८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दोस्रो कार्यकालका लागि घानीद्वारा उम्मेद्वारी दर्ता

आसन्न राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दर्ताका लागि राजधानी काबुलस्थित स्वतन्त्र निर्वाचन आयोगमा पुगेपछि सञ्चारकर्मीसँग बोल्दै अफगान राष्ट्रपति असरफ घानी। तस्बिर : एजेन्सी

काबुल – अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। राजधानी काबुलमा आइतबार घानीले राष्ट्रपति पदको उम्मेद्वारका रूपमा उम्मेद्वारी दर्ता गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। १७ वर्ष देखि गृहयुद्धले आक्रान्त अफगानिस्तानमा सन् २०१९ मा हुने राष्ट्रपतीय निर्वाचनमा घानीले आफ्नो पूर्ववर्ती सरकारी शासकीय साझेदारविरुद्ध गठबन्धन बनाएसँगै राष्ट्रपति पदको उम्मेद्वारी दर्ता गरेको बताइएको छ।

अफगानिस्तानमा युद्ध गरिरहेको तालिबानले वार्ताबाट परै राखेको अवस्थामै घानीको उम्मेद्वारी दर्ता भएको छ। तालिबान र संयुक्त राज्य अमेरिकाबीच वार्ता चलिरहेको छ। वार्तामा अफगान सरकारलाई सहभागी नगराइएको भन्दै घानीले असन्तुष्टिसमेत पोखिरहेका छन्। ६९ वर्षीय घानी दोस्रो कार्यकाल पनि अफगानिस्तानको राष्ट्रपति बन्ने उद्देश्यसहित निर्वाचनमा होमिएका छन्। उनले जुलाई महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि आइतबार उम्मेद्वारी दर्ता गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। कुनै समय घानीकै अधिकारी रहेर हाल गठबन्धन बनाएका व्यक्तिसँगै उनको प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रपतीय निर्वाचनका लागि भएको उम्मेद्वारीका कारण राजनीतिक गत्यावरोध सिर्जना हुनसक्ने स्वतन्त्र विश्लेषकहरुले बताएका छन्। शनिबारमात्रै गुलबुद्दिन हेकमाटेरले अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अबदुल्लाहसँगै राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने घोषणा गरेका थिए। अब्दुल्लाहले अहिले घानीसँगै शक्ति साझेदारी गरिरहेका छन्।

श्रीमती र राजनीतिक साझेदारसहित टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति घानीले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको उपलब्धीबारे बोले। सम्बोधनका क्रममा उनले तालिबानसँग वार्ता गर्न सफल भएको विषय पनि उल्लेख गरेका छन्। ‘मैले शान्तिको सुरुवात गरें र मेरो समूहले देशमा स्थायित्व र दीर्घकालीन शान्ति ल्याउने छ,’ घानीले बताए। उनले सम्बोधनकै क्रममा यदि तालिबानले आफूलाई साँच्चिकै अफगान सोच्छन् भने उनीहरु वार्ताका लागि आउनु पर्नेमा समेत जोड दिए।

यसअघि सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा घानीले धाँधली गरेर नतिजा आफ्नो पक्षमा पारेको उनका आलोचकहरुले आरोप लगाउने गरेका छन्। यद्यपि पश्चिमा देशमा पढेका घानीलाई अमेरिकी सरकार अन्य पश्चिमा देशको पनि सो निर्वाचनमा समर्थन्न रहेको थियो। अमेरिकाले अफगान युद्धलाई निष्कर्षमा ल्याउनका लागि घानीलाई जिम्मेवारीसमेत तोकेको बताइन्छ। यद्यपि पछिल्लो चार वर्षमा अमेरिका घानीप्रति त्यति सन्तुष्ट नभएको रोयटर्सले उल्लेख गरेको छ। पश्चिमा कूटनीतिज्ञका अनुसार पछिल्लो चार वर्षमा घानी अपरिपक्व पाइएको र उनकै कार्यकालमा राजनीति गत्यावरोध झनै बढेको छ। सन् २०१४ पछि नै तालिबानले अफगानिस्तानका कैयौं क्षेत्रमा पुनः कब्जा जमाएका कारण पनि घानीको कार्यकाललाई सुखद् मान्य पक्षमा कतिपय पश्चिमा कूटनीतिज्ञहरु तयार छैनन्। हाल अफगानिस्तानको दुईतिहाई भूभाग तालिबानको कब्जामा रहेको बताइन्छ। देशको पूर्वी भागमा इस्लामिक स्टेटले पनि आफ्नो उपस्थिति जमाएको छ। अफगान फौज, सरकारी कर्मचारी र विदेशी कार्यालयलाई लक्षित गरी आत्मघाती आक्रमणका घटनामा समेत वृद्धि भएको छ।

वासिङ्टनले गत वर्ष अफगानिस्तानमा जन्मिएका अमेरिकी कूटनीतिज्ञ जाल्मे खालिलजादलाई तालिबानसँग प्रत्यक्ष वार्ता गर्नका लागि नियुक्त गरेको थियो। यसबीच खालिलजादले तालिबानसँग कम्तीमा पनि तीन पटक वार्ता गरेको बताइन्छ। यद्यपि उनले पेश गरेको प्रस्ताव र घानीका प्रतिनिधिसहित वार्ता गर्नुपर्ने भन्ने उनको भनाइका कारण तालिबानसँगको वार्ता केही सातादेखि अवरुद्ध अवस्थामा रहेको छ।

प्रकाशित: ७ माघ २०७५ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App