७ वैशाख २०८१ शुक्रबार
समाज

असुरक्षित बन्दै उपत्यकाका सडक, पैदलयात्रु उच्च जोखिममा

बानेश्वरस्थित सडकमा जेब्राक्रस पार गर्दै पैदल यात्रु।

काठमाडौं - काठमाडौं उपत्यकाको सडक कतै फराकिला छन् त कतै साँघुरा । यहाँका सडक न चालकमैत्री छन् न त यात्रु मैत्री नै । सडकमा न जेब्राक्रस छन् न त पर्याप्त ओभरहेड ब्रिज र अन्डरपास नै । 

पैदलयात्रु हिँड्न बनाइएको फुटपाथ अस्तव्यस्त र भद्रगोल छन् । जसका कारण पैदलयात्रु असुरक्षित बनेका छन् ।पछिल्लो समय उपत्यकाको मूल सडकमा मात्रै होइन, भित्री सडकमा समेत सवारी दुर्घटना संख्या अत्यधिक बढेको छ । चालकको लापरवाही र पेटी नभएका साँघुरा सडकका कारण पैदल यात्रीको ज्यान जोखिममा पर्न थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा सवारी दुर्घटनामा परेर सरदर ३८ प्रतिशत पैदलयात्रुले ज्यान गुमाउने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०६९ यता सडक दुर्घटनामा परेर एक हजार ४२ जनाले ज्यान गुमाएका छन् । त्यसमा पैदलयात्रीको संख्या तीन सय ९९ छ । 

सरकारी आँकडा अनुसार उपत्यकाका सडक दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये एक पैदल यात्रु हुने गरेका छन् । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा सवारी दुर्घटनामा परेर सरदर ३८ प्रतिशत पैदलयात्रुले ज्यान गुमाउने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०६९ यता सडक दुर्घटनामा परेर एक हजार ४२ जनाले ज्यान गुमाएका छन् । त्यसमा पैदलयात्रीको संख्या तीन सय ९९ छ ।

महाशाखाका अनुसार आर्थिक वर्ष २०६९/७० मा चार हजार सात सय ७० सडक दुर्घटनामा १ सय ४८ ले ज्यान गुमाएका थिए । तीमध्ये ६३ पैदलयात्री थिए । यस्तै, आर्थिक वर्ष २०७०/७१ मा सडक दुर्घटनामा ज्यान गुमाउने एक सय ४३ जनामध्ये ५३ पैदलयात्री थिए । आर्थिक वर्ष २०७१/७२, २०७२/७३, २०७३/७४ र २०७४/७५ मा क्रमशः ५७, ६५, ७९ र ५१ पैदल यात्रीले ज्यान गुमाएका थिए । यी वर्षमा क्रमश : १३३, १६६, १४८ र १९५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।

महाशाखाको आकँडाले पनि सवारी दुर्घटनामा परेर पैदलयात्रुको अत्यधिक मात्रामा ज्यान जाने गरेको देखिएको छ ।  ‘गाडी चलाउनेले जेब्राक्रसमा नै तीव्र गतिमा हुइक्याउँदा पैदल यात्रुले अनाहकमा ज्यान गुमाइरहेका छन्,’ ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘राजधानीकै अधिकांश सवारी चालकलाई जेब्राक्रस कसका लागि बनाइएको भन्ने ज्ञान छैन ।’ जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने विश्वव्यापी चलन हो । तर, नेपालमा भने जेब्राक्रसमै पैदल यात्रु मारिने गरेका छन् ।  ट्राफिक इन्जिनियर गजुरेलले काठमाडौं उपत्यकाका सडक पैदलयात्रुमैत्री नभएको बताउँछन् । ‘उपत्यकाको सडक पैदलयात्रुमैत्री नै छैन । जसको कारणले बारम्बार दुर्घटनामा परेर पैदलयात्रुले अनाहकमा ज्यान गुमाउन बाध्य भइरहेका छन्,’ उनले भने, ‘फराकिला सडक बनाएर मात्रै हुँदैन । पैदलयात्रीलाई कसरी सुरक्षित बनाउनेतर्फ ध्यानै गएको छैन ।’ उनका अनुसार विकसित मुलुकमा सवारी दुर्घटना न्यूनीकरण भइरहेको छ । तर, नेपालजस्तो विकासोन्मुक मुलुकमा भने वर्षेनी सवारी दुर्घटना बढ्नु दुर्भाग्य हो । 

ट्राफिक इन्जिनियर गजुरेलले काठमाडौं उपत्यमा पैदलयात्रुमैत्री जेब्राक्रस, ओभरहेड बिज्र, अन्डरपास, सुरक्षित क्रसिङ नभएकाले पैदलयात्रु दिनानुदिन असुरक्षित भएको बताए । ‘विदेशी मुलुकमा पहिला फुटपाथ बनाएर सडक बनाइन्छ । जसले गर्दा सवारी दुर्घटनामा कमी आइराखेको छ,’ उनले भने, ‘हाम्रोमा पहिला सडक बनाएर साँघुरो फुटपाथ बनाउँछौं । जसले गर्दा सवारी दुर्घटना अत्यधिक भइरहेको छ ।’ विकसित मुलुकमा जेब्राक्रसमा पाइला राखिसकेको यात्रुलाई सवारी चालकले रोकेर प्राथमिकता दिने गर्छन् । ‘जर्मनीमा जब पैदल यात्रु जेब्राक्रसमा उभिन्छन्, चालकले पैदल यात्रु बाटो नकाटेसम्म सवारी रोकेर उनीहरूलाई प्राथमिकतामा दिएको देखिन्छ,’ उनले भने ।

पूर्व ट्राफिक प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ पैदलयात्रुको सुरक्षातर्फ ट्राफिक प्रहरीको ध्यानै नपुगेको बताउँछन् । ‘हाम्रा ट्राफिक प्रहरी कसरी जाम घटाउनेतर्फ मात्रै ध्यान दिएका छन्् । तर, यात्रुको सुरक्षातर्फ ध्यान दिनै सकेका छैनन्,’ उनले भने, ‘उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने पैदलयात्रुको संख्या अस्वभाविक ढंगले बढिरहेको छ ।’ 
उनका अनुसार नेपालमा ७५ प्रतिशतभन्दा धेरै पैदलयात्रु रहेका छन् । तर, पैदलयात्रुको सुरक्षामा राज्यको ध्यान पुग्नै सकेको छैन । ‘जबसम्म सडक सुरक्षामा राज्यको ध्यान पुग्दैन तबसम्म यात्रुको ज्यान जाने क्रम रोकिँदैन,’ उनले भने, ‘सडक अनुसारको फुटपाथ नहुँदा पनि सवारी दुर्घटनामा बढिरहेको छ ।’ 

काठमाडौंमा सवारी दुर्घटनामा परेर पैदलयात्रु, दुई पांगे सवारीमा सवार सवारीचालक अत्यधिक मात्रामा असुरक्षित देखिन्छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले चालकको लापारवाहीकै कारणले पैदलयात्रु असुरक्षित भइरहेको बताउँछन् । ‘जेब्राक्रसमा बाटो काट्दा पैदल यात्रुको ज्यान जानु चालकको गम्भीर लापरवाही हो, त्यस्ता चालकले उन्मुक्ति पाउँदैनन्,’ उनले भने, ‘जेब्राक्रसमा ठक्कर दिएर मार्ने चालकलाई सवारी ज्यान मुद्दा चलाउन निर्देशन दिएको छु ।’ उनका अनुसार जेब्राक्रसमा नै यात्रु असुरक्षित हुनु गम्भीर चुनौती हो । प्रवक्ता सापकोटाले ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनीकरणको लागि विभिन्न  जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । ‘विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर ट्राफिक जनचेतना जगाउने काम गरिरहेका छौं,’ उनले भने, ‘चालक र पैदलयात्रु दुवैलाई विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागिता गराउँदै आइराखेका छौं ।’ 

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १३७ अनुसार पैदल यात्रीले जेब्राक्रसिङ, सब–वे, ब्रिज वा त्यस्तो बाटो काट्न निर्धारण गरिएको ठाउँबाट मात्रै बाटो काट्नुपर्ने प्रावधान छ । तर, ऐनमा जेब्राक्रसमा सवारी दुर्घटना गराउनेलाई के कारबाही गर्ने भन्ने प्रष्ट छैन । ऐनको दफा १६१ अनुसार सवारी चालकले जानाजानी दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ । सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भएमा दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था पनि ऐनमा छ ।       
उपत्यकाभित्र सवारी दुर्घटनामा मारिनेको संख्या   

आर्थिक वर्ष दुर्घटना  मृत्यु  मृत्यु हुने पैदल यात्रु
२०६९/७० ४७७० १४८   ६३
२०७०/७१   ४६७२ १४३  ५३
२०७१/७२ ४९९९   १३३ ५७
२०७२/७३   ५६६८ १६६  ६५
२०७३/७४  ४५६४  १४८  ७९
२०७४/७५ ६३८१  १९५  ५१
२०७५/७६ ४७७६ १०९ ३१

                                                                                 श्राेत : महानगरीय ट्राफिक प्रहरी महाशाखा
    
      
    
        
            
 

 

प्रकाशित: ७ माघ २०७५ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App