम्ति सिन्धुपाल्चोकका डिएसपी बिमलराज कँडेल अनुसन्धान अधिकृत तोकिएका छन्। 

प्रहरी संगठनमा उनी अनुसन्धानमा पोख्त अधिकारी मानिन्छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धानलाई सघाइरहेका छन्। जाहेरी परेका जिल्ला प्रहरी कार्यालयले समेत अनुसन्धान अघि बढाइरहेका छन्। बेपत्तामध्ये तीन अनुयायी हराएको बाँडेगाउँ आश्रमलाई प्रहरीले अनुसन्धानको केन्द्रमा राखेको छ। त्यहाँ प्रहरीले लगातार बेपत्ताहरुको खोजी र शंकास्पदस्थल उत्खनन् गरिरहेको छ। 

बाँडेगाउँ आश्रममा यसैसाता केन्द्रीय प्रहरी कुकुर स्कुलबाट खटिएका ‘सर्च एण्ड रेस्क्यू’ मा प्रयोग हुने चारवटा कुकुर परिचालन गरिएको थियो। ‘सेफर्ड’ र ‘ल्याबाडोर’ जातका कुकुरले संकेत गरेका स्थल उत्खनन् गरी थप शंकास्पद बस्तु संकलन गरी परीक्षणका लागि पठाएको प्रहरीको अनुसन्धान स्रोतले बतायो। पूराना शव उत्खनन्मा सहयोगी मानिएका ती कुकुरले हराएका ब्यक्तिको नङ, कपडा र कपाल सुँघेर अनुसन्धानलाई सघाउँछन्। 

कुकुरले संकेत स्थान उत्खनन् गर्दा प्रहरीले एउटा मरेको घोडा फेला पारेको थियो। २०७० असोज ४ गते बम्जन बाँडेगाउँ आश्रम आउँदा दुइटा घोडा सँगै ल्याएका थिए। ल्याउने क्रममा बिरामी भएको एउटा घोडा केही समयपछि आश्रममै मरेको थियो। उत्खनन् गरी भेटिएको जनावरको कंकाल त्यही घोडाको भएको प्रहरीको निष्कर्ष छ। 

यसअघि पुस २० गते सिआइवीसहितको टोलीले बाँडेगाउँ आश्रममा छापा मारेको थियो। सार्वजनिक सूचना र जाहेरीका आधारमा सञ्चलालाई हत्या गरी गाडिएको आशंका गरिँदै आएको स्थान उत्खनन् गर्दा प्रहरीले जथाभावी च्यातिएका नुनका खाली नौवटा प्याकेट फेला पारेको थियो। छिट्टै सडाउन २० पोका नुन छरेर शब गाडेको सूचना सिआइबीलाई थियो। तर त्यतिबेला शब भने फेला परेको थिएन।

शब अन्यत्रै सारेर गाडेको वा जलाएको आशंकामा प्रहरीले कुकुर परिचालन गरेको छ। तर अहिलेसम्म प्रहरीले शब वा त्यसका कंकाल फेला पार्न सकेको छैन। ८० रोपनी क्षेत्रफलमा फैलिएको बाँडेगाउँ आश्रमसहित थप पाँचसय मिटर आसपासको बन क्षेत्रमा खोजी तथा उत्खनन् जारी राखेको जिल्ला प्रहरी स्रोतले जानकारी दियो। 

अनुयायी सञ्चलाल २०७१ चैत १४ सम्म परिवारको सम्पर्कमा दिए। प्रत्यक्षदर्शी चेलाले दिएको जानकारी अनुसार २०७१ चैतमा बम्जन र उनका अरु चेलाले कुट्दा कुट्दै उनको ज्यान गएको थियो। सञ्चलालसँगै कुटाइ खाने हेटौँडाकै इन्द्रबहादुर स्याङतान अहिले सिन्धुलीस्थित आश्रममा छन्। उनीसहित त्यतिबेला बाँडेगाउँ आश्रममा रहेका ६ अनुयायीलाई सिन्धुपाल्चोक प्रहरीको अनुसन्धान टोलीले सिन्धुलीमै पुगेर सोधपुछ गरेको छ। 

प्रहरी स्रोतका अनुसार इन्द्रबहादुरबाट सञ्चलालबारे अहिलेसम्म कुनै सूचना प्राप्त हुन सकेको छैन। ‘उन (इन्द्रबहादुर) ले केही थाहा नभएको दाबी गरे पनि पोलिग्राफ टेस्टमा झुट बोलेको देखियो,’ अनुसन्धान टोलीका एक सदस्यले भने। सञ्चलाल हत्याका प्रत्यक्षदर्शी मानिएका इन्द्रवहादुरसहितका अनुयायीमाथिको अनुसन्धान नसकिएको प्रहरीले जनाएको छ। उनीहरु सिन्धुली प्रहरीको प्रत्यक्ष निगरानीमा छन्।

प्रहरीले बम्जनका विभिन्न आश्रम रहेका स्थल नजिकका स्थानीय, बेपत्ताका आफन्तसमेतलाई सिन्धुपाल्चोक बोलाएर सोधपुछ गरिरहेको छ। यसै क्रममा आश्रम रहेको बाराका केही स्थानीय, बमजनलाई नजिकबाट चिन्ने र आश्रमको गतिबिधी बुझ्ने ब्यक्ति आएर प्रहरीलाई बयान दिइसकेका छन्। ‘अनुसन्धान साँघुरिनुको सट्टा फराकिलो बन्दै गएको छ,’ अनुसन्धान स्रोत भन्छ, ‘धेरै व्यक्तिसम्म पुग्नु पर्ने अवस्था आएकाले अनुसन्धान लम्बिने देखियो।’ 

को–को भए बम्जन आश्रमबाट बेपत्ता ?

बेपत्ता अनुयायी ठेगाना बेपत्ता समय र स्थान जाहेरी कर्ता जाहेरीस्थल

सञ्चलाल बाइवा हेटौँडा उपमहानगर–१४, बनस्पति टोल, मकवानपुर २०७१ चैत, सिन्धुपाल्चोक महेन्द्र बाइवा (छोरा) जिल्ला प्रहरी सिन्धुपाल्चोक

फूलमाया रुम्बा (डोल्मो) हैटौँडा रंगशाला, मकवानपुर २०७१ माघ, सिन्धुपाल्चोक विजय रुम्बा (भाइ) जिल्ला प्रहरी मकवानपुर

कर्मा तामाङ (चुल्मो) नुवाकोट २०७१ माघ, सिन्धुपाल्चोक गंगामाया तामाङ (दिदी) जिल्ला प्रहरी नुवाकोट

सुरेश आलेमगर जीतपुर सिमरा उपमहानगर–१८, बारा तीन वर्षदेखि, – हस्तबहादुर आलेमगर (बुबा) जिल्ला प्रहरी बारा 

रीता बोट बाग्मती नपा, काजीराम टोल, सर्लाही २०६६, – सुम्नी बोट (आमा) जिल्ला प्रहरी सर्लाही

प्रकाशित: ७ माघ २०७५ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App