मुगु - त्रिदेशीय महत्वको व्यापारिक मार्गका रुपमा हेरिएको गमगढी–नाक्चे लाग्ना सडकको निर्माण प्राथामिकताका साथ अघि बढाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको १० महिना पुगे पनि प्रगति शून्य छ।
२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा तिब्बतसँग जोड्ने गमगढी–नाक्चे लाग्ना सडकको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न आफू र सरकारले उच्च प्राथमिकता दिने, विश्वका चारवटा धाममध्ये जेठो मानिएकोे छायानाथलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन प्राथमिकता दिने र राराको बृहत् गुरुयोजना निर्माण गरी पर्यटन विकासमा प्राथमिकता दिने उनले सम्बोधनमा बताए पनि त्यो सम्बोधन सञ्चार माध्यमका मुख्य समाचारमै सीमित बन्न पुगेको छ।
२०७३ पुुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने गमगढी–नाक्चे लाग्ना सडक निर्माण छिटो गर्न सदरमुकाम गमगढीमा परियोजना कार्यालय स्थापना गर्ने निर्णय गरी कार्यालय पनि खोलिएको छ। ताल्च विमानस्थलमा स्थापना गरिएको परियोजना कार्यालय एक कोठामै सीमित छ। गत साउनयता त्यहाँका कर्मचारीले तलबसमेत पाएका छैनन्।
प्रधानमन्त्रीको सम्बोधनपछि सरकारले चालु आर्थिक वर्षमा यो सडकका लागि पर्याप्त बजेट विनियोजन गरी निर्माण कार्यलाई तीव्रता दिने अपेक्षा गरिए पनि त्यसो भएन। राष्ट्रिय योजना आयोगको रातो किताबमा प्राथामिकता दिइएको भने पनि अर्थ मन्त्रालयले दुई करोड बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सोझै परियोजना कार्यालयमा पठाउनुपर्नेमा कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा पठाएकाले अहिलेसम्म बजेट आउन नसकेको गमगढी–नाक्चे लाग्ना सडक परियोजना कार्यालयका निमित्त प्रमुख धान्ने बुढाले जानकारी दिए। बुढाका अनुसार प्रदेश सरकारमा आएको बजेट पुनः संघीय सरकारको भौतिक पूर्वाधार तथा योजना निर्माण मन्त्रालयमा गएर जिल्लामा आउने छ।
नाक्चे लाग्ना–गमगढीसम्मको ९२ किलोमिटरमध्ये हालसम्म जम्मा १६.५ किलोमिटर सडक खनिएको छ। आर्थिक वर्ष २०७४÷०७५ मा करिब एक करोडको ठेक्का लगाइए पनि अहिलेसम्म कुनै काम भएको छैन। चालु आर्थिक वर्षमा आउने भनिएको रकम नआएको परियोजनाले जनाएको छ। २०६६ सालबाट निर्माण थालिएको यो सडकलाई सरकारले उत्तर–दक्षिण सडक आयोजना अन्तर्गत राखेको छ। सडकको निर्माण कार्य सुरु गरिएको नौ वर्ष सकिन लाग्दा जम्मा १६ किलोमिटर सडक खनिएको छ। यही हिसाबले काम हुने हो भने नाक्चे लाग्नासम्मको ९२ किलोमिटर ट्र्याक खोल्न ४२ वर्षभन्दा बढी लाग्ने देखिन्छ। सरकारले परियोजना कार्यालय स्थापना गरी कर्मचारी व्यवस्था गरे पनि बजेट नआउँदा घाम ताप्नेबाहेक अरु केही काम हुन नसकेको निमित्त कार्यालय प्रमुख बुढाको भनाइ छ।
यो सडकको निर्माण कार्य छिटो गर्न जिल्लास्तरीय राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवाला निकायले आवाज उठाए पनि सुनुवाइ हुन सकेको छैन। जिल्लाका प्रदेश, सघीय प्रतिनिधिसभा र राष्ट्रियसभामा ६ जना सदस्य निर्वाचित भएर गएका छन्। आफूहरुको आवाज कसैले नसुनेको जनप्रतिनिधिको गुनासो छ। यता गमगढीदेखि छाइल बगरसम्म खनिएको १६.५ किलोमिटर सडक पनि गएको बर्खामा ठाउँठाउँमा भत्किँदा आवतजावतमा समस्या आएको स्थानीयले बताएका छन। बल्लतल्ल खनिएको ट्र्याकमा ट्याक्टर, साना गाडी आवतजावत गर्दा छाइल गाउँ र मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासीलाई सदरमुकाम गमगढी आवतजावत गर्न ३–४ घन्टाको बाटो छोटिएको थियो। तर गत साउनमा भत्किएको बाटो मर्मत नहुँदा आवतजावतमा समस्या आएको, बजारको सामान मान्छेले बोकेर लानुपर्दा महँगी बढेको छाइल गाउँका सुरथबहादुर रोकायाले बताए।
प्रकाशित: ७ माघ २०७५ ०५:०४ सोमबार