coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक तथा पुल निर्माणमा व्यापक अनियमितता, स्थानीयद्वारा कामकाज अवरुद्ध

युवा नेता शम्भु साह सहित स्थानीय बासिन्दाहरु कामलाई अवरुद्ध पार्दै । तस्बिर : मदन/ नागरिक

रौतहट - रौतहटमा अबाैँ बजेटका सडक तथा पुल निर्माण कार्यमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले कामकाज अवरुद्ध पारेका छन्। नियमन गर्ने निकाय सहरी विकास तथा भवन निर्माण विभागका उच्च पदस्थ कर्मचारीहरूकै मिलोमतोमा उक्त सडक तथा पुल निर्माण कार्यमा व्यापक अनियमितता भएपछि स्थानीयले कामकाज अवरुद्ध पार्दै अख्तियारमा उजुरी दिने विषयमा समेत छलफल गरिरहेका छन्।

करिब एक बर्ष पहिले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको करिब ५२ किलोमिटर लामो विभिन्न सडक तथा अन्य योजनाको निर्माण कार्यमा ठेक्का लिएका निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि निर्माण कार्य बन्द गराएका हुन्। गौर र राजदेवी नगरपालिका तथा यमुनामाई गाउपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत झण्डै दुई अर्ब भन्दाबढीको आयोजना संचालनमा छन् । उक्त आयोजनाको करिब डेढ बर्ष पहिले स्वच्छन्द ढुकुछु आश्रय जेभीले ठेक्का लिएर गत बर्षदेखि नै निर्माण गरिरहेको सडकमा पहिलो चरणको माटो पुर्ने र पुल निर्माणको काम गुणस्तरहीन गरेपनि सम्बिन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन्।

स्थानीयका अनुसार विभागकै मिलोमतोमा ठेकेदारले नियम कानुनको ठाडो उल्लंघन गरेर गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेर सडक निर्माण गरिरहेको छ। जनताको प्रत्यक्ष सरोकार रहेको बाटोघाटो, पुलपुलेसा जस्तो संवेदनशिल विषयमा ख्याल ठट्टा गरी आफू खुशी कमसल निर्माण सामाग्री प्रयोग गरेपनि सम्बन्धित निकाय समेत मौन बसेकोले कामकाज अवरुद्ध पारिएकाे पुर्व वडा अध्यक्ष प्रसाद साहले बताए । उनले भने,‘ सहरी विकास तथा भवन निर्माण विभागका कर्मचारीको संलग्नतामा यस्तो गुणस्तहीन काम भएपछि बाध्य भएर कामकाज अवरुद्ध गरिएको हो।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ का सदस्य एवं युवा नेता शम्भु साहले पुलको वेस ढलानमा ठूला ठूला गिटीहरु प्रयोग भइरहेको बताउँदै यस्ता गिटी, बालुवा र गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोगले निर्मित सडक, पूल भविष्यमा जोखिम निम्ताउने छन्। निर्माण कार्यको जिम्मा पाएको आश्रय निर्माण सेवाका प्रोप्राइटर रामश्रे प्रसाद साहले भने स्टीमेट अनुसारको कामकाज गरिरहेको बताए ।

प्रकाशित: ७ माघ २०७५ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App