७ वैशाख २०८१ शुक्रबार
राजनीति

दललाई कस्दै सरकारले संसदमा दर्ता गरायाे नयाँ विधेयक

काठमाडौं–सरकारले सरकारी वा निजी सम्पत्तिमा राजनीतिक दलले हानि पुर्याए वा पुर्याउन लगाए त्यसको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गरेको छ ।

सरकारले सोमबार संसद्मा दर्ता गरेको ‘राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा हडताल, पर्चा–पम्प्लेट, रंगरोगन र तोडफोड गरी सम्पत्तिमा क्षति पु¥याए सम्बन्धित दलबाटै असुलउपर गर्ने नयाँ व्यवस्था गरिएको छ । दलहरूका कारण निजी सम्पत्तिमा क्षति भए सम्पत्ति धनीले र सार्वजनिक सम्पत्तिको हकमा तोकिएको अधिकारीले हानि पु¥याए ३५ दिनभित्र क्षतिपूर्ति दाबी गर्दै जिल्ला अदालतमा उजुरी दिन सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

कुनै दलले सम्पत्ति विवरण उपलब्ध नगराए ५० हजारसम्म जरिवाना र दुई निर्वाचनसम्म भाग लिन नपाउने  प्रस्ताव

यस्तो उजुरीमा निर्णय गर्दा सम्बन्धित जिल्ला अदालतले क्षतिपूर्ति तिर्ने दायित्व दलको प्रमुख पदाधिकारीको हुने विधेयकमा उल्लेख छ । कुनै दलले सम्पत्ति विवरण उपलब्ध नगराए ५० हजारसम्म जरिवाना र दुई निर्वाचनसम्म भाग लिन नपाउने व्यवस्था पनि प्रस्तावित छ । एकल चुनाव चिह्न लिई दुई वा सोभन्दा बढी दलले निर्वाचनमा भाग लिन सक्ने नयाँ व्यवस्था पनि प्रस्ताव गरिएको छ । संयुक्त रूपमा निर्वाचनमा भाग लिन चाहने दलले निवेदन दिन सक्ने तर उम्मेदवार कुन दलसँग सम्बन्धित हो, खुलाउनुपर्ने विधेयकमा उल्लेख छ ।

विधेयकले दलहरूलाई आर्थिक सहायता लिने बाटो पनि खोल्ने छ । दललाई नेपाली नागरिक वा संगठित संस्थाले स्वेच्छाले आर्थिक सहयोग गर्न सक्ने व्यवस्था विधेयकमा छ । तर, दलले सरकारी कार्यालय, सार्वजनिक निकाय, सामुदायिक विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, विदेशी सरकार, नाम नखुलेको व्यक्ति र आयोगले तोकेको व्यक्तिसँग रकम लिन नपाउने प्रस्ताव विधेयकमा गरिएको छ ।
विधेयकले दलहरू जुनसुकै समयमा एकीकरण हुनसक्ने व्यवस्था पनि गरेको छ । एकीकरण हुने वा गाभिन चाहने दलले ३५ दिनभित्र विधान र केन्द्रीय समितिको निर्णयसहित निवेदन दिनुपर्ने विधेयकमा उल्लेख छ ।

विधेयकमा दल दर्ताका लागि कम्तीमा पाँच सय मतदाता हुनुपर्ने नयाँ व्यवस्था छ । यसअघि १० हजार मतदाताको समर्थनसहितको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्थालाई केही खुकुलो पारिएको छ । तर, नयाँ व्यवस्थाअनुसार पाँचसय जनाको हस्ताक्षर नभई दलको सदस्यता प्राप्त गरेको प्रतिवद्धतापत्र बुझाउनुपर्ने विधेयकमा उल्लेख छ ।

निर्वाचन आयोगको काम–कर्तव्यसम्बन्धी विधेयकमा संघीय कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सरकारले आयोगको परामर्शमा निर्वाचन गराउन मिति तोक्ने व्यवस्था प्रस्ताव गरिएको छ । लामो समयसम्म्म निर्वाचन हुन नसकेको अवस्थामा निर्वाचन मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्ने आवाज उठे पनि सरकारले त्यसलाई अस्वीकार गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

निर्वाचन आयोगले गरेको मस्यौदामा भने निर्वाचन तोक्ने अधिकार आयोगलाई हुनुपर्ने प्रस्ताव गरिएको थियो । निर्वाचन परिणाम घोषणा नहुँदै आयोगमा उजुरी दिनुपर्ने भए पनि यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।

 

प्रकाशित: १८ आश्विन २०७३ ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App