७ वैशाख २०८१ शुक्रबार
अन्य

चिरिच्याट्ट ललितपुरको कमलपोखरी

ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक कमलपोखरी। तस्बिर : शिवहरि/काष्ठमण्डप

ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक ‘कमलपोखरी’ अहिले चिरिच्याट्ट बनेको छ । महानगरपालिकाले पोखरीभित्रको फोहर हटाएर पानी भरेपछि पोखरीको रूप बदलिएको हो। एक वर्षअघिसम्म वरिपरिको पर्खाल भत्किँदा जीर्ण बनेको पोखरी अहिले सिँगारिएको छ। 

‘४० वर्षअघिसम्म भवनपछाडि चार ऐतिहासिक राणाकालीन पोखरी थिए । ती सबै पुरिए, अहिले एउटा पोखरी बाँकी छ । त्यसलाई संरक्षणको खाँचो छ,’ ललितपुर महानगरपालिकाका पूर्र्वमेयर तथा सांस्कृतिक सम्पदा संरक्षणमा काम गर्दै आएका बुद्धिराज बज्राचार्यले भने, ‘अहिले उपमहानगरपालिकाको भवन पछाडि देखिने एउटा पोखरीलाई चिटिक्क पारिएको छ, अन्य पोखरी पनि यही शैलीमा सफा र व्यवस्थित गरिनुपर्छ ।’ सरकारी निकाय र स्थानीय मिलेर पुराना ढुंगेधारा र पोखरीको उचित संरक्षण गर्न आवश्यक रहेको उनको आग्रह छ ।

ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार अहिले उपमहानगरपालिका भवनपछाडि रहेको जग्गालाई सरसफाइ गरी गार्डेन बनाउन लागिएको छ । केही भागमा बिरुवा र पाटी निर्माण गरिसकिएको उनले बताए । उनका अनुसार भवनपछाडिको खाली जग्गा र ऐतिहासिक पोखरी सरसफाइ गरेर व्यवस्थित पारिएको छ । यसका लागि जनप्रतिनिधि आइसकेपछि काम सुरु भएको थियो । ‘हामीले ऐतिहासिक कमलपोखरीलाई उचित संरक्षण र खुला चौरलाई गार्डेन बनाउने उद्देश्यले छलफल गरिरहेका छौँ, त्यसको काम पनि सकिएको छ, अन्य ठाउँका पोखरी पनि यसैगरी व्यवस्थित गरिनुपर्छ,’ मेयर महर्जनले भने । महानगरले महानगर भित्रका अन्य पोखरी र ढुंगेधाराको साख जोगाउन नयाँ योजना बनाएको उनको भनाई छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको करिब दुई रोपनी जग्गा र पोखरीलाई यसअघि झार र फोहोरले छोपेको थियो । पछिल्लो ६ महिनायता महानगरपालिकाले यसको सरसफाइतर्फ चासो देखाएको छ । नगरपालिका भवन छेउमै रहेको पोखरीको मर्मतसम्भार गरेर चिटिक्क पारिएको हो ।

संस्कृतिविद् बज्राचार्यका अनुसार १५ वर्षअघिसम्म ललितपुर महानगर क्षेत्रमा ३० भन्दा बढी ऐतिहासिक पोखरी थिए । ‘तीमध्ये अहिले सात पोखरी पुरिए । पाँच तसुकिसके,’ उनले भने, ‘अन्य पोखरी भने स्थानीयले नै संरक्षण गरेकाले बचेका छन्, अब मेटिन लागेका पोखरीलाई पुरानै तहमा फर्काउनुपर्छ ।’
ललितपुर महानगरपालिकाभित्रका ढुंगेधाराको मुहान पोखरी भएको र पोखरी नै सुक्दा ढुंगेधारा पनि सुक्दै गएको स्थानीय बताउँछन् । ‘पाटन क्षेत्रमा तीन राजकुलो छन्, पहिले तीनै राजकुलोको पानीपोखरीमा खस्थ्यो । तर, अहिले राजकुलोको निसाना मेटिएको छ,’ स्थानीय सुरज व्यञ्जनकारले भने । उनका अनुसार केही महिनाअघि जावलाखेल प्रहरी परिसरले उपमहानगरपालिकासँग सहकार्य गरी ढुंगेधारा सफाइ अभियान थालेको थियो । तर, दुई–तीन धारामै अभियान सीमित रह्यो।

प्रकाशित: ७ माघ २०७५ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App