coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जीवनको ‘आगोको वर्णमाला’

काठमाडौं - कवि जीवन खत्रीको कविता संग्रह ‘आगोको वर्णमाला’  सार्वजनिक भएको छ । राजधानीको सर्वनाम थिएटरमा शनिवार आयोजित कार्यक्रममा कवि तुलसी दिवस, मोमिला, विमल आचार्य, दीपक सापकोटा र जीवनका बुबा र आमाले संयुक्त रुपमा संग्रह विमोचन गरे ।

कार्यक्रममा कवि मोमिला, विमल र दीपकले संग्रहमाथि अन्तरसंवाद गरेका थिए । अन्तरसंवादमा सापकोटाले जीवनका कविताहरू कोमल र आमाका बिम्बहरूमा कलात्मक र गहिरो अर्थका साथ लेखिएको जनाए । ‘उनको यो कृतिले उनलाई नयाँ उचाई दिनेछ । कविहरूको भीडमा प्रष्ट चिनाउन सक्ने कृति हुनेछ’, दीपकले भने ।

समीक्षक आचार्यले नेपाली कविता क्षेत्रमा जीवनका कविताहरू फरक र बलशाली भएको दाबी गरे । ‘उनको कविता लेखन शैली विशिष्ट छ । कविता पढ्दा उनी प्रगतिशील कवि नै हुन् भन्ने कुरामा शंका छैन’, आचार्यले भने । कवि मोमिलाले जीवनका कविताहरू सुन्दर र सरलसँगै आगोजस्तै रापिलोसमेत भएको बताईन् । ‘कविता लेख्नु सामान्य कुरा हैन् । तर यो कुरा जीवनले मनन गरेर लेखेका छन् । उनका केही कविता असाध्यै उत्कृष्ट छन् । अन्तरविरोधसहित कविताको समापन गर्ने शैलीले जीवन कवि जीवननै भएर बाँच्ने छन्’, मोमिलाले भनिन् ।

कवि तुलसी दिवसले कवितासंग्रह राम्रो रहेको बताउँदै कमजोरी सबैमा हुने र त्यही कमजोरी नै कविका विशेषता हुने बताए । ‘नेपाली कविता निकै कम लेखिएका छन् । तर जीवन खत्रीले साँच्चै पहाडी बिम्बहरू टिपेर नेपाली कविता लेखेका छन्’, उनले भने ।

यूरेका प्रकाशनले आयोजना गरेको कार्यक्रममा बाबु त्रिपाठी सहजकर्ता थिए । कार्यक्रममा कवि जीवनले आफ्नो कृतिबाट ‘आमाहरूको गन्थन’, ‘नानीबाबुहरू’, ‘पात र प्रेम’ कविता वाचन गरेका थिए । यूरेका पब्लिकेसनले प्रकाशन गरेको संग्रहमा ४९ कविता छन् ।

 

प्रकाशित: ७ माघ २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App