१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोरमा थुनिएकी महिलाको उपचारपछि स्वास्थ्यमा सुधार

भेट गर्न पुगेका गाउँपालिका प्रमुख भुपेन्द्र राईसँग कुराकानी गर्दै रमिला तामाङ । तस्बिर : नागरिक

खोटाङ– मानसिक समस्याबाट पीडित हुँदा खोरमा थुनिएकी खोटाङकी एक महिला उपचारपछि निको भएकी छिन्। मानसिक सन्तुलन गुम्ने समस्याबाट ग्रसित भएपछि परिवारले खोरमा थुनेर राखेका दिप्रुङ चुईचुम्मा गाउँपालिका ६ छितापोखरीकी ३३ वर्षीय रमिला तामाङको महिना दिनको उपचारपछि स्वास्थ्यमा सुधार आएको हो। दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईको पहलमा पुस ६ गते मानसिक अस्पताल लगनखेलमा भर्ना गरिएकी तामाङ सोमबार डिस्चार्ज भएकी छिन्। 

केही महिनादेखि पशुसरह खोरमा थुनेर राखिएकी तामाङलाई गाउँपालिका प्रमुख राईले पुस ३ गते खोरबाट उद्दार गरी उपचारका लागि काठ्माडौं पठाएका थिए। अस्पतालसम्म पु¥याउनका लागि १० हजार प्रदान गरेका गाउँपालिका प्रमुख राईले रमिलाको उपचारकाक्रममा लागेको सम्पूर्ण खर्च व्यक्तिगतरुपमा आफैले व्यहोर्ने बताए। ‘तीन पटक गरी रमिलालाई हालसम्म व्यक्तिगत ३३ हजार दिइसकेको छु,’ गाउँपालिका प्रमुख राईले भने, ‘उपचारको क्रममा लागेको सम्पूर्ण खर्च व्यक्तिगत रुपमा म आफैले व्यहोर्ने छु। लागेको खर्चको हिसाव देखाएपछि बाँकी रकम पनि म आफैले तिरिदिने सल्लाह भएको छ।’ 

रमिलाको मानसिक अवस्थामा सुधार आएपछि तामाङ परिवारमा खुसीयाली छाएको छ। उपचार पनि रमिलाको मानसिक अवस्थामा पूर्ण सुधार भएको श्रीमान मनीकुमार तामाङले बताए। ‘करिब ६० हजार खर्च भएको छ। तर, श्रीमतीको स्वास्थ्यमा सुधार आएको छ,’ मनीकुमारले भने, ‘नियमित औषधि खानु पर्ने भएको छ। डाक्टरले तीन महिनापछि चेकजाँचमा आउन सल्लाह दिएको छ।’ तामाङ दम्पत्तीका एक छोरी र एक छोरा छन्। 

गीत गाउने, नाच्ने, मन लाग्दो गर्ने, थालबटुका फाल्ने, खुकुरी बोक्ने, गोरु फुकाइदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने लगायतका अस्वभाबिक क्रियाकलाप देखाइरहेपछि आफन्तले तामाङलाई खोरमा थुनेर राखेका थिए। आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई परिवारले सुबिधा सम्पन्न अस्पतालमा पु-याउन नसक्दा खोरमा थुनेर राखेको बताइएको छ। २०७४ साल असार ७ गते टाउको दुखेको बताएकी रमिलामा अस्वभाबिक समस्या देखिन थालेको स्थानीयले बताएका छन्। उपचारका लागि गत मंसिरमा धरानमा लगिए पनि स्वास्थ्य समस्या हल नभएपछि उनलाई घरैमा फर्काइएको आफन्तको भनाई छ। 

प्रकाशित: ७ माघ २०७५ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App