८ वैशाख २०८१ शनिबार
अन्य

पशुपतिमा कंक्रिटको संरचना हटाउन बेवास्ता

मन्दिरस्थित मृगस्थलीमा कंक्रिटले बनाइएको संरचना । तस्बिर : श्याम राई

काठमाडाैं - पशुपति क्षेत्र विकास कोषले पशुपतिको मृगस्थलीमा मापदण्डविपरित बनाएको संरचना हटाउने निर्देशन पाएको महिनादिन बित्दा पनि हटाएको छैन । पुरातत्व विभागले गत पुस २ गते कोषलाई मापदण्डविपरित बनाइएको पैदलमार्ग हटाउन निर्देशन दिएको थियो ।

कोषका सचिव डा. प्रदीप ढकाल यस विषयमा छलफल भइरहेको बताउँछन्। ‘हामीले पैदल यात्रुलाई सहज बनाउन कंक्रिट प्रयोग गरेका थियौँ,’ उनले भने, ‘तर, पुरातत्व विभागले काम रोक्न निर्देशन दिएपछि त्यसयता काम रोकिएको छ ।’ अहिले यस विषयमा छलफल भइरहेकाले कंक्रिट हटाउने समय तोक्ने नसक्ने उनको भनाइ छ। 

पैदल मार्गमा ढुंगा प्रयोग गर्दा मापदण्डविपरित नहुने उनको दाबी छ । ‘मन्दिरमा यस्ता निर्माण सामग्री प्रयोग गर्नुभएन । पैदलमार्गमा गर्दा केही फरक पर्दैन । त्यही भएकाले नै हामीले पैदलमार्गमा ढुंगा प्रयोग गरेका हौं,’ उनले तर्क दिए । उनका अनुसार त्यस ठाउँमा अपांगमैत्री पैदलमार्ग बनाउन लागिएको थियो । त्यहाँ पैदलमार्गसँगै आकर्षक पार्कहरू पनि बनाउन लागिएको उनले बताए ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर कोषले मापदण्ड अनुसार काम गर्नुपर्ने बताउँछन् । ‘कोषले मापदण्डमा रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘यसलाई उल्लंघन गरेमा ऐन अनुसार कार्वाही हुन्छ ।’ प्राचीन स्मारक ऐन २०१३ को दफा २ र कानुन मुलुकी अपराध सहिंता ऐन अनुसूची १ मा सम्पदा क्षेत्रमा कंक्रिटको प्रयोग गर्न नपाइने भनिएको छ । यसको उल्लघन गरेमा फौजदारी मुद्दा लाग्ने कानुनी व्यवस्था छ । 

कोषले करिब १ सय ३९ मिटरमा ढुंगा बिछ्याएको छ । यसको लागि कोषले धर्म एस निर्माण सेवा प्रालिसँग दुई करोड ९९ लाखमा ठेक्का सम्झौता गरेकोे थियो । सम्झौता अनुसार २०७६ असार २५ भित्रमा काम सम्पन्न गर्नुपर्ने छ ।

शिवरात्री मेलाको तयारी सुरु 
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका अवसरमा लाग्ने मेलाको तयारी थालेको छ । मेलालाई लक्षित गरी गत शुक्रबार पशुपति क्षेत्रमा अनुगमन गरिएको कोषका सचिव डा. प्रदीप ढकालले बताए । ‘मेलामा भक्तजनलाई सहज होस् भनेर अनुगमन गरेका छौँ,’ उनले भने, ‘मेलामा झक्तजनलाई सहज ढंगले दर्शन तथा घुमफिर गर्ने व्यवस्था मिलाउँछौँ ।’ उनका अनुसार उक्त मेलाको दिन सुरक्षा व्यवस्थाको लागि प्रहरीहरूलाई खटाइने छ । यस वर्षको महाशिवरात्रि फागुन २० गते परेको छ। 

 

प्रकाशित: ७ माघ २०७५ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App